निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ जेठ ८ आइतबार
  • Sunday, 22 May, 2022
डेभिड भोलोज्को
२०७९ बैशाख ३१ शनिबार ०८:२५:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

विश्वले बिर्सेको  टिग्रे नरसंहार 

Read Time : > 2 मिनेट
डेभिड भोलोज्को
२०७९ बैशाख ३१ शनिबार ०८:२५:००

देश/परदेश

सारा विश्वबाट टाढिए पनि टिग्रेका जनता कसै न कसैले आफ्नो पीडा सुनिदेलान् कि भनेर आशावादी छन्

उत्तरी इथियोपियामा मानवीय संकट विद्यमान छ, तर तपाईंले यसबारे कुनै समाचार पढ्नुभएको छैन होला । टिग्रे नेसनल रिजनल स्टेटबारे कहिल्यै सुन्नुभएको छैन होला, जसलाई इथियोपिया र इरिट्रियाका सैन्य दलले घेरेका छन् । यी सैन्य दलले त्यहाँ नाकाबन्दी लगाइरहेका छन्, खाद्यभण्डारलाई आगोमा झोसिरहेका छन् र गाउँ–गाउँमा नरसंहारकारी हत्या र बलात्कार गरिरहेका छन् । टिग्रेलाई अन्य ठाउँका सशस्त्र द्वन्द्वसँग तुलना गरिने हो भने अवस्था विचलित बनाउने छ । उदाहरण, राष्ट्रसंघीय मानव अधिकार आयोगका अनुसार युक्रेनमा तीन हजारभन्दा बढी मानिस मारिएका छन् भने घेन्ट विश्वविद्यालयको एक अनुमानअनुसार टिग्रेमा मारिने पाँच लाखभन्दा बढी छन् । 

कोभिड– १९ महामारीलाई देखाएर मार्च २०२० मा प्रधानमन्त्री अबिया अहमेदले अगस्ट २०२१ का लागि चुनाव सारेका थिए । स्थानीय टिग्रे सरकारले प्रधानमन्त्रीको कदमलाई आफ्नो सत्ता लम्ब्याउने असंवैधानिक प्रयासका रूपमा हेर्‍यो र स्थानीय चुनाव गरिछाड्यो । तत्पश्चात् प्रधानमन्त्रीले टिग्रे क्षेत्रमा पठाइने बजेटमा कटौती गरे र नतिजा टिग्रे लिबरेसन फ्रन्टले टिग्रेको राजधानी मेकेलेमा रहेको संघीय कमान्ड मुख्यालयमा आक्रमण गर्‍यो । 

आक्रमणपछि इथियोपिया र इरिट्रियाका सैन्य दलले सो क्षेत्रमा कब्जा गर्न थाले । त्यहाँ भइरहेको हिंसा राजनीतिक मात्रै नभई जातीय पनि हो । इथियोपियाका ओरोमोस, अम्हरास र टिग्रियन गरी तीन जातीय समूहबीच द्वन्द्व चलिआएको थियो र त्यसमा दशकौँदेखिको इरिट्रिया र टिग्रेको सीमा विवादले सिर्जना गरेको बदला पनि रहेको छ । यसले निम्त्याएको जातीय तनाव टिग्रे क्षेत्रमा मात्रै सीमित छैन र देशभरिका टिग्रियनले झेलिरहेका छन् । 

अल जजिराजस्ता केही सञ्चारमाध्यमले यो मुद्दाबारे समाचार प्रसारण गरे पनि यस द्वन्द्वलाई युक्रेनसम्बन्धी समाचार र त्यसअगाडिको बोस्नियाली नरसंहारले छायामा पारिदिएको थियो । विश्व स्वास्थ्य संगठनका महासचिव टेड्रोस अधोनम घेब्रियासिस, जो आफैँ टिग्रियन हुन्, उनले १३ अप्रिलमा ‘विश्वले अश्वेत र श्वेत जीवनलाई उत्तिकै महत्व दिन्छ भन्नेमा म निश्चिन्त छैन’ भनेर टिप्पणी गरेका थिए । 

टेड्रोसले हालै मलाई ‘यो कब्जा आधुनिक इतिहासकै लामो र निकृष्टमध्येको एक हो’ भनेका थिए । ‘करिब ७० लाख मानिस बाहिरी विश्वबाट अलग्गिएका छन् र मैले आफ्ना आफन्तसँग १८ महिनायता संवाद गर्न पाएको छैन, किनभने फोन सेवा बन्द छ । त्यहाँका जनता भोकमरीले आक्रान्त छन् र बैंकबाट पनि मैले आर्थिक राहत पठाउन सकिरहेको छैन,’ टेड्रोस बताउँछन् । युरोपमा भइरहेको युद्धले समाचारमा नियमित ठाउँ पाएको छ । टिग्रे भने एक विदेशी एवं अपरिचित क्षेत्र बनेको छ, जहाँ द्वन्द्वरत पक्षबारे पनि अधिकांश युरोपेली वा अमेरिकी अनभिज्ञ छन् । र, जानकारी लिन खोज्दा उनीहरू ‘ती क्षेत्रमा जहिले पनि युद्ध हुन्छ होइन र ?’ भन्ने प्रतिक्रिया दिन्छन् । 

यसक्रममा युद्ध सुरु हुने वेला अर्थात् ४ नोभेम्बरमा इथियोपियाको सरकारले टिग्रे क्षेत्रमा इन्टरनेटमा बन्देज लगाइदियो, जसका कारण त्यहाँ के भइरहेको छ भन्नेबारे हामीले जानकारी पाइरहेका छैनौँ । सन् २०२१ को एक्सेस नाउ नामक डिजिटल नागरिक अधिकार समूहको एक प्रतिवेदनअनुसार गत वर्ष ३४ मुलुकमा एक सय ८२ पटक इन्टरनेटमा बन्देज लगाइएको थियो, जसमा अफ्रिकाका १२ मुलुक पर्छन् । टिग्रेको अवस्था अहिले विश्वमै सबैभन्दा खराब छ । सबैभन्दा लामो इन्टरनेट बन्देज पाकिस्तानको फेडरल्ली एड्मिनिस्टर्ड ट्राइबल एरियाज (फाटा) क्षेत्र हो भने दोस्रोमा म्यान्मारको राखिने प्रान्त हो र तेस्रोमा टिग्रे पर्छ । यद्यपि, टेड्रोसले भनेझैँ फाटा क्षेत्रमा ५० लाख र राखिने क्षेत्रमा ३० लाख मानिस छन्, तर टिग्रेमा यो आँकडा ७० लाखको छ । 

त्यसमाथि शराणार्थीसँग संवाद गरौँ भन्दा गुगल ट्रान्स्लेटले टिग्रे क्षेत्रको आधिकारिक भाषा टिग्रिन्याको अनुवाद गर्दैन । ‘टिग्रियन अवस्थाबारे जानकारी दिन साह्रै गाह्रो परेको छ र महत्वपूर्ण के छ भने टिग्रेलाई सिलबन्द नै गरिएको छ । यस अवस्थामा टिग्रेबाट आउने समाचार राजधानी अदिस अबाबाका मुखपत्रबाट आइरहेका छन् । यदि कुनै मिडियाले त्यहाँ भइरहेको कत्लेआम र बलात्कारका समाचार बाहिर ल्याउन नै खोज्छ भने पनि महिनादिनभन्दा बढी लाग्ने देखिन्छ,’ अनलाइन अनुवादको सेवा दिइरहेका अस्मेलास टेका भन्छन् ।

यसबाहेक इथियोपियाबाहिर रहेका र विदेशी भाषा जान्ने टिग्रियन पनि सम्भावित बदला र धम्कीका कारण बोल्न मान्दैनन् । उदाहरण, २८ र २९ नोभेम्बर २०२० मा अक्सुम सहरमा आठ सय नागरिकको हत्या गरिएको थियो, जुन पश्चिमा मिडियाको समाचार बिरलै बन्यो । तर, यो कत्लेआमले अदिस अबाबामा बस्ने इन्जिनियर गुइस लिसानवर्कजस्ता मानिसको जीवनमै ठूलो विध्वंस मच्चाइदियो । ‘मेरो घर परिसरमा इरिट्रियाका सैन्य दस्ताले मेरा बुबा, भाइ, भिनाजु र परिवारका अन्य तीन सदस्यलाई मारिदिए,’ गुइस बताउँछन् । गुइस त्यो त्रासद दिन अझै पनि बिर्सन सकिरहेका छैनन् । सारा विश्वबाट टाढिए पनि टिग्रेका जनता आफ्नो पीडाको कुनै अर्थ नहुने भनेर डराएका छन्, र पनि आफ्नो पीडा कसैले सुन्नेछन् कि भनेर आशावादी पनि छन् । 

द नेसनबाट

(पत्रकार भोलोज्कोका काम यसअघि फरेन पोलिसी, वालस्ट्रिट जर्नल, द न्यु रिपब्लिक, ब्लुमबर्ग र भाइसमा प्रकाशित भइसकेका छन्)