जमाना डिजिटल आर्टको तर, लेखबहादुरको हात खाली छैन

४३ वर्षदेखि लेखबहादुरले कैयौँ आशा र समृद्धिका नारा लेखे, झन्डा र ब्यानर बनाए, तर परिवर्तन देखेनन्

बिहिबार, २९ बैशाख, २०७९
डिजिटल संस्करण
जमाना डिजिटल आर्टको तर, लेखबहादुरको हात खाली छैन

साइनबोर्ड बनाउँदै लेखबहादुर राना

६५ वर्षीय लेखबहादुर रानाले गुल्मी सदरमुकाम तम्घासमा ४३ वर्षअघि व्यावसायिक रूपमा आर्ट (बोर्ड, ब्यानर लेखन) पेसा अपनाएका थिए । स्थायी जागिर छाडेर आर्ट पेसा रोज्दा उनलाई निकै सकस भएको थियो । तर, यही पेसाले उनलाई जिल्लाभरमै उदाहरणीय पनि बनायो ।लेखबहादुरको घर छत्रदेव गाउँपालिका–५ अर्घाखाँची हो । उनले ०३६ सालदेखि तम्घासमा आर्टको काम गर्दै आएका छन् ।

उनी गाउँकै एक विद्यालयमा स्थायी शिक्षक थिए । विद्यालय पुग्न घरबाट डेढ घन्टा लाग्थ्यो मासिक तलब एक सय ८२ रुपैयाँ आउँथ्यो । त्यो वेला शिक्षकलाई पेन्सनको व्यवस्था पनि थिएन । यही कारण उनको मन डुल्यो । त्यसपछि १५ पुस ०३६ को हिउँदे बिदामा काम खोज्न तम्घास आए । गाउँकै कुलप्रसाद श्रेष्ठले गुल्मी अदालतमा लेखापढी गर्थे । रानाले श्रेष्ठको सहयोगी भएर काम सिक्न थाले । तर, अक्षर र चित्रकला राम्रो भएकाले अधिवक्ता प्रेम आचार्यको आग्रहमा बजारकै राजकुमार कक्षपतिकोमा घडी, रेडियो मर्मत र आर्टको काम थाले । घडी, रेडियो मर्मत र आर्टबाट हुने आम्दानी देखेर उनले हुलाकमार्फत विद्यालयमा राजीनामा पठाए । कक्षपतिकोमा करिब ६ वर्ष काम गरेपछि उनले ०४३ सालदेखि आफँैले लगानी गरेर व्यावसायिक आर्ट गर्न थाले । 

 ‘हातैले लेख्दा गौरव महसुस गर्छु’
त्यसवेला इनामेल ल्याउनसमेत हिँडेर भैरहवा पुग्नु पथ्र्यो । पाल्पाबाट बोर्ड बनाएर डोकोमा बोकी ल्याउनुपर्ने अवस्था थियो । यही बाध्यताको अन्त्य लेखबहादुरले नै गरे । उनी भन्छन्, ‘त्यस वेला हातले लेख्नेबाहेक विकल्प थिएन । त्यही वेलाको सीपले अहिले पनि उनको हात खाली छैन ।’ आर्ट र घडी, रेडियोमर्मत रानाको रुचिको विषय हो ।

उनले कुनै तालिम वा प्रशिक्षण लिएका छैनन् । तत्कालीन समयमा पाल्पाको अशोक आर्टले बनाएका बोर्ड र ब्यानरबाट उनी प्रभावित भएका थिए । केही सरकारी कार्यालय र होटेलले बाहेक बोर्ड बनाउने चलन थिएन । उनी सम्झन्छन्, ‘त्यसवेला एउटै बोर्ड बनाएको डेढ सय लिन्थे । शिक्षकको महिनाभरको तलब एक सय ८२ रुपैयाँ थियो ।’

अहिले डिजिटल ब्यानर र बोर्डहरू बजारमा आएका छन् । सस्तो, मिहिनेत र समय कम लाग्ने भएकाले डिजिटलप्रति आकर्षण हुनु स्वाभाविकै हो । तर, बलियो र गुणस्तर खोज्नेहरू हातले लेखेकै बोर्ड–ब्यानर खोज्ने उनी बताउँछन् । यही कारण लेखबहादुरले लेख्न छाडेका छैनन् ।रानाकोमा अहिले विभिन्न विकास आयोजनाको होर्डिङ बोर्ड, साइनबोर्ड र नेमप्लेट बनाउनेहरू आउँछन् । हातले लेख्दा मिहिनेत र समय बढी लाग्ने भएकाले अलि महँगो पनि छ । उनी साइजअनुसार एक हजारदेखि पाँच हजारसम्मका होर्डिङ बोर्ड र साइनबोर्ड बनाउँछन् । 

 प्रविधिले पेसा पुस्तान्तरण भएन
लेखबहादुरले आर्ट थाल्दा धेरैले स्याबासी दिएका थिए । बोर्ड र ब्यानर बनाउन अब पाल्पा जानु नपर्ने भयो भनेर यहाँ मानिसहरू खुसी भएका थिए । 
उनले आर्ट पेसा अपनाएपछि जवार, विष्णु, रजी, श्रीनगर, गणेश, पुष्प र मोहनलगायत पनि चल्तीमा आए । उनले चार दशकसम्म धानेको पेसलाई आफ्नै सन्तानले भने अनुसरण गर्न सकेनन् । लेखबहादुरका दुई छोरा छन् । उनी आर्ट गर्दैनन् । पाँच बहिनी छोरीमध्ये दुई छोरीले मिरा टेलर्स सञ्चालन गरिरहेका छन् । तम्घासकै अरू आर्ट पेसामा लागेकाका सन्तान पनि यो पेसामा छैनन् । लेखबहादुरले हातले झन्डा, ब्यानर, साइनबोर्डसँगै, होर्डिङबोर्ड र नेमप्लेट बनाउँदै आएका छन् । उनी मासिक २०–३० हजार सहजै आम्दानी गर्छन् । 

 समृद्धिको ब्यानर त बनाए, तर  देश समृद्ध भएन 
चार दशकमा उनले कति दलका झन्डा बनाए कति ब्यानर र नारा लेखे लेखाजोखा नै छैन । व्यावस्था परिवर्तन र समृद्धिका थुप्रै नारा, झन्डा तथा पार्टीका ब्यानरमा कोरेरै कपाल फुलाए । तर, देशको अवस्था नफेरिएकोमा उनी दुःख मान्छन् ।उनकोमा झन्डा बनाउन सबै पार्टीका मानिस आउँछन् । यो उनको मौसमी व्यापार हो । उनी भन्छन्, ‘सबै पार्टीका गरेर सात सयभन्दा बढी त झन्डा नै बनाएँ हुँला ।’ उनी साना झन्डाको एक सय, मझौलाको तीन सय र ठूला झन्डा बनाएको पाँच सय लिन्छन् ।

 पार्टीको चिह्नअनुसार मूल्य फरक पर्ने उनी बताउँछन् । झन्डा र ब्यानर पनि मेसिनमार्फत छाप्न थालेकाले अब पेसा नै संकटमा पर्न लागेको उनको अनुभव छ । निर्वाचन आयोगले पनि टिसर्ट, टोपी, ब्यानरमा प्रतिबन्ध लगाएपछि उनी निरास छन् । ‘थुप्रै वर्षदेखि पार्टीका झन्डा र ब्यानर बनाएको छु । कैयाँै समृद्धिका नारा पनि पार्टीका ब्यानर र भित्तामा लेखेँ,’ उनी भन्छन्, ‘बुढेसकालसम्म न मेरो प्रगति भयो, न देशको समृद्धि नै ।’ 

सुझावित समाचार