१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ बैशाख २८ बुधबार ०८:२५:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

शरीरमा बोसो मात्रै थप्ने प्रचलित सात खाना

उच्च कार्बोहाइड्रेटयुक्त स्न्याक्स खाने तर नियमित अभ्यास नगर्ने हो भने शरीरले तिनलाई अतिरिक्त बोसोको रूपमा जम्मा गर्न थाल्छ ।

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ बैशाख २८ बुधबार ०८:२५:००

बजारमा केही यस्ता खाद्य सामग्री प्रयोग भइरहेका हुन्छन्, जसलाई स्वस्थकर खाद्यान्नको रूपमा प्रचार गरिएको हुन्छ । तर, यथार्थमा तिनले हाम्रो स्वास्थ्य र तौलमा नकारात्मक असर गर्ने गर्छन् । यहाँ यस्तै सात खाद्यान्नबारे चर्चा गरिएको छ, जसले शरीरमा बोसोबाहेक पौष्टिकता दिँदैनन् :

फ्रुट ड्रिंक्स
बजारमा पाइने प्याकिङ गरिएका फ्रुट ड्रिंग्स वास्तविक फ्रुट (फलफूल)का जुस होइनन् । वास्तविक फलफूलका जुसबाट फाइबर, भिटामिन र मिनरल्सजस्ता पौष्टिकता पाइन्छ । तर, बजारमा ‘फ्रुट ड्रिंक्स’ भनेर प्याक गरी बेचिने उत्पादन चिनी र पानीको घोलभन्दा बढी अरू केही होइनन् । तिनमा चिनी र पानीबाहेक थप सोडा हालिएको हुन्छ । फ्रुट ड्रिंक्समा शरीरले सोस्नका लागि केही पनि नहुने भएकाले चिनी सीधै रगतमा जान्छ । यही कारण फ्रुट ड्रिंग्स भनिने पदार्थ धेरै सेवन गर्ने मानिसमा सुस्तता र चिडचिडापन बढ्छ ।

सेतो चामल
हामीले भात पकाउन प्रयोग गर्ने सेतो चामलमा खासै पौष्टिकता हुँदैन । धान कुटाउने वेला तिनको पौष्टिक तत्व हटाइएको हुन्छ । धान कुटाउँदा मिलमा सुरुमा धानबाट भुस हटाइन्छ । त्यसपछि खैरो रंगको चामल प्राप्त हुन्छ, जुन पौष्टिक तत्वले भरिपूर्ण हुन्छ । तर, खैरो चामल पोलिस गरेपछि प्राप्त हुने सेता चामलमा कार्बोहाइड्रेटबाहेक केही हुँदैन । अर्थात्, हामीले भात खाँदा शरीरमा कार्बोहाइड्रेट मात्र भरिरहेका हुन्छौँ । कार्बोहाइड्रेट मोटोपनका लागि जिम्मेवार हुन्छ ।

सेतो पाउरोटी
सेतो पाउरोटी मैदाबाट बन्छ । सेतो चामलजस्तै मैदा बनाउन पहिले गहुँका सबै लाभदायक तत्व हटाइएको हुन्छ । त्यसपछि पिठोमा थप रसायन हालिएको हुन्छ । मैदाबाट बनेको सेतो पाउरोटीमा शरीरलाई आवश्यक हुनेभन्दा बढी चिनीको मात्रा हुन्छ । मैदाबाट बनेको रोटी वा पाउरोटीभन्दा गहुँको पिठोबाट बनेको रोटी धेरै स्वास्थ्यबद्र्धक हुन्छ । पाउरोटी खाने बानी परेकाहरूलाई सुरुमा गहुँको रोटी मिठो नलाग्न सक्छ, तर समयक्रममा रोटी पनि मिठो लाग्छ ।

तारेको खाना 
फ्रेन्च फ्राई, आलु चप, पकौडा, समोसा, चिकेन नगेट्स तेलमा तारेको खानाका केही उदाहरण हुन् । पछिल्लो समय यिनको प्रयोग बढिरहेको देखिन्छ । तर, तारेको खाना खाँदा हामी शरीरलाई चाहिनेभन्दा बढी तेल खाइरहेका हुन्छौँ, जसले शरीरमा बोसो बढाउँछ । शरीरमा धेरै बोसो भयो भने त्यो रगत बग्ने धमनीमा टाँसिएर रक्तसञ्चारलाई अवरुद्ध गर्न सक्छ । यसले व्यक्तिमा उच्च कोलेस्ट्रोल र उच्च रक्तचापको सम्भावना बढाउँछ ।

क्रिम हालेको सलाद
रेस्टुरेन्टतिर आजकल सलादमाथि क्रिम हाल्ने चलन छ । हेर्दा राम्रो देखिने भए पनि यसको सेवनले शरीरलाई फाइदा गर्दैन । सलाद मात्र सेवन गर्नु स्वास्थ्यवद्र्धक हुन्छ । तर, त्यसमा थपिने क्रिममा चिनी र बोसो धेरै हुन्छ । सलादमा थपिएको क्रिममा सम्पूर्ण सलादमा भन्दा बढी क्यालोरी हुन्छ । त्यसैले केही उपभोक्ताले सलादलाई सजाउन त्यसमाथि हालिने क्रिमप्रति असन्तुष्टि जनाउन थालेका छन् । 

उच्च कार्बोहाइड्रेटयुक्त स्न्याक्स
१९९० को दशकदेखि उच्च कार्बोहाइड्रेटयुक्त स्न्याक्सको प्रयोग बढेको छ । शरीरले तिनलाई चिनीको रूपमा व्यवहार गर्छ, जसको प्रयोगले शरीरको ग्लुकोजको स्तर तीव्र गतिमा तलमाथि गराउँछ । उच्च कार्बोहाइड्रेटयुक्त स्न्याक्स खाने तर नियमित अभ्यास नगर्ने हो भने शरीरले तिनलाई अतिरिक्त बोसोको रूपमा जम्मा गर्न थाल्छ । 

फ्रिजमा जमाएर राखिने डिनर 
आजकल अनलाइनबाट खाना अर्डर गरेर खाने चलन बढेको छ । यसरी मगाएका खाना बढी भएमा तिनलाई डिप फ्रिजमा राखिन्छ । तर, खानेकुरा अति चिसोमा राख्दा नबिग्रियोस् भनेर खाना बनाउने कम्पनीले तिनमा अस्वस्थकर मात्रामा सोडियम नामको प्रिजरभेटिभ राखेका हुन्छन् । सोडियमले खानामा रहेको पानी सोसिदिन्छ, जसका कारण खाना बढी क्यालोरीयुक्त हुन्छ ।