१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २८ बुधबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख २८ बुधबार o६:५८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

चार हिमालबाट १७ हजार केजी फोहोर संकलन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख २८ बुधबार o६:५८:oo

फोहोर संकलनमा सैनिक तथा शेर्पासहित ९१ जना सहभागी, पहिलोपटक कञ्चनजंघा आरोहण

नेपाली सेनाको नेतृत्वमा गएको हिमाल सफाइ अभियान टोलीले सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लुबाट १७ हजार केजी फोहोर संकलन गरेको छ । सेनाको अगुवाइमा २२ चैतबाट सञ्चालन भइरहेको ‘सफा हिमाल अभियान २०२२’ अन्तर्गत दुई हजार ६० केजी सड्ने फोहोर र बाँकी नसड्ने फोहोर संकलन भएको हो ।

चारवटा हिमाल पुगेका टोलीले मंगलबार प्रधानसेनापति प्रभुराम शर्मालाई हिमाल सफाइबारे भिडियो टेलिकम्युनिकेसनमार्फत ब्रिफिङ गरेका छन् । शर्माले भौगोलिक विकटता र प्रतिकूल मौसमको समेत परवाह नगरी विषम परिस्थितिमा सेनाका सकल दर्जाले गरिरहेको कार्यको उच्च मूल्यांकन गरे । उनले हिमाल सफाइअन्तर्गत तोकिएको जिम्मेवारी कुशलतापूर्वक समयमै सम्पन्न गर्न निर्देशन दिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेनाका अनुसार सफाइमा गएको सैनिक टोलीले पहिलोपटक कञ्चनजंघाको शिखर आरोहण गरेको थियो । २४ वैशाख बिहान सहसेनानी राजु श्रेष्ठ र सिपाही अमित थापाले नेपाली सेनाका तर्फबाट पहिलोपटक कञ्चनजंघा हिमाल (८५८६ मिटर) को सफल आरोहण गरेका हुन् । प्रधानसेनापति शर्माले उनीहरूलाई बधाई दिएका छन् ।

सेनाका अनुसार सगरमाथा/ल्होत्से क्षेत्रबाट ६ हजार ३६५ केजी, कञ्चनजंघाबाट ६ हजार ६१२ केजी, मनास्लुबाट चार हजार २३ केजी फोहोर जम्मा भएको छ । सेना र शेर्पा समुदाय मिलेर फोहोर संकलन गरेका हुन् । फोहोर संकलन कार्य जारी रहेको सेनाले जनाएको छ ।

सगरमाथा क्षेत्रमा मात्रै तीन सय शव
यो वर्ष सेनाले ३५ टन फोहोर संकलन गर्ने लक्ष्य राखेको छ । सगरमाथा क्षेत्रबाट १४ टन, कञ्चनजंघाबाट १० टन, ल्होत्सेबाट ६ टन र मनास्लुबाट पाँच टन फोहोर संकलन गर्ने सेनाको तयारी छ । गत वर्ष १२ करोड ५५ लाख रुपैयाँ खर्च गरेर सेनाले फोहोर संकलनको समन्वय गरेको थियो । चार हिमालमा सैनिक तथा शेर्पासहित ९१ जना सहभागी छन् ।

गत वर्ष सेनाले ६ वटा हिमालबाट ३५ टन फोहोर संकलन गरेको थियो । सेनाका अनुसार सगरमाथा क्षेत्रमा मात्रै तीन सय शव र फोहोरमैला छन् । सगरमाथा क्षेत्रमा एक सय ४० टन फोहोर र ४० टनजति दिसाजन्य फोहोर रहेको अनुमान छ । ‘सेनाले हिमाली अर्थतन्त्र, प्रदूषण नियन्त्रण तथा हिमाली साहसिक पर्यटनको अवधारणाअनुसारको एकीकृत योजनाअनुसार फोहोर सफाइमा काम गरिरहेको छ,’ सेनाको वन्यजन्तु तथा वातावरणसम्बन्धी निर्देशनालयका निर्देशक सहायक रथी हिमांशु खड्काले जानकारी दिए । हिमाली क्षेत्रमा खटिएका सैनिकलाई सेनाले १५ फागुनदेखि सेनाको उच्च शिखर शिक्षालय कैसाङ (मुस्ताङ)मा तालिम दिएको थियो । सरकारले हिमाल सफाइका लागि आठ करोड ३० लाख रुपैयाँ विनियोजन गरेको छ ।

भारतीय उपमहाद्वीपमा रहेका आठ सय किलोमिटर लामो हिमालय शृंखलाहरू करिब एक अर्ब ३० करोड जनसंख्याको पानीको स्रोत हो । यस क्षेत्रमा ६ हजार मिटरभन्दा माथिका एक हजार तीन सय १० हिमालमध्ये हालसम्म चार सय १४ हिमाल मात्रै आरोहणका लागि खुला गरिएका छन् । आरोहण खुला भएका हिमालमा आरोहीहरूले फोहोर छाड्ने गरेका छन् । सन् २००८ देखि २०१९ सम्म शेर्पाहरूको टोलीले सगरमाथा क्षेत्रबाट २१ हजार एक सय किलो फोहोर संकलन गरेर ल्याएका थिए ।

खाली अक्सिजन सिलिन्डिर, प्लास्टिकका बोतल, क्यान, ब्याट्री, खाना बेरिएका वस्तु, च्यातिएका टेन्ट, कागज तथा मृत शरीर संकलन गर्ने सेनाको योजना छ । गत वर्ष सगरमाथा, ल्होत्से, मकालु, अमादब्लम, पुमोरी र धौलागिरि हिमालबाट फोहोर तथा शव संकलन गर्न सेना र शेर्पाको एक सय १२ सदस्यीय टोली खटिएको थियो ।