मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २५ आइतबार
  • Wednesday, 18 December, 2024
पवन बराइली काठमाडाैं
२o७९ बैशाख २५ आइतबार o९:१४:oo
Read Time : > 3 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

विश्वमञ्चमा पाइला बढाउँदै नेपाली सिनेमा

Read Time : > 3 मिनेट
पवन बराइली, काठमाडाैं
नयाँ पत्रिका
२o७९ बैशाख २५ आइतबार o९:१४:oo

- कान्स फिल्म फेस्टिबल–०२२ मा अविनाशविक्रम शाह निर्देशित सर्ट फिल्म ‘लोरी’ नेपालबाट छनोट भयो । कान्सको मुख्य प्रतिस्पर्धामा नेपालबाट छनोट भएको ‘लोरी’ पहिलो फिल्म हो । एक सय ४० देशका ३५ सयभन्दा बढी फिल्मबाट ‘लोरी’ले उत्कृष्ट नौमा स्थान बनायो । १७ मेदेखि सुरु हुने फेस्टिबलमा ‘लोरी’ले चीन, साउथ कोरिया, कोस्टारिका, अमेरिका, फ्रान्स, घाना र लिथुनियाका फिल्मसँग प्रतिस्पर्धा गर्दै छ । 

- केही समयअघि आयोजित अमेरिकाको वर्ल्डफेस्ट ह्युस्टन फिल्म फेस्टिबलमा विक्रम सापकोटाको लेखन तथा निर्देशन रहेको फिल्म ‘हल्करा’ले उत्कृष्ट अभिनेताको अवार्ड हात पार्‍यो । अमेरिकी अभिनेता बेन गेविन र बेलायती अभिनेता ओलिवर लीलाई पछि पार्दै ‘हल्कारा’का लागि महेश त्रिपाठीले उत्कृष्ट अभिनेताको अवार्ड हात पारेका हुन् । 

- बर्लिन फिल्म फेस्टिबलमा दीपक रौनियार निर्देशित सर्ट फिल्म ‘फोर नाइट’ र सूर्य शाही निर्देशित सर्ट फिल्म ‘ह्विल अन द बस’ प्रदर्शन भयो भने नेदरल्यान्डको प्रतिष्ठित रोट्रेड्याम फिल्म फेस्टिबलमा पनि निरञ्जनराज भेटवाल निर्देशित सर्ट फिल्म ‘अन्हद’ र सुनील पाण्डे निर्देशित ‘बाघथान’ प्रिमियर भएको थियो । 

- बंगलादेशको ढाकामा आयोजित ‘२०औँ ढाका इन्टरनेसनल फिल्म फेस्टिबल’मा दुई नेपाली सिनेमाले अवार्ड जिते । फिचर फिल्म ‘ऐना झ्यालको पुतली’का लागि सुजित बिडारीले उत्कृष्ट निर्देशक र सर्ट फिल्म ‘पुतलीको सपना’का लागि किरण पोखरेलले उत्कृष्ट स्क्रिप्ट अवार्ड हात पारे । 

...                                                   ...

नेपाली सिनेमाले अन्तर्राष्ट्रिय प्लेटफर्ममा पछिल्ला समय पाएका सफलताका केही उदाहरण मात्रै हुन् । यसअघि टोरोन्टो, भेनिस, सन्डान्स, लोर्कानो, बर्लिन, रोट्रेड्याम, बुसानलगायत फिल्म फेस्टिबलमा नेपाली सिनेमाले स्थान पाइसकेका छन् । विश्व प्रतिष्ठित फिल्म फेस्टिबलमा नेपाली सिनेमा छनोट हुने क्रम बढ्दो छ । नेपाली मौलिक कथा, पात्र र लोकेसनमा निर्माण भएका सर्ट तथा फिचर फिल्म अन्तर्राष्ट्रिय फेस्टिबलसम्म पुग्नुलाई नेपाली सिनेमाको बजार फराकिलो हुँदै गएको संकेत गर्ने कलाकर्मीहरू बताउँछन् । 

कोरोना महामारीपछि बिस्तारै जुर्मुराउँदै गरेको नेपाली सिनेमा लागि अविनाशविक्रम शाहको फिल्म ‘लोरी’ले ‘कान्स’मा उपस्थिति जनाउनुले सिनेवृत्तमा निकै चर्चा पाएको छ । यसले नेपाली सिनेमाका शुभचिन्तक तथा सिनेमा क्षेत्रमा भविष्य खोज्दै गर्नेहरूलाई उत्साहित बनाएको छ । 

चलचित्र निर्देशक नवीन सुब्बा पछिल्ला वर्षमा अन्तर्राष्ट्रिय मञ्चमा नेपाली सिनेमाको ‘भिजिबिलिटी’ बढ्दै गइरहेको बताउँछन् । ‘कान्समा नेपाली सिनेमाले ढोका खोलेको छ । नेपाली सिनेमा उद्योगका लागि यो सकारात्मक पक्ष हो । आफ्नो पहिचान पनि बनाउँदै छ,’ उनले भने । 

संसारको सबैभन्दा बृहत् फिल्म फेस्टिबल ‘कान्स’मा पहिलोपटक नेपाली सिनेमा छनोट हुनुलाई ‘माइलस्टोन’ ठान्छन्, निर्देशक विनोद पौडेल । उनी भन्छन्, ‘कान्स संसारका फिल्म–मेकरका लागि ठूलो ‘प्लेटफर्म’ हो । लोरीले कान्समा प्रवेश पाउनु नेपाली सिनेमा लागि ‘माइलस्टोन’ मान्नुपर्छ ।’ 

छिरिङरितार शेर्पाको ‘मुकुण्डो’ र नवीन सुब्बाको ‘नुमाफुङ’ मौलिक कथा खोजेर निर्माण गरेका सनेमा थिए । उनीहरूले नेपाली समाजको पात्र, कथादेखि लोकेसनसम्म खोजी गरेर सिनेमा निर्माणको ट्रेन्ड सुरुवात गरिदिए । जसले अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा नेपाली सिनेमाका लागि उपस्थितिको ढोका खोलिदियो ।

यसपछि करिब एक दशक अन्तर्राष्ट्रिय मञ्चमा नेपाली सिनेमाले उपस्थिति जनाएको थिएन । करिब दुई वर्षअघि निर्देशक दीपक रौनियारको ‘हाइवे’ बर्लिन फिल्म फेस्टिबलमा प्रिमियर भयो । हाइवेले अन्तर्राष्ट्रिय समुदायमा नेपाली सिनेमालाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तन गरिदियो । त्यसपछि मीनबहादुर भामले ‘कालो पोथी’ र दीपक रौनियारकै ‘सेतो सूर्य’ फेस्टिबलहरूमा प्रदर्शन र पुरस्कृत भए । 

निर्देशक सुब्बा फिल्म फेस्टिबलमा उपस्थिति लागि मौलिक तथा गुणस्तरीय सिनेमा निर्माणमा तीव्रता दिनुपर्ने बताउँछन् । ‘तर, निरन्तरता दिन सकिन्छ कि सकिँदैन भन्ने मुख्य चुनौती हो । विदेशी बजार र फेस्टिबलमा सहभागिता जनाएन भने हामी फेरि पछाडि धकेलिन सक्छौँ । अहिले फिल्म फेस्टिबलमा सर्ट फिल्महरू मात्रै गइरहेका छन्, फिचर फिल्म पनि पुग्नुपर्छ ।’ 

अन्तर्राष्ट्रिय मञ्चमा पहिचान बनाउन नेपाली सिनेमाको आफ्नै ‘भ्वाइस’ हुनुपर्ने तर्क गर्छन्, सुब्बा । उनी भन्छन्, ‘बाहिरी मुलुकमा जस्तो हाम्रो सिनेमामा पनि ‘भ्वाइस’ चाहिन्छ ।’ स्तरीय सिनेमा निर्माणका लागि यथेष्ट जनशक्ति निर्माण गर्नुपर्ने सुब्बाको तर्क छ । उनीहरूलाई राज्य र अन्य संघसंस्थाले सहयोग गर्न सक्छन् । काम गरिरहेकाले पनि निरन्तर काम गरिरहनुपर्छ । ‘मैले एउटा फिल्म बनाएँ, अब पुग्यो भन्नु भएन । निरन्तरता पाउनुपर्छ । हामीले गर्‍यौँ भनेर बस्नु भएन ।’ 

अन्तर्राष्ट्रिय मञ्चमा नेपाली सिनेमा थप उपस्थिति जनाउन एक–दुई निर्माता र निर्देशकले चाहेर मात्रै नहुने देख्छन्, निर्देशक पौडेल । यसका लागि राज्यले रणनीतिक संयन्त्र तयार गर्नुपर्ने उनको तर्क छ । ‘अहिलेसम्म व्यक्तिगत बलबुताले विदेशी मञ्चमा नेपाली सिनेमा पुगिरहेका छन् । अब सम्बन्धित निकायमा सिनेमालाई आर्टको रूपमा बुझ्ने संयन्त्र हुनुपर्छ । अनि मात्रै अन्तर्राष्ट्रिय मञ्च पुग्छ र त्यस्ता खालका सिनेमा बन्छन् ।’ 

‘कान्समा सिनेमा छनोट भए पनि राज्यले पहिचान गर्न सकेको छैन । नेपालमा कसैलाई पनि थाहा छैन, कान्समा नेपाली सिनेमा पुग्यो भनेर,’ उनी भन्छन् ,‘साना फिल्म फेस्टिबल अवार्ड वितरण चर्चा चल्छ । एकजना मेकेर चार–पाँच वर्ष लगाएर दुःख गरेर संसारको सबैभन्दा ठूलो प्लेटफर्म पुग्छ । तर, त्यसको कुनै चर्चा हुँदैन, राज्यले चिन्दैन ।’

उनका अनुसार कान्स भेनिस, बर्लिन, टोरन्टो, सनडान्सजस्ता फिल्म फेस्टिबलको मुख्य प्रतिस्पर्धामा छानिए नेपाली सिनेमाले अर्काे खुड्किलो चढेको मान्न सकिन्छ । पौडेल भन्छन्, ‘हामी अन्तर्राष्ट्रिय प्लेटफर्ममा पुग्न संघर्षरत छौँ । अहिले पनि नेपाली फिल्म–मेकरहरू विदेशी फन्डिङकै पर्खिरहेका छन् । विदेशी प्लेटफर्मले नेपाली सिनेमालाई पहिचान गरिरहेको छ । फन्डिङ पनि दिइरहेको छ । तर, आफ्नै राज्यले चाहिँ यसको कुनै भ्यालु बुझेको छैन । त्यस्ता मेकरहरूलाई प्रोत्साहन पनि गरेको छैन । राम्रो सिनेमा बन्न राज्यले पनि प्रोत्साहन गर्नुपर्छ ।’