Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
शिवहरि घिमिरे काठमाडाैं
२०७९ बैशाख २५ आइतबार ०८:३०:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

वडाध्यक्ष डिभी परेर अमेरिका पलायन भएपछि वडा हाँकेकी सुमित्राको फेरि वडा हाँक्ने चाहना 

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०७९ बैशाख २५ आइतबार ०८:३०:००
  • अब हामीले स्थानीयको गाँस, वास र कपासका विषयमा ध्यान दिन्छौँ । यसबाहेक ज्येष्ठ नागरिकलाई सहज गरी सेवा प्रवाह गर्छौं ।
  • अघिल्लो अनुभवले मलाई वडाध्यक्ष बन्न हौसला दिएको छ । वडाध्यक्षको जिम्मेवारी सहजतापूर्वक निभाएकाले पार्टीले पनि मलाई नै अघि सार्‍यो ।

बुढानीलकण्ठ नगरपालिका–९ का वडाध्यक्ष राजेन्द्र सापकोटा करिब दुई वर्षअघि डिभी भिसामा अमेरिका गए । नगरपालिकासँग छोटो बिदा मागेर अमेरिका गएका उनी उतै बसे । उनी नफर्किएपछि ०७७ साउनदेखि वडा हाँक्ने जिम्मेवारी वडा सदस्य सुमित्रा त्रिपाठी पाण्डेको काँधमा पर्‍यो । 

कोभिड महामारी फैलिएको अवस्थामा वडाध्यक्षले बिदा मागेर अमेरिका हिँडेपछि पाण्डेले कार्यवाहक वडाध्यक्षको जिम्मेवारी पाइन् । तर, त्यतिवेला वडा सदस्यलाई वडाध्यक्षको जिम्मेवारी निभाउन सहज भने थिएन । एकातिर कोरोना संक्रमण बढिरहेको अवस्था र अर्कोतिर अभ्यासको कमी । यी दुवै समस्या र चुनौतीका बाबजुद वडाको जिम्मेवारी उनले सहज रूपमा निभाउन सकिन् । वडाध्यक्ष नआउने जानकारी पाएपछि उनी आफैँ वडाध्यक्षको कुर्सीमा बसेर वडावासीलाई सेवा दिन थालिन् । 

बुढानीलकण्ठ नगरपालिका–९ मा करिब तीन वर्ष कार्यवाहक वडाध्यक्ष भएर काम गरेकी पाण्डे आगामी ३० वैशाखमा हुने स्थानीय तहको चुनावमा सोही वडाबाट वडाध्यक्षकी उम्मेदवार छिन् । उनी एमालेबाट उम्मेदवार बनेकी हुन् । कार्यवाहक वडाध्यक्ष भएर काम गर्दाको अनुभवले आफूलाई फेरि वडाध्यक्ष बन्नुपर्छ भन्ने हौसला बढाएकोे उनको भनाइ छ । ‘वडाध्यक्ष कोभिड महामारीका वेला कार्यालयको काम छाडेर विदेश जानुभयो । त्यसपछि वडाको जिम्मेवारी मैले निर्वाह गर्न थालेँ,’ उनले सुनाइन्, ‘सुरुमा केही चुनौती भए पनि बिस्तारै वडाध्यक्षको भूमिका निर्वाह गर्ने बानी पर्‍यो ।’ यसपटकको निर्वाचनमा पहिलेभन्दा महिला नेतृत्वमा पनि कमी आउने देखिएकाले पनि आफ्नो वडाबाट स्थानीयवासी र पार्टीले आफूलाई अघि सारेको उनको भनाइ छ । 

कोभिडकालमा जिम्मेवारीपूर्वक काम गरेकाले स्थानीयले पनि वडाध्यक्षमा आफूलाई नै रोजेको उनको दाबी छ । उनले यसअघि तीन वर्ष वडाध्यक्षको कुर्सीमा बसेर काम गर्दाको अनुभवले वडाध्यक्षको उम्मेदवार बन्न थप सहयोग गरेको बताइन् । उनले पाँच वर्षमा आफ्नो वडाले भौतिक तथा पूर्वाधारका काममा फड्को मारेको दाबी गरिन् । 

घरघरमा मेलम्चीको पानी र बिजुलीको तार भूमिगत 
बुढानीलकण्ठ–९ वडाको सबै घरधुरीमा मेलम्चीको पाइप बिछ्याउने कार्य सकिएको छ । त्यससँगै स्थानीयको घरघरमा मेलम्चीको खानेपानी पनि पठाउन सुरु गरिएको छ । वडाका अधिकांश क्षेत्रमा बिजुलीको तार भूमिगत गर्ने कार्य सकिएको उम्मेदवार पाण्डेको भनाइ छ । ‘मेलम्ची खानेपानीको पाइप सबै घरघरमा पुर्‍याएका छौँ,’ उनले भनिन्, ‘बिजुलीको तार भूमिगत गराउने काम पनि धमाधम सुरु भइरहेको छ ।’

पाँचदलीय गठबन्धनबीच भागबन्डामा सहमति नभएपछि वडामा कांग्रेसबाट गणेश कोइराला, माओवादी केन्द्रबाट घमराज सुवेदी, समाजवादीबाट सुलभ कार्की र राप्रपाबाट पुष्कर खड्का उम्मेदवार बनेका छन् । शीर्ष पार्टीले आ–आफ्नै उम्मेदवार बनाएपछि वडाको निर्वाचन रोचक हुने देखिएको छ । 

‘अघिल्लो अनुभवले हौसला थप्यो’

स्थानीयस्तरमा सामाजिक कार्यसँगै उनी राजनीतिक गतिविधिमा पनि संलग्न रहँदै आएकी थिइन् । यसअघिको चुनावमा पार्टीको सल्लाहबमोजिम नै उनी वडा सदस्य उम्मेदवार बनेकी थिइन् । वडा सदस्यमा जितेर वडाध्यक्षसँगै समन्वय गर्दै आएकी उनलाई तीन वर्ष वडाध्यक्षको कुर्सीमा बसेर सेवा गर्ने अवसर मिल्यो । त्यसलाई आफूले अवसरको रूपमा लिएको उनले बताइन् ।

‘अघिल्लो अनुभवले मलाई वडाध्यक्ष बन्न हौसला दिएको छ,’ उनले भनिन्, ‘वडाध्यक्षको जिम्मेवारी सहजतापूर्वक निभाएकाले पार्टीले पनि मलाई नै अघि सार्‍यो ।’ उनले आफू कार्यवाहक वडाध्यक्ष भएर काम गर्दा वडाको सेवामा चुस्तता आएको बताइन् । त्यस्तै, विगतमा भौतिक पूर्वाधारका काममा वडाले चासो दिएकाले यसपटक निर्वाचित भएपछि फरक क्षेत्रमा काम गर्ने उनको योजना छ ।

पाण्डेले विगतको कार्यकालमा वडामा भौतिक पूर्वाधारमा काम गरेकाले यसपटक चुनाव जिते सामाजिक विकासमा काम गर्ने बताइन् । ‘अब हामी स्थानीयको गाँस, वास र कपासका विषयमा ध्यान दिन्छौँ,’ उनले भनिन्, ‘यसबाहेक ज्येष्ठ नागरिकलाई सहज गरी सेवा प्रवाह गर्छौं ।’ उनले आफू निर्वाचित भए ज्येष्ठ नागरिक भवन निर्माण गर्ने बताइन् । त्यस्तै, युवालाई रोजगार दिने र वडाको मण्डिखाटारमा भूमिहीनको संख्या धेरै भएकाले तिनलाई व्यवस्थापन गर्ने योजना पनि उनको छ । स्वास्थ्य, शिक्षा र सम्पदा संरक्षणलाई आगामी कार्यकालको मुख्य एजेन्डा बनाएको उनले बताइन् ।