मुलुकभर ११ उपमहानगरपालिका छन् । तीमध्ये बारामा कलैया र जितपुरसिमरा उपमहानगरपालिका पर्छन् । यी दुवै उपमहानगरमा यतिवेला चुनावी सरगर्मी उत्कर्षमा छ । दुवैमा एकातिर कांग्रेस, माओवादी, एस र जसपा सम्मिलित सत्तागठबन्धन र अर्कोतिर एमालेका उम्मेदवार मुख्य प्रतिस्पर्धामा छन् । ०७४ मा कलैया कांग्रेस र जितपुरसिमरा एमालेले जितेका थिए । अहिले दुवै पक्ष परिणाम आफ्नो पक्षमा पार्न भरपूर प्रयास गरिरहेका छन् । यी दुवै उपमहानगरमा थपिएका नयाँ मतदाता निर्णायक देखिन्छन् ।
कलैया : परिणाम आफ्नो पक्षमा पार्ने एमालेको कसरत
सदरमुकाम कलैयाकै नामबाट कलैया उपमहानगर राखिएको हो । ०७४ मा यहाँ मेयर र उपमेयर दुवै कांग्रेसले जितेको थियो । कांग्रेसले यसपटक पनि मेयरमा राजेश राय यादवलाई नै उम्मेदवार बनाएको छ । केन्द्रबाट भएको तालमेलअनुसार यहाँ उपमेयरको भाग जनता समाजवादी पार्टीलाई परेको छ । जसपाका प्रमोद गुप्ता उपमेयरका उम्मेदवार छन् । एमालेले भने ०७४ को निर्वाचनमा १८७ मतले पराजित भएका विनोद साहलाई नै उम्मेदवार दोहो¥याएको छ । पाँच वर्षको प्रतीक्षापछि साह यसपटक बाजी मार्ने दाउमा छन् । ०७४ मा मेयर, उपमेयर दुवै जितेको कांग्रेस यसपटक उपमेयर जसपालाई दिएर बलियो गठबन्धनसहित मैदानमा छ । त्यसैले यहाँको भिडन्त निकै रोचक बनेको छ ।
०७४ को मतपरिणाम केलाउँदा तीव्र प्रतिस्पर्धा देखिन्छ । मेयरमा विजयी भएका कांग्रेसका उम्मेदवार यादवले १० हजार ९०३ मत ल्याएका थिए । निकटतम प्रतिस्पर्धी बनेका एमालेका साहले १० हजार ७१६ मत पाएका थिए । यी दुईसँगै मेयरमा लडेका तत्कालीन संघीय समाजवादीका प्रमोद गुप्ताले नौ हजार ४०४, माओवादीका मुकेश साहले चार हजार ३७१ मत ल्याएका थिए । तेस्रो धेरै मत ल्याएका गुप्ता अहिले गठबन्धनबाट उपमेयरका उम्मेदवार छन् । एमालेबाहेक अन्य बाँकी दल अहिले सत्तागठबन्धनमा छन् ।
उनीहरूको मत जोड्दा २४ हजार ६७८ पुग्छ भने एमालेको मत १० हजार ७१६ । यसरी हेर्दा गठबन्धन निकै बलियो देखिन्छ । विगतको आधार वर्तमानमा जितको आधार नबन्न पनि सक्छ । किनभने, ०७४ मा निर्वाचित भएपछि कांग्रेसले पाँच वर्षसम्म कस्तो काम गर्यो ? यसपटक मत पाउने, नपाउने त्यही नै मुख्य आधार हो । त्यस्तै, अहिले गठबन्धनमा रहेको जसपा संघीय समाजवादीमा विभाजनपछि बनेको हो । त्यस्तै अवस्था एमालेमा पनि देखिन्छ । सत्तागठबन्धनमा रहेको एकीकृत समाजवादी एमाले विभाजनपछि बनेको हो ।
अर्को प्रमुख आधार भनेको बढेका मतदाता हुन् । ०७४ मा कलैया उपमहानगरमा ५६ हजार ४९० मत थियो । अहिले १३ हजार ८६६ नयाँ मतदाता बढेका छन् । ती मतदाताले कसलाई रोज्छन् अहिले नै भन्न सकिँदैन । अन्य साना दल र स्वतन्त्र उम्मेदवारले कति मत प्राप्त गर्छन् र तिनले कुन पक्षको मत तान्नेछन् भन्ने तथ्यले पनि परिणाममा अर्थ राख्छ ।
जितपुरसिमरा : साढे १३ हजार नयाँ मतदाता निर्णायक बन्न सक्ने
बारा जिल्लामा रहेको अर्को उपमहानगर हो, जितपुरसिमरा । यहाँ पनि कलैयामा जस्तै एकातिर सत्तागठबन्धन र अर्कोतिर एमालेका उम्मेदवार मुख्य प्रतिस्पर्धामा छन् । सत्तागठबन्धनबाट माओवादी केन्द्रले राजन पौडेललाई मेयर र कांग्रेसले मेघा शाहीलाई उपमेयरको उम्मेदवार बनाएका छन् । एमालेले निवर्तमान उपमेयर सरस्वती चौधरीलाई मेयरमा उठाएको छ । उपमेयरमा पनि एमालेले महिला उम्मेदवार रोशन प्रवीणलाई उठाएको छ ।
०७४ मा मेयर र उपमेयर एमालेले जितेको थियो । एमालेका डा. कृष्ण पौडेल कांग्रेसका कृष्णव्रत सिंहलाई दुई हजार ८७० मतले हराउँदै मेयर बनेका थिए । बौद्धिक र लोकप्रिय रहेका पौडेलले टिकट एमालेबाट पाए पनि मत भने अन्य पार्टीका समर्थकबाट समेत पाएको मतपरिणामले देखाएको थियो । कांग्रेस दोस्रो र माओवादीका उम्मेदवार तेस्रो बनेका थिए । तर, माओवादीले यहाँ सबैभन्दा धेरै १० वडा जितेको थियो । त्यही आधारमा पनि यसपटक माओवादीले मेयरमा दाबी छाडेन । र, गठबन्धन उसैलाई प्रमुख दिन तयार भयो ।
एमालेले मेयर र उपमेयर दुवै पाए पनि पाँच वर्षको अवधिमा काम गर्न नसकेको गुनासो आममतदाताबाट सुनिन्छ । विशेषगरी, उपप्रमुख हुँदा चौधरीले थुप्रै विवादित काम गरेको र उनकै कारण मेयर पौडेलले समेत काम गर्न नसकेको आरोप लाग्ने गरेको छ । त्यसैले, एकातिर बलियो गठबन्धन र अर्कोतिर विगतको विवादका कारण एमालेकी चौधरीलाई यसपटक जित निकाल्न फलामको चिउरा चपाएसरह हुने विश्लेषण सिमराका चियाचौतारामा सुनिन्छ ।
मेयरमा विरासत जोगाउन एमालेलाई धेरै कठिन देखिए पनि उपमेयरमा तुलनात्मक रूपमा प्रतिस्पर्धा केही सहज हुन सक्छ । उपमेयरमा शाहीको उम्मेदवारीलाई लिएर कांग्रेस कार्यकर्ता त्यति खुसी देखिँदैनन् । तर, शाही आफू बलियो गठबन्धनको उम्मेदवार भएकाले सहजै जित्ने बताउँछिन् । ०७४ मा जितपुरसिमरामा ५६ हजार ६६० मतदाता थिए । अहिले ७० हजार ६४ मतदाता छन् । १३ हजार ४०२ नयाँ मतदाता यहाँ पनि ‘की फ्याक्टर’ हुन् । ०७४ मा पाएको मत कायम राखी नयाँ मतदातालाई जसले आकर्षित गर्न सक्ला, उसैले बाजी मार्ने सम्भावना छ ।