मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७९ बैशाख २३ शुक्रबार ०६:२२:००
Read Time : > 7 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सत्तागठबन्धन र एमालेका शीर्ष नेता जिल्ला-जिल्ला पुग्न थालेपछि चुनावी माहोल तात्दै

Read Time : > 7 मिनेट
२०७९ बैशाख २३ शुक्रबार ०६:२२:००

 शीर्ष नेता चुनावी दौडाहामा

पाँचदलीय सत्तागठबन्धनका शीर्ष नेता भरतपुरमा, रेनुका लागि मागे भोट

सत्तागठबन्धनले बिहीबार भरतपुरमा गरेको चुनावी सभा

स्थानीय तह निर्वाचनको ‘इपिसेन्टर’ बनेको भरतपुर महानगरमा पाँचदलीय सत्तागठबन्धनले बिहीबार चुनावी सभा गरेको छ । शीर्ष नेताहरूले मेयरमा दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएकी रेनु दाहाल र उपमेयरका उम्मेदवार चित्रसेन अधिकारीका लागि एउटै मञ्चबाट भोट मागेका छन् ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीद्वय माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, जसपा नेता राजेन्द्र श्रेष्ठलगायतले राजनीतिक उपलब्धि रक्षाका लागि अपरिहार्य वाम–लोकतान्त्रिक गठबन्धनप्रति प्रतिबद्ध रहन कार्यकर्तालाई निर्देशन दिए । भरतपुरमा गठबन्धनप्रति असन्तुष्टि जनाउँदै कांग्रेस नेता जगन्नाथ पौडेलले पनि मेयरमा उम्मेदवारी दिएका छन् ।

रेनुको पहिलो कार्यकालको काम हेर्दा पुनः मेयर बनाउनु न्यायोचित हुने भन्दै कांग्रेस सभापति देउवाले गठबन्धनको विरोध नगर्न र रेनुलाई जिताउन पार्टी पंक्तिलाई निर्देशन दिए । ‘शून्य बेरुजु भएको महानगरपालिकाको मेयर हो रेनु दाहाल । उहाँको कार्यकालमा सडक यति धेरै पिच भएको छ । स्मार्ट सिटी, अन्तर्राष्ट्रिय क्रिकेट मैदान र इन्टरनेसनल कन्फ्रेन्स हल बनाउने कुरा गर्नुभएको छ, यो सानो कुरा होइन । त्यही पनि कोही मान्छेले रेनु भएन भन्नुहुन्छ । यस्तो काम गर्ने मान्छे नभएर को हुन्छ त यहाँको मेयर ?’ रेनुलाई मत माग्दै देउवाले भने, ‘उहाँ आफैँले जितिसक्नुभयो । जित्नुहुन्छ । राम्रो काम गर्ने मान्छेलाई हराए यहाँका मान्छेले के भन्लान् ? यस्तो काम गर्नेलाई त हामीले धन्यवाद भन्ने हो । त्यसैले सबैले उहाँलाई सहयोग गर्नुहोस् ।’

गठबन्धनको पक्ष लिएकाले नै आफू पार्टी सभापतिमा निर्वाचित भएको, गठबन्धनबाटै प्रधानमन्त्री बनेको र अब पनि कुनै पार्टीले एक्लै बहुमत ल्याउन नसक्ने भएकाले गठबन्धन आवश्यक रहेको पनि उनले बताए । ‘मेची–महाकालीसम्म गठबन्धनको भरोसा बढेर नै होला, मैले ८२ प्रतिशत बहुमतले पार्टी सभापति जितेँ । गाउँदेखि नै चुनिएर आएका पार्टीका साथीहरूले गठबन्धन बनाउनु भनेर नै मलाई दुईतिहाइभन्दा बढी मतले सभापतिमा जिताउनुभएको हो । नेपाली जनताले गठबन्धन चाहेका छन्,’ देउवाले भने । गठबन्धन टुटाउने थुप्रै षड्यन्त्र भए पनि त्यसलाई आफूहरूले परास्त गर्ने उनले बताए । 

माओवादी अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री छँदा दुईपटक संसद् विघटन गरेको घटना स्मरण गराउँदै प्राप्त उपलब्धि रक्षाका लागि वाम–लोकतान्त्रिक गठबन्धन आवश्यक रहेको बताए । अहिलेको गठबन्धनलाई १५–२० वर्षसम्म लैजान सकिने भन्दै उनले अबको चुनावी नतिजाले यसको निर्धारण गर्ने पनि बताए । 

‘रूखवालाले हँसिया–हथौडामा भोट हाल्न अप्ठ्यारो पर्छ, भोट हालिँदैन भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ । गठबन्धनलाई देशको आवश्यकता मान्नुहुन्छ भने भोट हाल्नुहोस् । अब फैसलाको अधिकार नेतालाई मात्रै छैन, जनतालाई पनि छ,’ प्रचण्डले गठबन्धनप्रति प्रतिबद्ध रहन आग्रह गर्दै भने, ‘हामीले राष्ट्रिय आवश्यकताका आधारमा गठबन्धन गरेका हौँ । तपाईंहरूले बुझ्नुभयो भने यो गठबन्धन दशकौँ जान्छ । गठबन्धनलाई १०–१५–२० वर्षसम्म लैजान सकिन्छ, चितवनवासी जनताको हातमा फैसला गर्ने वेला आएको छ ।’ 

चुनाव चिह्नको विषयलाई लिएर गठबन्धनबारे नकारात्मक प्रचार भएकोप्रति लक्षित गर्दै प्रचण्डले ०४६ को आन्दोलनपछि नै लाल सलाम र जय नेपालको सहकार्यको सुरुवात भएको बताए । ‘पञ्चायती व्यवस्था हटाउन ०४६ सालको जनआन्दोलन, राजतन्त्र फाल्न ०६३ सालको जनआन्दोलन र नेपालमा विस्तृत शान्ति सम्झौतामा हँसिया–हथौडा र चारतारे झन्डा (रूख)को सहकार्य थियो,’ हाल चुनावी गठबन्धनमाथि प्रश्न उठाउनेलाई उनले भने, ‘विस्तृत शान्ति सम्झौता सही थिएन ? वामपन्थी र लोकतन्त्रवादीको सहकार्य उचित थिएन ? गिरिजाप्रसाद कोइरालाले सहमति, सहकार्य र एकताको कुरा गरेको ठीक थिएन ?’

संविधान उल्ट्याउन चाहने शक्तिहरू आफूविरुद्ध यही मौकामा लागेको प्रचण्डको आरोप छ । ‘प्रचण्ड राजनीतिमा बलियो रहँदासम्म संविधान उल्टाउन नसकिने भयो भनेर ठेगान लगाउने यही समय हो भन्दै देशी–विदेशी शक्ति लागेका छन्,’ उनले भने । 

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन गर्दा र नगर्दा हुने परिणाम विश्लेषण गरेर मात्रै बोल्न सुझाएका छन् । यसले सबैलाई केही न केही फाइदा नै मिलेको उनको विश्लेषण छ । ‘गठबन्धन गर्दा र नगर्दाका विषयमा विश्लेषण गर्नुपर्छ । अहिले गठबन्धन गर्दा सबै पार्टीलाई केही न केही फाइदा भएको छ । अझै पनि मिल्न नसकेका ठाउँमा मिलाऊँ, मिलेका ठाउँमा सहमति पालना गरौँ,’ उनले सभामा भने ।

एमाले कुहिएको फर्सी र केपी ओली बयलगाढा दर्शनका प्रवद्र्धक भएको उनको टिप्पणी थियो । ‘एमाले कुहिसकेको फर्सी हो, काम छैन, सुँघ्दा पनि असर गर्न सक्छ । केपी ओली बयलगाढा दर्शनका प्रवद्र्धक हुन् । बयलगाडा चढेर वासिङ्टन जानु र नेपालमा राजतन्त्र फालेर गणतन्त्र ल्याउनु उस्तै–उस्तै कुरा हो भनेर निराशा छर्ने गणतन्त्रविरोधी व्यक्ति हुन् । त्यही व्यक्ति आज गणतन्त्रविरोधी शक्तिसँग साँठगाँठ गर्दै छ,’ उनले भने, ‘ओली झुटको खेती गर्न जान्दछन् । गफमा विद्यावारिधि गरेका छन्, गफमा मानिसलाई झुलाउन सक्छन्, जोगिनुहोला, नत्र फुर्सदमा पछुताउनुपर्नेछ । विगतमा पनि तीन पर्टी एकताबद्ध भएर राजतन्त्र फालेको हो । अहिले केपी ओलीको प्रतिगमनविरुद्ध एक नभएको भए संविधान रहने थिएन ।’ 

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि पाँचदलीय गठबन्धन ओलीले निम्त्याएको वर्तमान परिस्थितिको उपज भएको बताए । ‘ओली प्रवृत्ति एमाले पार्टीसँग छ । एमाले हाम्रो प्रतिद्वन्द्वी हो, प्रचण्ड होइन । माओवादी केन्द्र होइन, छैन । त्यसकारण माओवादीसँग सहकार्य गर्नु हाम्रो आवश्यकता हो । गठबन्धन अहिलेको परिस्थितिको उपज हो,’ उनले भने, ‘केपी ओलीले मुलुकमा संसद् विघटन गर्दा ०१७ सालमा संसद् विघटन गरेर बिपीलाई थुनेको सम्झेँ । एमालेले देशलाई अस्थिरतातर्फ लग्यो, त्यसैले यो गठबन्धन आवश्यक प¥यो । ओली देश विकासलाई अलमल्याउन र खलबल्याउन कतैबाट निमित्त बनाएर आएको सबै जनताले बुझ्नुपर्‍यो ।’ 

गठबन्धनले कांग्रेसलाई मात्रै नभई सबैलाई फाइदा पुर्‍याएको पौडेलको विश्लेषण छ । ‘नेपाली कांग्रेसले तीनवटा महानगरमा मेयर पाएको छ, हामी एक ठाउँमा माओवादीलाई भोट हाल्छौँ, तर तीन ठाउँमा माओवादीले हामीलाई भोट हाल्छन् । यो कुरा बुझ्न आवश्यक छ,’ उनले भने, ‘यो मुलुकमा कुनै पनि पार्टीले बहुमत ल्याउने अवस्था नभएको समयमा स्थानीय सरकारबाटै मिलेर मुलुकको अस्थिरता अन्त्य गर्नु छ । गठबन्धनको आवश्यकता देशलाई नै परेको छ ।’ 

गठबन्धनको सभालाई सम्बोधन गर्दै मेयर पदकी उम्मेदवार रेनु दाहालले पहिलो कार्यकालको पाँच वर्षमा भरतपुरमा ट्रेलर देखाएको र अब जितेपछि पूरै फिल्म देखाउने घोषणा गरिन् । ‘यो पाँच वर्षमा मैले साझा जनप्रतिनिधिको रूपमा काम गर्ने कोसिस गरेँ । पाँच वर्षमा हामीले भरतपुरलाई गर्व गर्नलायक ठाउँमा पुर्‍याएका छौँ,’ उनले भनिन्, ‘पाँच वर्षमा भरतपुरका जनतालाई विकासको ट्रेलर देखाइसकका छौँ । अब निर्वाचित भएर आएपछि सम्पूर्ण विकासका आयोजना पूरा गरेर समग्र चलचित्र देखाउँछौँ ।’ 

उनले भरतपुरका लागि विकासको खाका तयार पारेको र गुरुयोजनाअनुसार काम अघि बढाएको पनि बताइन् । शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार विकासलगायत क्षेत्रमा पाँच वर्षमा भएको उपलब्धिको फेहरिस्तसमेत प्रस्तुत गरिन् । भरतपुरमा ०७४ को स्थानीय तह निर्वाचनमा माओवादी र कांग्रेसले तालमेल गरेर रेनुलाई मेयरमा निर्वाचित गराएका थिए । 

यसअघि जिल्लामा गठबन्धनको विरोध गर्दै मेयर कांग्रेसकै हुनुपर्ने माग गरेका जिल्लाका नेताले पनि पाँचदलीय गठबन्धनलाई जिताउने प्रतिबद्धता जनाए । कांग्रेस चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठले पार्टीको निर्देशन पालना गर्दै गठबन्धनलाई जिताउन लागिपर्ने बताएका हुन् । उनले जिल्लामा पाँचदलीय गठबन्धनलाई हराउने तागत कसैको नभएकोसमेत बताए । कांग्रेस केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले गठबन्धनका नेताहरूलाई जिताउन सिपाही बनेर लाग्ने बताए । कांग्रेस चितवनका सभापति राजेश्वर खनालले लोकतन्त्रमा पलाएको प्रतिगमनलाई परास्त गर्न गठबन्धनका उम्मेदवारलाई जिताइने घोषणा गरे । सभालाई कांग्रेसका केन्द्रीय सदस्य शंखर भण्डारी, सहमहामन्त्री महालक्ष्मीदेवी उपाध्याय, जसपाका कार्यकारी सदस्य राजेन्द्र श्रेष्ठलगायतले सम्बोधन गरेका थिए । भरतपुर सभामा सम्बोधन गर्न आउने भनिएका कांग्रेस महामन्त्री गगनकुमार थापा र डा. शेखर कोइराला भने उपस्थित भएनन् । गठबन्धनकी उम्मेदवार रेनुसँग प्रतिस्पर्धाका लागि एमालेले विजय सुवेदीलाई मेयरमा उठाएको छ । 

ओलीले एकै दिन गरे कैलाली र  कञ्चनपुरका तीन सभालाई सम्बोधन

एमालेले बिहीबार धनगढीमा गरेको चुनावी सभा

एमाले अध्यक्ष केपी ओलीले स्थानीय निर्वाचनपछि सबैतिर एमालेको सरकार बन्ने दाबी गरेका छन् । बिहीबार कञ्चनपुरको बेलौरीस्थित खुलामञ्चमा आयोजित चुनावी सभामा उनले त्यसको कास्टिङ ३० वैशाखमा देखिने दाबी गरे । 

‘एमालेको पक्षमा देशैभर जनलहर छ । अब एमालेलाई कसैले रोक्न सक्दैन,’ उनले भने, ‘स्थानीय तहको निर्वाचनपछि संघीय सरकार पनि एमालेले नै बनाउनेछ ।’ दुई दिनअघि पूर्व झापा र इलामका सभामा सहभागी भएका ओलीले बिहीबार कैलाली र कञ्चनपुरका तीनवटा चुनावी सभालाई सम्बोधन गरेका छन् । दिउँसो जहाजबाट धनगढी ओर्लिएका उनी त्यहाँबाट चार्टर्ड हेलिकोप्टर चढेर तीनवटा कार्यक्रममा सहभागी भएका थिए । 

सुरुमा कैलालीको बौनिया, त्यसपछि कञ्चनपुरको बेलौरी र अन्तिममा धनगढीमा आयोजित सभालाई ओलीले सम्बोधन गरेका थिए । साँझ ६:३० बजे जहाजबाट उनी काठमाडौं फर्किएका छन् ।

बेलौरीको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तहमा एमालेले सबैभन्दा बढी ५२ प्रतिशत महिला उठाएको जिकिर गरे । ‘महिला दिदी–बहिनी खुसी हुनुपर्छ । प्रमुख, उपप्रमुखमा एमालेले सबैभन्दा बढी महिला अघि सारेको छ । त्यसभन्दा बढी अरू के हुन सक्छ,’ ओलीले भने । 

चुनावपछि तीनै तहमा एमालेको सरकार : ओली

बिहीबार धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी ओलीले भने–चुनावपछि पाँचदलीय गठबन्धनको बेहाल हुन्छ । चुनाव कहीँबाट जित्ने होइनन्, हारेपछि एउटाले अर्कोलाई भोट नदिएको आरोप लगाउँछन् र गठबन्धन सर्वनाश भएर जान्छ ।

उनले कांग्रेसको घोषणापत्रमा एमालेलाई गाली मात्रै गरिएको टिप्पणीसमेत गरे । ‘एमालेको घोषणापत्रमा हामीले चुच्चे नक्सासहितका विषय समावेश गरेका छौँ । तर, कांग्रेसले घोषणापत्रलाई एमालेविरुद्ध गालीपत्र मात्रै बनाएको छ,’ ओलीले भने, ‘त्यसको निसाफ जनताले निर्वाचनमार्फत गर्नेछन् ।’ उनले वर्तमान सरकार निकम्मा भएको आरोपसमेत लगाए । ‘सीमाका समस्यामा एमाले सरकार मात्रै बोल्छ, आरक्षपीडितका समस्यामा एमाले मात्रै बोल्छ,’ ओलीले भने, ‘गठबन्धन सरकार जनताको पक्षमा छैन ।’

त्यस्तै, बिहीबार कैलालीको धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी चुनावपछि गठबन्धन समाप्त भएर जाने ठोकुवा गरे । ‘चुनावपछि गठबन्धनको बेहाल हुन्छ,’ उनले भने, ‘चुनाव कहीँबाट जित्ने होइन, हारेपछि एउटाले अर्कोलाई भोट नदिएको आरोप लगाउँछन् र गठबन्धन सर्वनाश भएर जान्छ ।’ 

उनले लोकतन्त्रमा संसद्ले सरकार बनाउने भए पनि अदालतले असंवैधानिक ढंगले सरकार गठन गरेको जिकिर गरे । ‘लोकतन्त्रमा संसद्ले सरकार बनाउँछ । अदालतले असंवैधानिक ढंगले सरकार बनाएको संसारमा कहीँ छैन, तर नेपालमा भयो,’ उनले भने, ‘यो सबैको जवाफ निर्वाचनबाट दिनुपर्छ । मूल जवाफ प्रदेश र संघको निर्वाचनमा दिनेछौँ ।’

सरकारकै कारण मुलुकमा आर्थिक संकट निम्तिएको उनको भनाइ छ । ‘यो १० महिना मुलुक उल्टोतिर गएको छ । एमालेको सरकार हुँदा वैदेशिक मुद्राको स्थिति १२ महिना धान्ने थियो । अहिले सबै सिद्धिएर मुलुकमा आर्थिक संकट निम्तिँदै छ,’ ओलीले भने, ‘यो सरकार आएपछि देशमा अलच्छिन लाग्यो । देशको पैसा चुहिएर गयो ।’ 

कैलालीको बौनियामा बिहीबार नै आयोजित अर्को चुनावी सभामा ओलीले आफ्ना मान्छे, नातागोता, आफन्तको व्यवस्थापन गर्न र बाँडीचुडी खानका लागि मात्र अहिलेको गठबन्धन बनेको उनले आरोप लगाए । ‘एक सय ६५ निर्वाचन क्षेत्र भएको देशमा २३ सिट ल्याउने पार्टीको अध्यक्ष विभिन्न प्रकारका लौरो टेकेर प्रधानमन्त्री बनी हिँड्दै हुनुहुन्छ । यो निर्वाचनले संविधान र संसदीय प्रणालीविपरीतको परमादेशी सरकारलाई बिदाइ गर्छौं भन्ने सन्देश दिनुपर्छ,’ ओलीले भने । 

ओलीले स्थानीय तहको प्रमुख र उपप्रमुखमध्ये एउटा पदमा महिला उम्मेदवार उठाउनुपर्नेमा गठबन्धनले दुवै पदमा पुरुष उम्मेदवार उठाएर महिला अधिकार खोसेको आरोप लगाए । 

ओलीले निर्वाचन आयोगप्रतिसमेत आक्रोश पोखे । मतपत्रको रङ हरियो बनाएर आयोगले गलत काम गरेको उनको भनाइ थियो । ‘यसपटक निर्वाचन आयोगले बेठीक काम गरेको छ । सूर्यको रङ हरियो बनाइदिएको छ । बिल्कुल गलत हो त्यो,’ उनले भने, ‘हामीले भन्दाभन्दै पनि रुखलाई हरियो बनाउनका लागि निर्वाचन आयोगले सूर्य पनि हरियो बनाइदियो । तर, अलमलिनुपर्ने छैन, जस्तोसुकै रङमा भए पनि पहिलो लाइनमै हुन्छ ।’

कांग्रेसले १७ वर्ष सरकारको नेतृत्व गरे पनि देशको विकासका लागि केही काम गर्न नसकेको ओलीले आरोप लगाए । कांग्रेसले १७ वर्षसम्म सरकार चलाएकोभन्दा बढी काम एमाले नेतृत्वको तीन वर्षको सरकारले गरेको उनको दाबी छ । चीनसँग पारवहन सम्झौता गरेर उत्तरतिरका नाका खोल्ने, भारतले कब्जा गरेको नेपाली भूमि समेटेर नक्सा जारी गर्नेजस्ता राष्ट्रिय हितका कामहरू आफू नेतृत्वको सरकारले गरेको ओलीले जिकिर गरे । ‘हामीले महेन्द्रले छोडेको भूमि समेटेर नक्सा निकाल्यौँ । हुलाकी सडक बनाउन एमाले चाहियो । पूर्व–पश्चिम राजमार्ग चार लेन, ६ लेन बनाउन हामीले थाल्यौँ,’ धनगढीमा ओलीले भने, ‘हामीले सुरु गरेका सडक, अस्पतालका बजेट अहिले काटिएका छन् ।’ एमालेको नेतृत्वमा मात्रै मुलुकको विकास सम्भव हुने उनले दाबी गरे । 

एमालेको आरोप सत्तापक्षको आचारसंहिता उल्लंघनमा निर्वाचन आयोग मूकदर्शक

प्रधानमन्त्री र मन्त्रीहरू राज्यसत्ताको दुरुपयोग गर्दै देशभर चुनावी प्रचारमा हिँडिरहँदा पनि निर्वाचन आयोग मूकदर्शक बनेको र दोहोरो चरित्र देखाएको आरोप एमालेले लगाएको छ । ‘निर्वाचन आचारसंहिता बनाएर हस्ताक्षर सत्तागठबन्धनले गरेको थियो । बरु हामीले आचारसंहिता व्यावहारिक भएन भनेर बहिष्कार गरेका थियौँ, असहमति राखेका थियौँ,’ महासचिव शंकर पोखरेलले बिहीबार काठमाडौंमा पत्रकारहरूसँग भने, ‘तर, अहिले प्रधानमन्त्री शेरबहादुर देउवा चितवनको भरतपुरको आमसभामा पार्टी सभापतिको हैसियतमा सहभागी भएको प्रचार गरिँदै छ, के देउवाजीले भाषण गरिरहेका वेला मुलुकको प्रधानमन्त्रीचाहिँ अर्कै हुन्छ ?’