मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २१ बुधबार
  • Monday, 16 December, 2024
एजेन्सी नयाँदिल्ली
२o७९ बैशाख २१ बुधबार o७:४६:oo
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

‘गम्भीर लु’सँग जुध्दै छन् करोडौँ भारतीय

भारतको राजधानी दिल्लीमा कैयौँ दिनदेखि तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि छ, जब कि मुख्य गर्मी अझै आउन बाँकी छ

Read Time : > 2 मिनेट
एजेन्सी नयाँदिल्ली
नयाँ पत्रिका नयाँदिल्ली
२o७९ बैशाख २१ बुधबार o७:४६:oo

केही दिनदेखि चलिरहेको ‘गम्भीर लु’बाट बच्न करोडौँ भारतीय संघर्ष गरिरहेका छन् । लूका कारण यहाँ बढेको उखरमाउलो गर्मी अझै केही समय लम्बिने मौसमविद्हरूले अनुमान गरिरहेका छन् ।गएको शुक्रबार भारतका कम्तीमा नौ सहरको तापक्रम ४५ डिग्री सेल्सियस (११३ फरेनहाइट) थियो । यसैबीच भारतभर बिजुली आपूर्ति अवरुद्ध हुनलागेको खबर फैलिरहेको छ । यस्ता खबर चिर्न भारत सरकार भरमग्दुर प्रयास गरिरहेको छ ।

अप्रिल, मे र जुन तीन महिना भारतका अधिकांश भूभागमा गर्मी हुन्छ । मनसुनी वर्षाले मात्र यो तापक्रमलाई बीचबीचमा केही ठन्डा बनाउँछ । तर, पछिल्ला दशक भारतमा तातो हावाको लहर चाँडै सुरु हुन थालेको छ र यो पहिलेभन्दा गम्भीर बन्ने गरेको छ ।सन् २०१० यता भारतमा लुले ६ हजार पाँच सयभन्दा बढी मानिसको ज्यान लिइसकेको छ । जलवायु परिवर्तनले अब भारत मात्रै होइन, दक्षिण एसियाभर कडा र छिटो–छिटो फैलने लू आउने चेतावनी वैज्ञानिकहरूले दिइरहेका छन् । ‘मैले अप्रिल महिनामा यस्तो भयानक मौसम पहिलोपटक देखेको हुँ । सामान्यतया, यस्तो गर्मी मेपछि मात्रै हुन्थ्यो,’ दिल्लीकी ३० वर्षीया सोम्या मेहराले भनिन् । राजधानी दिल्लीमा कैयौँ दिनदेखि तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि छ । जब कि मुख्य गर्मी आउन अभैm बाँकी छ ।

‘अहिलेसम्मकै सबैभन्दा गर्मी’
भारतको मौसम विभागले गत शुक्रबार देशको उत्तर, उत्तर–पश्चिमी र पूर्वी क्षेत्रहरूमा ‘गम्भीर लु’को चेतावनी दिएको थियो । कैयौँ स्थानीय मिडियाले अहिलेको स्थितिलाई ‘अहिलेसम्मकै सबैभन्दा गर्मी’ भनिरहेका छन् । गत मार्च महिना भारतमा तापक्रमको रकेर्ड राख्न सुरु गरेयताकै सबैभन्दा तातो मार्च रह्यो ।भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गर्मीलाई मध्यनजर गर्दै आगलागी हुन सक्ने चेतावनी दिएका थिए । ‘तापक्रम द्रुत गतिमा बढिरहेको छ र सामान्यभन्दा धेरै चाँडो बढिरहेको छ,’ गत बुधबार भारतीय राज्यहरूका सरकार प्रमुखलाई अनलाइनमार्फत उनले सन्देश दिए । मोदीले यसो भनिरहँदा दमकलहरू नयाँदिल्लीको उत्तर–पश्चिमी किनार रहेका ल्यान्डफिल साइटमा लागेको भीषण आगो निभाउन संघर्षरत थिए । 

ओडिसाका विद्यालय एक साता बन्द
सबैभन्दा बढी प्रभावित क्षेत्रमा सामान्यतया उच्च आर्द्रता रहने पूर्वी राज्य थिए, जहाँ बुधबार तापक्रम ४३ डिग्री सेल्सियसमाथि गएको थियो । गर्मीकै कारण पूर्वी राज्य ओडिसाका विद्यालयहरू एक साताका लागि बन्द गरिएका छन् भने छिमेकी राज्य पश्चिम बंगालले समयभन्दा अगाडि नै आगामी सातादेखि गर्मी बिदा दिने घोषणा गरेको छ ।

पश्चिम बंगालका ६ जिल्लामा रेकर्ड गरिएको अधिकतम तापक्रम सामान्यभन्दा कम्तीमा पाँच डिग्री सेल्सियस बढी रहेको अधिकारीहरूले बताएका छन् । राज्यको राजधानी कोलकातामा न्यून वर्षाले पनि विज्ञको चिन्ता बढाएको छ । ‘अहिलेजस्तो लूले सम्पूर्ण भारतलाई चपेटामा पारेको घटना विरलै देखिन्थ्यो,’ महाराष्ट्रको तटमा रहेको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी, बम्बेकी मौसमविद् अर्पिता मण्डलले भनिन् । उनी बसेको क्षेत्रमा ‘असह्य’ गर्मी भएको जानकारी दिइन् ।

अहिलेको विषम मौसमका लागि जलवायु परिवर्तन कारक भएकोमा शंका नरहेको मण्डलले बताइन् । फेब्रुअरीमा संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानलको प्रतिवेदनले अत्यधिक गर्मीको असर भारतमा उच्च रहने चेतावनी दिए । उदाहरणका लागि, विश्वको औसत तापक्रम पूर्वऔद्योगिक समयको तापक्रमभन्दा १.५ डिग्री सेल्सियसले बढे पश्चिम बंगालको राजधानी कोलकाताले हरेक वर्ष एकपटक सन् २०१५ को लूसँग मिल्दोजुल्दो अवस्था भोग्नुपर्नेछ । त्यसवेला कोलाकाताको तापक्रम ४४ डिग्री सेल्सियस पुग्दा देशभर हजारौँको ज्यान गएको थियो । 

मण्डलको अनुसन्धानले सहरी प्रदूषण विशेषतः कार्बन र धुवाँधुलोले पनि सहरी तापक्रम बढाउन सहयोग गर्ने देखाएको छ । कार्बन र धुवाँधुलाले सूर्यको किरणको तापक्रमलाई सोस्ने हुँदा भारतका सहरको तापक्रम थप बढी हुन्छ ।

 उखरमाउलो गर्मीबीच विद्युत् कटौती
उखरमौलो गर्मीबीच उत्तरी राज्य राजस्थान, हरियाणा र दक्षिणका आन्द्र प्रदेशलगायत पाँच राज्यले कम्तीमा पनि ६ वर्षयताकै खराब विद्युत् कटौती भोगिरहेका छन् । एअरकन्डिस्नर र पंखाको प्रयोग अकासिएर बिजुलीको माग बढेपछि गुजरात, राजस्थान र आन्द्रप्रदेशले कारखानाहरूमा बिजुली कटौती गरेको छ । बिजुलीको मागमा भएको बढोत्तरीले भारतमा बिजुली उत्पादनमा प्रयोग हुने प्रमुख इन्धन कोइलाको माग डरलाग्दो गरी बढेको छ । कोइलाको भण्डार कम्तीमा नौ वर्षयताकै सबैभन्दा न्यून बनेको समाचार समिति रोयटर्सले जनाएको छ । विद्युत् केन्द्रहरूमा कोइला ढुवानी गर्न रेलको अभाव भएपछि केन्द्र सरकारले आपूर्तिलाई प्राथमिकता दिन दर्जनौँ यात्रुवाहक रेललाई रोकिराखेको छ । 

गर्मीले भारतमा जीवन र जीविकोपार्जनलाई जोखिममा पारे पनि वास्तविक खतरा तब उत्पन्न हुन्छ जब उच्च तापक्रमसँगै उच्च आर्द्रताको स्थिति आउँछ । त्यस अवस्थामा पसिनाले पनि मानिसहरूलाई चिस्याउन कठिन बनाउँछ । त्यस्ता अवस्थालाई ‘भिजेको बल्बको तापमान’द्वारा मापन गरिन्छ, जसले भिजेको कपडामा बेरिएको थर्मोमिटरको रिडिङ रेकर्ड गर्छ ।

‘भिजेको बल्बको तापमान’ भारतमा विशेष चिन्ताको रूपमा हेरिन्छ जहाँ १.४ अर्ब मानिसमध्ये अधिकांश ग्रामीण क्षेत्रमा बसोवास गर्छन् । उनीहरूसँग एअरकन्डिस्नर वा अन्य चिस्याउने संयन्त्रमा पहुँच कम छ । गत बुधबार पश्चिम बंगाल र ओडिसा राज्यका सहरमा २९ डिग्री सेल्सियसमा ‘भिजेको बल्बको तापमान’को स्थिति देखियो । यदि ‘भिजेको बल्बको तापमाम’ ३५ डिग्री सेल्सियसभन्दा बढी भयो भने मानिस घरबाहिर केही घन्टा मात्र बाँच्न सक्छ ।

‘यस्तो गर्मीमा बाच्नु मात्रै पनि स्वास्थ्यका लागि खतरा हुन्छ । भारतका १.४ अर्ब मानिसमध्ये ग्रामीण भेगमा बस्ने अधिकांश मानिस एअरकन्डिस्नर आदिको अभावमा राति घरबाहिर खाट राखेर सुत्छन् । तर, रातको समयमा पनि तापक्रम उच्च हुन थालेको छ । यस्तो अवस्थामा हाम्रो शरीरलाई ठन्डा राख्ने प्रणाली हरसमय सक्रिय रहनुपर्दा शरीरमा अत्यधिक दबाब परिरहेको हुन्छ । यसले स्वास्थ्य समस्या निम्त्याउँछ,’ रोयल मेटियोरोलोजिकल सोसाइटीका प्रमुख कार्यकारी र रिडिङ विश्वविद्यालयमा मौसम विज्ञानका प्राध्यापक लिज बेन्टले भनिन् ।