मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
गणेश लम्साल विराटनगर
२०७९ बैशाख १६ शुक्रबार १३:५५:००
Read Time : > 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

विराटनगर महानगरमा एमालेबाट उपमेयरकी उम्मेदवार कार्कीद्वारा राजीनामाको किर्ते कागजात पेस !

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७९ बैशाख १६ शुक्रबार १३:५५:००

विराटनगर महानगरपालिकाको उपप्रमुखमा नेकपा एमालेबाट उम्मेदवारी दिएकी शिल्पा कार्कीले राजीनामाको किर्ते कागजात बुझाएर आफूविरुद्ध परेको उजुरी खारेज गराएको खुलेको छ । कोसी अस्पताल विकास समिति सदस्यमा बहाल रहेको भनेर उजुरी परेपछि उपप्रमुख पदकी उम्मेदवार कार्कीले ९ वैशाख ०७९ मै पदबाट राजीनामा दिएको र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ११ वैशाखमा दर्ता नम्बर ७२९९ मा राजीनामा स्वीकृत गरेको किर्ते निवेदनको कागजात मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पेस गरेर उम्मेदवारी सदर गराएको खुलेको हो । 

कार्कीले पेस गरेको निवेदनको कागजातका आधारमा मुख्य निर्वाचन अधिकृत भरत लम्सालले १५ वैशाखमा निर्वाचन आयोगले गरेको निर्णयअनुसार उपप्रमुख पदकी उम्मेदवार कार्कीविरुद्ध परेको उजुरी मागदाबी नपुगेको भन्दै खारेज गरिदिएका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालय मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार बिहीबार बेलुका ५ बजेसम्म प्राप्त कागजातले मागदाबी नपुगेकाले कार्कीको उम्मेदवारी सदरको अन्तिम टुंगो लागेको बताए । बाँकी समस्या भए अदालतले टुंगो लगाउने उनले बताए ।

तर, कार्कीले दिएको राजीनामा उक्त्त मितिमा संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दर्ता नभएको पाइएको छ । मन्त्रालयले उपलब्ध गराएको आधिकारिक विवरणअनुसार कार्कीको राजीनामा स्वीकृत भएको मितिमा दर्ता भएको नम्बरमा सुर्ती ऐन सम्बन्धित कागजात दर्ता भएको पाइएको छ । मन्त्रालयले उपलब्ध गराएको आधिकारिक सूचना विवरणअनुसार कार्कीले राजीनामा स्वीकृत गरेको मिति र दर्ता नम्बरमा उक्त दिन  मन्त्रालयको मूल दर्ता किताबमा सूर्य नेपाल प्रालि काठमाडाैंको सुर्तीजन्य पदार्थ ऐनबारे कागजात दर्ता भएको पाइएको छ । १२ वैशाखमा एमाले उम्मदेवार कार्कीले विराटनगर महानगरको उपमेयर पदमा उम्मेदवारी दर्ता गराएकी थिइन् । उनीविरुद्ध १३ वैशाखमा जनता समाजवादी पार्टीका उपमेयर पदका उम्मेदवार अमरेन्द्र यादवले कार्कीले कोसी अस्पताल विकास समितिको सदस्य पदबाट राजीनामा नदिईकन उम्मेदवारी दर्ता गरएकाले उनको उम्मेदवारी खारेजीको माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका थिए । 

आफूविरुद्ध उजुरी दर्ता भएको थाहा पाएपछि उम्मेदवार कार्कीले हतार–हतार कोसी अस्पताल विकास समिति अध्यक्ष महेश भट्टराईमार्फत गलत मिति राखेर राजीनामा दिएकी थिइन् । अध्यक्ष भट्टराईले पनि उनको राजीनामा मन्त्रालयमा बुझाउने भनेर तोकआदेश गरेका थिए । सोही आदेशका आधारमा कार्कीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नामबाट ९ वैशाखमा  राजीनामा दिएको र ११ वैशाखमा स्वीकृत भएर  ७२९८ नम्बरमा दर्ता भएको कागजात निर्वाचन अधिकृत कार्यालयमा पेस गरेकी थिइन् । 

कार्कीले ९ वैशाखम दिएको राजीनामा ११ वैशाखमा मन्त्रालयबाट स्वीकृत भएको कागजात निर्वाचन अधिकृतको कार्यालयमा पेस गरेपछि नेकपा (एकीकृत समाजवादी) की विराटनगर महानगर समिति सचिव हिराकुमारी दाहालले सूचनाको हक प्रयोग गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग आधिकारिक सूचना माग गरेकी थिइन् ।  मन्त्रालयले दाहाललाई उपलब्ध गराएको सूचनाअनुसार उम्मेदवार कार्कीले बुझाएको राजीनामा किर्ते भएको खुल्न आएको हो । 

तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले कार्कीलाई कोसी अस्पताल विकास समिति सदस्य पदमा नियुक्त गरेको थियो । हालका स्वास्थ्यमन्त्री विरोध खतिवडाले उनीसहित समितिका सबै पदाधिकारीलाई २१ माघमा  बर्खास्त गरे पनि अदालतबाट उनीहरू पुनर्स्थापित भएका थिए । कोसी अस्पताल प्रशासनका अनुसार सदस्य रहेकी कार्कीले चैत महिनासम्म अस्पतालको कोषबाट भत्ता बुझेको र राजीनामा नबुझाएको पाइएको छ ।