१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ बैशाख १२ सोमबार ०७:०७:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कैलालीको मुक्त कमैया शिविरमा भीषण आगलागी, ७१ घर नष्ट

गहुँको नल जलाउन खेतमा लगाएको आगो दिउँसो करिब १२ बजेतिर बस्तीमा सल्कियो, शिविरका ७१ घर नष्ट भएपछि बेलुकी ५ बजेतिर मात्रै आगो नियन्त्रणमा आयो

Read Time : > 2 मिनेट
२०७९ बैशाख १२ सोमबार ०७:०७:००

कैलालीको कैलारी गाउँपालिका– ७ स्थित विपतपुर मुक्त कमैया शिविर जलेर खरानी बनेको छ । गहुँको नल जलाउन खेतमा लगाएको आगो बस्तीमा सल्किँदा शिविरका ७१ घर जलेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख सोमेन्द्रसिंह राठौरले बताए । स्थानीयका अनुसार दिउँसो करिब १२ बजेतिर सुरु भएको आगलागी बेलुकी ५ बजेतिर मात्रै नियन्त्रणमा आएको थियो । प्रहरीले ६५ घर पूर्ण रूपमा नष्ट भएको र ६ घरमा केही क्षति पुगेको जनाएको छ । आगलागीबाट घरभित्रको अन्नपात, लुगाकपडा सबै नष्ट भएका छन् । ‘लुगाकपडा, अन्नपात, सम्पत्ति सबै जलेर नष्ट भयो । हामी अलपत्र पर्‍यौँ,’ गाउँका भल्मन्सा हिंगुराम चौधरीले भने, ‘सडकमा बसेका छौँ, ओत लाग्ने ठाउँ पनि बाँकी रहेन ।’ 

बस्तीमा एकाएक आगो सल्किएपछि ज्यान जोगाउन भागाभाग भएको थियो । काठले बनेका घरमा हावासँगै आगो तीव्र रूपमा फैलिएकाले स्थानीयले घरभित्रको सरसामान पनि निकाल्न सकेनन् । पीडित विपतकुमारी चौधरीले अन्नपात, लुगाकपडा, गरगहना सबै खरानी भएको बताइन् । ‘दिउँसो घरभित्र थियौँ । एक्कासि बस्तीमा आगो फैलियो,’ उनले भनिन्, ‘ज्यान जोगाउनै मुस्किल भयो, सामान कसरी जोगाउनु ?’ 

घरभित्रबाट सामान निकाल्न खोज्दा आफ्नो शरीरमा पनि आगो सल्किएको विपतकुमारीले बताइन् । ‘गरगहना लिन खोजेकी थिएँ । लगाएको लुगामा आगोले भेट्टायो, मलाई अरूले पाखुरा समातेर निकालेपछि बाँचेँ,’ उनले दुःख पोखिन्, ‘सबै खरानी भयो, अब कसरी बाँच्ने ?’ उनको पाँचजनाको परिवार अलपत्र परेको छ ।ठूलो भौतिक क्षति भए पनि भाग्यवश मानवीय क्षति भने नभएको भल्मन्सा चौधरीले बताए । दिउँसोको समय भएकाले ज्यान जोगाउन सकिएको उनले बताए । ‘हावा चलेको थियो । आगो एकाएक फैलियो,’ उनले भने, ‘मान्छे बचाउनै मुस्किल भयो, सामान बचाउन सम्भव थिएन ।’ शिविरमा रहेका सबैजसो घर काठ र माटोका थिए । स्थानीयका अनुसार कतिपय घर खरले छाएका थिए । जंगल नजिक भएकाले बस्तीवरिपरि पनि काठ थिए । काठका मुडामा सल्केको आगो साँझसम्म पनि ननिभेको स्थानीयले बताएका छन् ।

आगो निभाउन धनगढी उपमहानगरपालिका, घोडाघोडी र टीकापुर नगरपालिकासहित कञ्चनपुरबाट समेत दमकल र कैलारी गाउँपालिकाको जेसिबी प्रयोग गरिएको थियो । झन्डै पाँच घन्टापछि आगो नियन्त्रणमा आएको स्थानीयले बताए । गहुँको नलमा लगाइएको आगो ह्वारह्वार दन्केर बस्तीमा पुगेको थियो । प्रायः खर र टिनको छानो रहेको बस्तीमा आगलागी भएपछि नियन्त्रणबाहिर गएको हो । मुक्त कमैयाले लत्ताकपडासमेत जोगाउन नसकेको वडाध्यक्ष कमलप्रसाद चौधरीले बताए । दिउँसोको समयमा हावा पनि चलेकाले आगो एकाएक फैलिएको उनले बताए । कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले आगलागीबाट करोडौँको क्षति भएको बताए । ‘शरीरमा लगाएको कपडाबाहेक केही जोगाउन सकेनन्,’ उनले भने । भाग्यवश मानवीय क्षति भने नभएको उनले बताए । क्षतिको यकिन विवरण अब संकलन गरिने अध्यक्ष चौधरीले बताएका छन् । 

 सडकमा पुगे मुक्त कमैया
आगलागीबाट घर जलेर खरानी भएपछि मुक्त कमैयाको बिचल्ली भएको छ । उनीहरू घरविहीन भएका छन् । केही परिवार स्थानीय बड्कवा आधारभूत विद्यालयमा बसेका स्थानीय विनोद चौधरीले बताए । कतिपय परिवार अबेर रातिसम्म सडकमै छन् । गाउँपालिकाले तत्काल एक–दुई छाक पुग्ने गरी प्रत्येक परिवारलाई चामल दिएको छ । झुल पनि वितरण गरिएको अध्यक्ष चौधरीले बताए । 

कैलालीका सिडिओ किरण थापाले बस्तीमा भीषण आगलागी भएको र प्रदेशको सामाजिक विकास मन्त्रालय, विपत् व्यवस्थापन समिति तथा रेडक्रसको सहयोगमा त्रिपाल, लुगाकपडा र भाँडाकुँडा पठाइएको बताए । ‘भीषण आगलागी भएको छ । गाउँपालिकालाई तल्कालका लागि खाद्यान्न व्यवस्था गर्न भनेका छौँ । जिल्लाबाट त्रिपाल, भाँडाकुँडा, लुगाकपडा पठाएका छौँ,’ बस्तीको स्थलगत निरीक्षण गरेका उनले भने, ‘क्षतिको विवरण संकलन भएपछि अन्य राहत उपलब्ध गराउँछौँ ।’

आगलागीमा पाँच घर जले 
 दाङको राजपुर गाउँपालिका वडा नं.७ स्थित गन्धौला नाकामा आगलागी हुँदा ५ घर जलेर नष्ट भएका छन् । नेपाल–भारत सीमा अन्तर्गत उक्त नाकामा दिउसो ३ बजेदेखि आगलागी हुँदा त्यहाँ ५ घर जलेर नष्ट भएको स्थानीय सुन्तली विकले जानकारी दिइन् । उनका अनुसार भारतीय जंगलमा आगलागी भएको र त्यहाँबाट आएको झिल्काले उनीहरूको बस्तिको जंगलमा समेत आगलागी भएको थियो । आगलागीबाट सोही ठाउँका  जिबलाल विक, निमबहादुर पनु, गणेश पुन, बने पुन र रामबहादुर पुनको घर तथा बाख्रा र गाई गोठ जलेर नष्ट भएको हो ।