१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
जिल्ला ब्युरो नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o६:२७:oo
Read Time : > 5 मिनेट
ad
ad
फ्रन्ट पेज

चुनाव लड्न जनप्रतिनिधि मात्रै होइन, एसएसपीदेखि उपसचिवसम्मको राजीनामा

Read Time : > 5 मिनेट
जिल्ला ब्युरो, नयाँ पत्रिका
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o६:२७:oo

फेरि चुनाव लड्न धमाधम राजीनामा गर्दै जनप्रतिनिधि, सरकारी कर्मचारी पनि जनप्रतिनिधि बन्ने दौडमा

शुक्रबारसम्म ७४ वडाध्यक्ष, तीन जिल्ला समन्वय समितिका सदस्य र १०२ वडासदस्यले पनि दिए राजीनामा

  • बागमती र मधेसका एक– एक सांसदले दिए राजीनामा
  • भरतपुर महानगरका मेयरसहित चितवनका ५३ जनप्रतिनिधिले त्यागे पद
  • हेटौँडाका ३६ जनप्रतिनिधिले पनि दिए राजीनामा

स्थानीय तहको चुनावमा उम्मेदवार बन्न जनप्रतिनिधिसँगै बहालवाला एसएसपी, उपसचिव, प्राध्यापक, शिक्षकलगायतले धमाधम राजीनामा दिइरहेका छन् । शुक्रबारसम्म दुई प्रदेश सांसद, एक महानगर मेयरसहित करिब दुई सय जनप्रतिनिधि, एक एसएसपी, एक उपसचिव, एक अधिकृत, त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापकसहित करिब दुई दर्जन शिक्षकले राजीनामा दिइसकेका छन् । ७४ वडाध्यक्ष, तीन जिल्ला समन्वय समितिका सदस्य र १०२ वडासदस्यले पनि राजीनामा दिएका छन् ।

निर्वाचन आयोगले आगामी ३० वैशाखको स्थानीय निर्वाचनमा उम्मेदवार बन्ने बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था गरेको छ । जसअनुसार राजीनामा दिने क्रम बढिरहेको छ । बागमती प्रदेश सभामा चितवनबाट प्रतिनिधित्व गरेका एमाले सांसद विजय सुवेदी र मधेस प्रदेशका जसपा सांसद शेष अब्दुल कलाम अजाद (फुलबाबु)ले राजीनामा गरिसकेका छन् । त्यस्तै, भरतपुर महानगरकी मेयर रेनु दाहालले पनि शुक्रबार राजीनामा दिएकी छिन् । 

०७४ को प्रदेश सभा निर्वाचनमा रौतहटको क्षेत्र नम्बर ४ (ख)बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका कलाम पछिल्लो समय जसपामा सक्रिय छन् । उनले गढीमाई नगरपालिकाको मेयर पदमा उम्मेदवार बन्न सांसद पदबाट राजीनामा दिएको बताए ।

चितवनमा प्रदेश सांसद, महानगर मेयरसहित ५३ जनप्रतिनिधिले त्यागे पद
स्थानीय चुनाव लड्न चितवनबाट निर्वाचित एक प्रदेश सांसद, भरतपुर महानगरकी मेयरसहित ५३ जनप्रतिनिधिले राजीनामा दिएका छन् । राजीनामा दिनेमा बागमती प्रदेश सभामा एमाले सांसद विजय सुवेदी, भरतपुर महानगरकी मेयर रेनु दाहाल छन् । सुवेदी एमालेबाट र दाहाल सत्तागठबन्धनबाट मेयरको उम्मेदवार बन्दै छन् । 

चितवनकै इच्छाकामना गाउँपालिका अध्यक्ष गीता गुरुङ र उपाध्यक्ष कृतिकुमार श्रेष्ठले पनि राजीनामा दिएका छन् । त्यस्तै, भरतपुर महानगर– ६ का अध्यक्ष हरिविलास कोइराला, ७ का अध्यक्ष राजेन्द्रमणि काफ्ले, ९ का अध्यक्ष यमलाल कँडेल, १२ का अध्यक्ष नरेन्द्र कन्दङ्वा, १३ का अध्यक्ष प्रकाश दवाडी, १४ का अध्यक्ष ओमप्रसाद पोख्रेल, १५ का अध्यक्ष शम्भुबहादुर भण्डारी, १६ का अध्यक्ष अमृत हमाल, २१ का अध्यक्ष चित्रसेन अधिकारी, २२ का अध्यक्ष विष्णुराज महतो, २५ का अध्यक्ष विजयकुमार भुजेल, २६ का अध्यक्ष ज्ञानप्रसाद खनाल, २९ का अध्यक्ष मानबहादुर मगरले पनि राजीनामा दिएका छन् । 

चितवनकै राप्ती नगरपालिका– १ का अध्यक्ष सिद्धिलाल स्याङ्तान, २ का श्यामसुन्दर उप्रेती, ४ का शमशेर लामा, ५ का मेनका पाठक, ६ का जल्लु महतो, ७ की सुमिता डल्लाकोटी, ९ का देवेन्द्र लामा, १० का अम्मरबहादुर तामाङ र १२ का अध्यक्ष अर्जुन चेपाङले पनि राजीनामा दिएका छन् । त्यस्तै, इच्छाकामना गाउँपालिका– १ का अध्यक्ष नन्दलाल गिरी, ५ का मदराज सिलवाल, ७ का बमबहादुर थापा, माडी नगरपालिका– ८ का अध्यक्ष कृष्णराज अधिकारी र कालिका नगरपालिका– ११ का अध्यक्ष कृष्णबहादुर प्रजाले पनि पद त्यागेका छन् ।

कैलालीको घोडाघोडी नगरका मेयरले पनि दिए राजीनामा
कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीले पनि राजीनामा दिएका छन् । उम्मेदवारको टुंगो नलागिसके पनि उनी एमालेका प्रमुख दाबेदार हुन् । मेयर दोहोर्‍याउन चाहेका चौधरीले शुक्रबार उपमेयर प्रेमा थापालाई राजीनामा बुझाएका हुन् । 

एमालेबाट निर्वाचित घोडाघोडी– १ का वडाध्यक्ष मनराज शाही, ५ का अध्यक्ष प्रेम रोकाया, ९ का अध्यक्ष कृष्ण शाह र कांग्रेसबाट निर्वाचित ८ का वडाध्यक्ष भीम बोगटीले पनि राजीनामा दिएका छन् । कैलालीकै गौरीगंगा नगरपालिका– ९ का वडाध्यक्ष हरिप्रसाद तिवारीले पनि पद त्यागेका छन् । 

दमककी उपमेयरले पद त्यागिन्, मेयरमा लड्ने आकांक्षा
दमक नगरपालिकाकी उपमेयर गीता अधिकारीले पनि पद त्यागेकी छिन् । ०७४ को निर्वाचनमा एमालेबाट निर्वाचित उनले मेयरमा दाबी गरिरहेकी छिन् । उनले शुक्रबार मेयर रोमनाथ ओलीलाई राजीनामा बुझाएकी छिन् । एमाले नगर कमिटीले मेयरका लागि अधिकारीको नाम पनि माथिल्लो कमिटीमा सिफारिस गरेको छ । ‘आइतबार नोमिनेसन नै छ । शनिबार कार्यालय बिदा हो । त्यही भएर शुक्रबार नै मेयरसा’बसमक्ष राजीनामा दिएको हुँ,’ अधिकारीले भनिन् । 

झापाकै गौरीगन्ज गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिने आकांक्षासहित बहालवाला उपाध्यक्ष दीपेन्द्र थापाले पनि राजीनामा दिएका छन् । ‘पाँच वर्ष उपाध्यक्षमा काम गरेको अनुभवका आधारमा अध्यक्षको स्वाभाविक दाबेदार हुँ । त्यसैले राजीनामा दिएको हुँ,’ उनले भने । शिवसताक्षी– ८ का वडाध्यक्ष केहरसिंह बस्नेतले २८ चैतमै पदबाट राजीनामा दिए ।

हेटौँडाका ३६ जनप्रतिनिधिले दिए राजीनामा
स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न हेटौँडा उपमहानगरपालिकाअन्तर्गतका ३६ जनप्रतिनिधिले राजीनामा दिएका छन् । राजीनामा दिनेमा नौजना वडाध्यक्ष र ३६ सदस्य छन् । २ नम्बर वडाध्यक्ष हरि राउत, ३ का रामकुमार पुडासैनी, ४ का नवीन सिग्देल, ७ का राजन थापा, ९ का लक्ष्मण भण्डारी, १२ का ललित घलान, १४ का दीपक खड्का, १८ का अनिल बानियाँ र १९ का नरनाथ सुवेदीले राजीनामा दिएका छन् । बाग्लुङको बाग्लुङ नगरपालिका– ११ का अध्यक्ष ज्ञानेन्द्र गौतमले पुनः वडाध्यक्षमै उम्मेदवार बन्न राजीनामा दिएका छन् ।

त्यस्तै, काभ्रेको बेथानचोक गाउँपालिका– २ का वडाध्यक्ष भगवान घिमिरेले पनि राजीनामा दिएका छन् । आसन्न निर्वाचनमा गाउँपालिका अध्यक्षको उम्मेदवार बन्न आफूले राजीनामा दिएको घिमिरेले बताए । 

संखुवासभाको पाँचखपन नगरपालिकाका मेयर विपिन राईले राजीनामा दिएका छन् । कांग्रेसबाट निर्वाचित उनी आउँदो निर्वाचनमा मेयर दोहोर्‍याउने आकांक्षामा छन् । जिल्ला समन्वय समितिका सदस्य कृष्णकुमार तामाङले एमालेबाट चैनपुर नगरपालिकाका मेयर पदमा उम्मेदवार बन्न पद त्यागेका छन् । सभापोखरी गाउँपालिका अध्यक्ष रत्न सुब्बा र मकालु गाउँपालिका उपाध्यक्ष चमेली राईले पनि राजीनामा दिएका छन् । दुवै दोहोर्‍याउने तयारीमा छन् । विराटनगर महानगरपालिकाका १५ जना वडाध्यक्षसहित ८१ जनप्रतिनिधिले राजीनामा दिएका छन् । 

त्यस्तै, रसुवाको आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ, उपाध्यक्ष नवीना तामाङ, वडा नम्बर २ का वडाध्यक्ष दावा नोर्चु तामाङ, ५ का वडाध्यक्ष टासी छेवाङ तामाङले चुनाव लड्न राजीनामा दिएका छन् । 

जुम्लाको गुठीचौर गाउँपालिका– १ का वडाध्यक्ष गणेश ऐडीले पदबाट राजीनामा दिएका छन् । ०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित ऐडी अहिले एकीकृत समाजवादीमा छन् । सिँजा गाउँपालिका– १ का वडाध्यक्ष रणबहादुर रोकाया, ४ का धनबहादुर बुढा, तातोपानी गाउँपालिका– ३ का वडाध्यक्ष डिल्ली रावल, चन्दननाथ नगरपालिका– ६ का वडाध्यक्ष अजबहादुर रावलले पनि पद त्यागेका छन् । लमजुङको मर्स्याङ्दी गाउँपालिका– ४ का वडाध्यक्ष सुमन गुरुङले राजीनामा दिएका छन् । उनी पुनः एमालेबाट वडाध्यक्षमा उम्मेदवार बन्ने तयारीमा छन् ।

उपसचिव र शाखा अधिकृतबाट राजीनामा दिएर चुनावी मैदानमा
निजामती सेवाका एक उपसचिव र एक शाखा अधिकृतले पनि राजीनामा दिएर मेयरको प्रतिस्पर्धामा अघि बढ्ने तयारी गरेका छन् । उपसचिव विष्णुराज भुसालले नवलपरासी (पूर्व) को देवचुली नगरपालिका र शाखा अधिकृत कञ्चनराज गिरीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाबाट मेयरमा उम्मेदवारी घोषणा गरेका छन् । २२ वर्षे निजामती सेवाबाट राजीनामा दिएर उपसचिव भुसाल मेयरको प्रतिस्पर्धामा अघि बढेका हुन् । उनी कांग्रेसबाट मेयरका लागि सिफारिस पनि भएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा रहेका भुसालले शुक्रबार मन्त्रालयमा राजीनामा बुझाएको बताए । यसअघि डेढ वर्ष उनी सोही नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत भएर काम गरेका थिए । ‘निजामती सेवामा रहँदा मैले स्थानीय विकास अधिकारी र प्रमुख प्रशासकीय अधिकृत भएर लामो समय काम गरेँ । अध्ययनको विषय पनि प्रशासन नै हो,’ उनले भने, ‘मैले निजामती सेवामा रहेर गरेका कामका कारण यहीँका स्थानीयले पनि प्रेसर गरेका छन् ।’ नागरिक सन्तुष्ट हुने गरी सेवा गर्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको उनले बताए । 

लोकसेवामा प्रतिस्पर्धा गरेर २२औँ पटकमा अधिकृतमा नाम निकालेका कञ्चनराज गिरीले सेवा सुरु गरेको पाँच महिना नपुग्दै राजीनामा दिएर निर्वाचनमा होमिएका छन् । उनले लोकसेवा पास गरेर गत ३० कात्तिकमा नियुक्तिपत्र बुझेका थिए । १ मंसिरदेखि विद्युत् प्राधिकरणमा हाजिर भएका गिरीले गत २४ चैतमा मेयरमा उठ्न भन्दै राजीनामा बुझाएका छन् । 

एसएसपीको जागिर छाडेर मेयरको तयारी
दुई महिनाअघि नेपाल प्रहरीको एसएसपीबाट राजीनामा दिएका गोविन्दकुमार साह मेयरको प्रतिस्पर्धामा उत्रने तयारीमा छन् । हाल उनी कांग्रेस राजनीतिमा सक्रिय छन् । धनुषाको विदेह नगरपालिकाको मेयरमा उठ्ने उनको तयारी छ ।

‘मेयरमा पार्टीको नगर कार्यसमितिबाट मेरो नाम पनि सिफारिस भएको छ,’ उनले भने, ‘हेरौँ पार्टीले के निर्णय गर्छ ।’ एक वर्ष जागिर बाँकी भए पनि राजनीतिमा लाग्ने रहरले नै आफूले राजीनामा दिएको उनको भनाइ छ । संघीय प्रहरी कार्यालय धरानमा रहेका वेला उनले राजीनामा दिएका थिए । 

त्रिविका प्राध्यापकसहित २० शिक्षकको राजीनामा
पोखरा महानगरको मेयरमा उम्मेदवार बन्ने योजनासहित त्रिभुवन विश्वविद्यालयमा कार्यरत समाजशास्त्रका प्राध्यापक डा. विश्वकल्याण पराजुलीले पनि पद त्यागेका छन् ।

साढे तीन वर्ष सेवाअवधि बाँकी रहँदै उनले मेयरमा उठ्न गत चैत अन्तिम साता राजीनामा दिएका थिए । पराजुली पोखरास्थित पृथ्वीनारायण क्याम्पसको समाजशास्त्र विभागका प्रमुखसमेत थिए । उनी एमालेबाट टिकटको पर्खाइमा छन् ।

त्यस्तै, चुनाव लड्ने उद्देश्यले ओखलढुंगाका २० शिक्षकले पनि जागिरबाट राजीनामा दिएका छन् । राजीनामा दिनेमा जन्तरखानी माविका प्रधानाध्यापक मेखबहादुर मगर, देवी आधारभूत विद्यालय मानेभञ्ज्याङका शिक्षक रामचन्द्र महतो, सरस्वती आधारभूत विद्यालय रावादोलुका रामबहादुर बस्नेत, कालिका आधारभूत विद्यालय आहालेका चन्द्र कटुवाल, जेसे मावि जेसेपात्लेका गुञ्जबहादुर सुनुवार, बालज्योति मावि चित्रेका मधुकरप्रसाद चौधरी छन् ।

यस्तै, हिमगंगा मावि रावादोलुका डिल्लीराम बस्नेत, तिलक विश्वकर्मा र टोपबहादुर बस्नेत, हर्कपुर मावि मानेभञ्ज्याङका गोविन्दप्रसाद अधिकारी, कालिका आधारभूत विद्यालय चुहानछापका जयकुमार कार्की, कालिका आधारभूत विद्यालयका भालुथुम्काका शिक्षक युवराज घिमिरे, सोडान्तर आधारभूत विद्यालय मानेभञ्ज्याङका होमप्रसाद दाहाल, भूमेथान आधारभूत विद्यालयका तोयानाथ काफ्ले, चञ्चला आधारभूत विद्यालय खोदम्पाका बालकुमार खड्का र जन्तरखानी मावि जन्तरखानीका शंखवीर राईले राजीनामा दिएका हुन् ।

ad
ad