मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख ४ आइतबार १९:००:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अफगानिस्तानमा समावेशी सरकार गठन होस् : इरान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख ४ आइतबार १९:००:००

इरानले तालिबान नेतृत्वको अफगानिस्तानमा समावेशी सरकार गठन गर्न आह्वान गरेको छ । इरानका विदेशमन्त्री होसेन अमिर–अब्दुल्लाहियनले यो आह्वान गरेका हुन् ।

‘हामी अफगानिस्तानको अन्तरिम सरकारलाई त्यसवेला मात्रै मान्यता दिन्छौँ जतिवेला त्यहाँ समावेशी सरकार गठन हुन्छ । यो सर्तमा हामी स्पष्ट छौँ,’ विदेशमन्त्री होसेनलाई उद्धृत गर्दै अफगानिस्तानको टोलो न्युजले आइतबार समाचार दिएको छ । तालिबान सरकारलाई इरानले हालसम्म मान्यता दिएको छैन ।

काबुलमा, विकास र न्याय नामको  पार्टीले वर्तमान अफगान सरकारलाई समावेशी मान्न नसकिने स्पष्ट पारेको छ । उक्त पार्टीले इस्लामिक इमिरेट्सलाई अफगानिस्तानमा देशका सबै जातीय समूहको हिस्साको आधारमा सरकार स्थापना गर्न आह्वान गरेको छ । अफगानिस्तानभित्रै समावेशी सरकारका पक्षमा उठेका आवाजको पृष्ठभूमिमा इरानले त्यसमा जोड दिएको हो ।

‘हामी अफगानिस्तानको इस्लामिक इमिरेट्सलाई अन्तर्राष्ट्रिय समुदायको जायज मागप्रति सकारात्मक प्रतिक्रिया दिन आग्रह गर्छौं’ अफगानिस्तानको विकास र न्याय पार्टीका नेता सैयद जावेद होसेनीले भनेका छन् । हुसेनीले मानवअधिकार उल्लंघन र इस्लामिक इमिरेट्सद्वारा माफी आदेशको उल्लंघनको पनि आलोचना गरेका छन् ।

गत वर्ष अगस्टमा अफगान सरकारको पतन र तालिबान सत्तामा फर्किएपछि अफगानिस्तानमा मानवअधिकारको अवस्था बिग्रिएको आरोप लाग्दै आएको छ । तालिबानले गैरन्यायिक मृत्युदण्ड, जबर्जस्ती बेपत्ता, यातना, स्वेच्छाचारी नजरबन्द, महिला र बालिकाहरूको अधिकारमा बन्देज, सेन्सरसिपलगायत मिडियाविरुद्ध आक्रमण गर्दै आएको छ ।