१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
स्थानीय महिलाले पालन गरेका खसी–बोका बिक्रीका लागि लगिँदै ।
२o८१ बैशाख २० बिहीबार o८:३८:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

बाख्रापालनतर्फ महिला आकर्षित 

स्थानीय तह र हेफरको सहकार्यमा साढे १९ करोडको परियोजना

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:३८:oo

धुर्कोट गाउँपालिका–२, पीपलधाराकी निरू घर्तीले व्यावसायिक बाख्रापालन गर्न थालेको चार वर्ष भयो । सुरुमा एक माउ बाख्रा ल्याएर सुरु गरेकी उनलाई व्यावसायिक बाख्रापालनको मोह पलाएपछि प्रत्येक वर्ष बाख्रा बढाउँदै गइन् । अहिले उनले २४ वटा माउ र पाठापाठी गरेर ३९ वटा बाख्रा पालेकी छिन् । दुई छोराहरूलाई बुटवलमा पढाएकी उनलाई अहिले घरखर्चका लागि विदेशमा रहेका श्रीमान्को भर पर्नुपरेको छैन । बाख्रापालबाट उनले गत वर्ष दुई लाख ५० हजार आम्दानी गरिन् । हेफर प्रोजेक्ट नेपाल र स्थानीय पालिकाको साझेदारीमा सञ्चालित सामुदायिक विकासका लागि बाख्रा उद्यम परियोजनाको सहयोगमा उनले बाख्रापालन गरेकी हुन् । ‘परियोजनाले व्यवसायी बन्ने उत्प्रेरणा थप्यो । खोर, घाँसलगायत प्राविधिक सहयोग पनि गर्दै आएको छ,’ उनले भनिन्, ‘मजस्ता धेरै महिला परनिर्भरताबाट मुक्त छन् ।’ 

धेरै पशुपालक किसानको घाँस अभावका कारण व्यवसाय संकटमा पर्ने गरेको छ । तर,  परियोजनाले घाँसको स्रोत केन्द्र निर्माण गरेर पशुपालनका लागि आवश्यक उन्नत जातको घाँस उत्पादन गर्ने उद्यमीहरू बढाउन थालेको छ । पछिल्लो समय पशुपालन व्यवसायी बढेसँगै घाँसको व्यावसायिक खेती गर्ने उद्यमीहरू पनि थपिन थालेका छन् । ०७४ सालदेखि घाँसका बिरुवाको व्यवसाय सुरु गरेका इस्मा गाउँपालिका–५ का चन्द्रप्रसाद भुसालले वार्षिक दुई लाख कमाउँदै आएका छन् । अहिले भुसालको नर्सरीमा ५० हजार किम्बुलगायतका उन्नत जातका बिरुवा रहेका छन् । पाँच स्थानीय तहमा पशुपालक महिला उद्यमीलाई घाँसमा आत्मनिर्भर बनाउन ४५ रोपनीमा १४ वटा घाँसका नर्सरी स्थापना गरिएको पशु वस्तुहरूको मूल्यशृंखलामा आधारित साना किसानहरूको संस्था सबलीकरण परियोजनाका परियोजना संयोजक भरत भण्डारीले जानकारी दिए । 

करिब साढे १९ करोडको परियोजना

गुल्मीका पाँच स्थानीय तहका कृषि र पशुपालनमार्फत महिलाहरूको आर्थिक तथा सामाजिक जीवनमा परिवर्तन ल्याउन करिब साढे १९ करोडको सामुदायिक विकासका लागि बाख्रा उद्यम परियोजना कार्यान्वयनमा छ । जसले करिब १५ हजार महिलाहरूलाई समूह र सहकारीमा आबद्ध गर्दैै बाख्रापालनतर्फ आकर्षित गराएको छ । मुसिकोट नगरपालिका, धुर्कोट गाउँपालिका, मदाने गाउँपालिका, इस्मा र मालिका गाउँपालिकामा परियोजना सञ्चालित छन् । हेफर प्रोजेक्ट नेपाल र स्थानीय तहको साझेदारीमा परियोजना सञ्चालन भएको हो । परियोजना सञ्चालन गर्न पाँच स्थानीय तहले १४ करोड ४८ लाख र हेफर प्रोजेक्ट नेपालको तर्फबाट चार करोड ९७ लाख गरी कुल १९ करोड ४४ लाखको सम्झौता भएको हेफर प्रोजेक्ट नेपालका वरिष्ठ कार्यक्रम प्रबन्धक प्रेम साम्ब्यूले जानकारी दिए । 

सबै पालिकामा एउटै मोडल

 साझेदारीमा सञ्चालित बाख्रा उद्यम परियोजना एउटै मोडलमा सञ्चालित छन् । परियोजना र मुसिकोट नगरपालिकासँगको साझेदारीमा चार करोड ३२ लाख, मालिका गाउँपालिकासँगको साझेदारीमा तीन करोड ६७, इस्मा गाउँपालिकासँगको साझेदारीमा तीन करोड २८ लाख विनियोजन भएको हेफर नेपालका सहनिर्देशक दुर्गा केसीले जानकारी दिए । त्यस्तै, धुर्कोट गाउँपालिकासँगको साझेदारीमा चार करोड ४८ लाख र मदाने गाउँपालिकासँगको साझेदारीमा चार करोड ३९ हजार परियोजनामार्फत कृषि र पशु विकासका लागि विनियोजन गरिएको छ । 

उत्साहित स्थानीय सरकार

हेफर प्रोजेक्ट नेपाल र स्थानीय तहको साझेदारीमा सञ्चालित बाख्रा विकास परियोजनाले किसान मात्रै नभएर जनप्रतिनिधिलाई पनि उत्साहित बनाएको छ । मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले पाँचवर्षे कार्यकालको ठूलो उपलब्धिका रूपमा परियोजनालाई लिएका छन् । 

‘सीमित स्रोत र साधनका बीच नागरिकका असीमित चाहना एकैचोटि पूरा गर्न सकिएन । तर, स्थानीय तह र परियोजनाको साझेदारीमा कार्यान्वयन भएको कृषि र पशु विकास कार्यक्रम निकै प्रभावकारी रह्यो,’ उनले भने, ‘महिलाहरूको आर्थिक तथा सामाजिक रूपान्तरण पहिलो कुरा भएकाले मलाई कुनै पश्चात्ताप छैन ।’ इस्मा गाउँपालिका उपप्रमुख विमला खत्रीले बोल्न नसक्ने महिलाहरूले आफ्नो कुरा राख्ने, घरखर्चका लागि पनि कमाउने श्रीमान्को मुख ताक्नुपर्ने र घरबाट बाहिर निस्कन नसक्ने महिलाहरूमा आएको परिवर्तनले निकै खुसी लागेको बताइन् । ‘महिलाहरूको खुसी र आत्मनिर्भरतालाई मूल्य र प्रमाणमा मापन गरेर हुँदैन ।

ad
ad