१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ४ आइतबार
  • Saturday, 28 September, 2024
२o७९ बैशाख ४ आइतबार o८:२९:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

५० प्रतिशत छुट दिँदा पनि सिमरा सेजमा उद्योग खोल्न न्यून प्रस्ताव

६८ प्लटमध्ये २७ मा उद्योग खोल्न नौको मात्रै प्रस्ताव  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख ४ आइतबार o८:२९:oo

नेपालकै सबैभन्दा ठूलोे सिमरा सेज उद्योग स्थापनाका लागि तयार भएको छ । आठ सय ३२ बिघा क्षेत्रफलमध्ये ए ब्लकको तीन सय ४३ बिघा क्षेत्रफलमा ६८ वटा प्लट उद्योगका लागि तयार गरिएको हो । 

विशेष आर्थिक क्षेत्रमा यसअघि पनि उद्योग स्थापनाका लागि प्रस्ताव आह्वान गरिएकोमा उद्योगीले भाडादर महँगो भएको भन्दै प्रस्ताव नै पेस गरेनन् । त्यसमाथि पनि निर्यात गर्नुपर्ने बाध्यकारी नियमले समेत उद्योगीहरू हच्किए । 

यसपटक सोही भाडादरमा ५० प्रतिशत छुट र निर्यातका लागि दुुई वर्षको समयावधि दिई प्रस्ताव आह्वान गरिएको थियो । प्राधिकरणले एक महिनाको समयावधि दिएर उद्योगीहरूलाई उद्योग खोल्न आह्वान गरेका ६८ वटा प्लटमध्ये २७ वटा प्लटमा उद्योग खोल्न नौ उद्योगले मात्र प्रस्ताव पेस गरेको प्राधिकरणले जनाएको छ ।
निर्यात प्रवद्र्धन गर्न उद्योग स्थापना गर्ने उद्देश्यले सरकारले करिब एक अर्ब ३७ करोड लगानीमा  बाराको सिमरामा सेज तयार गरेको हो । सिमरा सेजमा विद्युत्, सडक, खानेपानी, प्रशासनिक भवन, बैंक, बिमा, हुलाक, स्वास्थ्य चौकी, भन्सार, आवास, मुख्यद्वार, प्रदर्शनी हल, सुरक्षा चौकी, चमेनागृह, बालबालिकाका लागि ‘डे केयर’, सार्वजनिक शौचालयलगायतका आवश्यकीय सबै संरचना निर्माण सम्पन्न भएको सेज प्राधिकरणले जनाएको छ ।

सिमरा सेजका सबइन्जिनियर आनन्द भट्टले ए ब्लकभित्र सबै भौतिक संरचना बनेको बताउँदै अब उद्योगहरू आएर बस्न चाहेको खण्डमा सबै सुविधा उपलब्ध हुने जानकारी गराए । 

सेजभित्रकै अन्य ब्लकमा उद्योगका लागि पर्खाल, तटबन्धलगायतका काम धमाधम भइरहेको छ । सरकारले निर्यात प्रवद्र्धन, व्यापार घाटा कम गराउन र देशमै रोजगारी सिर्जना गर्न सातै प्रदेशसहितका मुलुकभर १४ वटा सेज घोषणा गरे पनि भैरहवापछि सिमरा सेज तयार भएको हो ।

बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साहले सेजमा उत्पादन भएकामध्ये ६० प्रतिशत सामग्री विदेश निर्यात गर्नुपर्ने बाध्यात्मक अवस्था हटाएर आन्तरिक खपत हुने खालका उद्योग सञ्चालनमा प्रोत्साहन गरे मात्र उद्योगहरू सेजतर्फ आकर्षित हुने बताए । 

दशकयता विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर०सहित निर्माण थालिएको सिमरा सेजमा नेपाल सरकारको करिब पाँच अर्ब लगानी भइसकेको छ । ०५९ सालमा वीरगन्ज चिनी मिल बन्द भएपछि मन्त्रिपरिषद्को निर्णयमार्फत चिनी मिलको जग्गालाई उद्योग मन्त्रालयमातहतमा राखी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र सञ्चालनमा ल्याउने गरी ०७४ साल १८ चैतमा शिलान्यास गरेका थिए ।

सेजमा स्थापना हुने उद्योगले जग्गा वा भवनको बहालमा पहिलो, दोस्रो र तेस्रो वर्षमा क्रमशः ५०, ४० र २५ प्रतिशत छुट पाउनेछन् । यस्तै, यस्ता उद्योगलाई आयकरमा समेत छुट हुनेछ । जसअनुसार उद्योगले कारोबार सुरु गरेको पाँच वर्षसम्म शतप्रतिशत र त्यसपछि ५० प्रतिशत छुट पाउनेछन् । लाभांशमा लाग्ने करमा पाँच वर्षसम्म शतप्रतिशत र त्यसको तीन वर्षसम्म ५० प्रतिशत छुट हुने व्यवस्था रहेको छ भने अन्यत्रबाट सेजमा स्थानान्तरण हुने उद्योगले पनि यो छुट सुविधा पाउनेछन् । सेजमा रहेका उद्योगले नेपालबाहिर निर्यात गरेको वस्तु तथा सेवा एवं सेजभित्रै रहेका उद्योगलाई बिक्री गर्ने कच्चा पदार्थमा समेत मूल्य अभिवृद्धि करमा शतप्रतिशत छुट पाउने व्यवस्था गरेको छ । यस्तै, भन्सार महसुलमा पनि छुटको व्यवस्था छ भने सेजभित्रै रहेका उद्योगलाई बिक्री गरेको अवस्थामा समेत निर्यातसरह सुविधा पाउने व्यवस्था गरेको छ ।