१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ३० बुधबार
  • Sunday, 11 May, 2025
कृष्ण रिजाल काठमाडाैं
२o७८ चैत ३० बुधबार o६:१७:oo
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

विदेशी लगानी आप्रवाह ६० प्रतिशतले बढ्यो

आयात वृद्धिदर घट्यो, निर्यात वृद्धि लयमै, रेमिट्यान्समा सामान्य सुधार, पर्यटन आय बढ्यो, तर भुक्तानी सन्तुलन भने अझै साढे दुई खर्ब घाटामा

Read Time : > 3 मिनेट
कृष्ण रिजाल, काठमाडाैं
नयाँ पत्रिका
२o७८ चैत ३० बुधबार o६:१७:oo

नेपालमा विदेशी लगानी आप्रवाह उच्चदरमा बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको आठ महिनामा नेपालमा १६ अर्ब ३० करोड रुपैयाँ विदेशी लगानी भित्रिएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको आठ महिनामा १० अर्ब १८ करोड रुपैयाँ विदेशी लगानी भित्रिएको थियो । गएको वर्षको तुलनामा यो आठ महिनामा ६ अर्ब १२ करोड रुपैयाँभन्दा बढी विदेशी लगानी भित्रिएको हो । भुक्तानी सन्तुलन उच्च घाटामा रहेका वेला विदेशी लगानी बढ्नुले राम्रो सन्देश जाने राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन् ।

 लगानी प्रतिबद्धता ३१ प्रतिशतले बढ्यो
पछिल्लो समय विदेशी लगानी प्रतिबद्धतासमेत उच्चदरमा बढेको छ । फागुन मसान्तसम्ममा उद्योग विभागमा ३३ अर्ब ३८ करोड वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.३ प्रतिशतले बढी हो । त्यस्तै, ०७८ माघ मसान्तसम्म लगानी बोर्ड नेपालमार्फत ८२ अर्ब ४७ करोड रुपैयाँबराबरको वैदेशिक लगानी स्वीकृत भएको छ ।

 आयात वृद्धिदर घट्यो, निर्यात वृद्धि लयमै 
फागुन महिनामा आयातको वृद्धिदर घटेको देखिएको छ । माघ महिनामा आयातको वृद्धिदर ४२.८ प्रतिशत रहेकोमा फागुनमा आइपुग्दा यस्तो वृद्धिदर ३८.६ प्रतिशतमा झरेको छ । यद्यपि, आयातको आकार भने उच्च रहेको देखिन्छ । यस अवधिमा १३ खर्ब आठ अर्बबराबरको वस्तु आयात भएको राष्ट्र बैंकको तथ्यांक छ । यस अवधिमा कुल वस्तु निर्यात ८२.९ प्रतिशतले वृद्धि भई एक खर्ब ४७ अर्ब ७५ करोड पुगेको छ । निर्यातमा देखिएको ऐतिहासिक वृद्धिले लयमै देखिएको छ । 

 वैदेशिक रोजगारीमा जाने बढे, रेमिट्यान्समा सुधार
चालू आर्थिक वर्षको फागुन मसान्तसम्म वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या ३६३ प्रतिशतको वृद्धि भई दुई लाख २६ हजार सात सय पुगेको छ । त्यसैगरी, यस अवधिमा वैदेशिक रोजगारीमा जान पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या १९२ प्रतिशतको वृद्धि भई एक लाख ७८ हजार दुई सय ६२ पुगेको छ । 

राष्ट्र बैंकका अनुसार यस अवधिमा रेमिट्यान्स आयमा सामान्य सुधार आएको छ । रेमिट्यान्स आयको घट्दो दरमा सामान्य सुधार देखिएको प्रवक्ता भट्टले बताए । यसले सकारात्मक सन्देश र संकेत गर्ने उनले बताए । माघ महिनामा रेमिट्यान्स आय ४.५ प्रतिशतले घटेको थियो । फागुनमा आइपुग्दा घट्दो दर १.७ प्रतिशतमा झरेको हो । चालू आवको आठ महिनामा ६ खर्ब ३१ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । 

 पर्यटन आय उच्चदरमा बढ्यो, तर सेवा खाता घाटामै
पछिल्लो समयमा नेपाल आउने पर्यटकको संख्यासँग त्यसबाट हुने आयमा वृद्धि हुँदै गएको देखिएको छ । सन् २०२२ को मार्चसम्म (पहिलो तीन महिनामा) नेपाल आउने पर्यटकको संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३८.६५ प्रतिशतले वृद्धि भई ७८ हजार चार सय ४७ पुगेको छ । सन् २०२२ को मार्च महिनामा मात्र ४२ हजार ६ पर्यटक नेपाल भित्रिएका छन् । यससँगै नेपालको भ्रमण आय (पर्यटन आय) समेत उच्चदरमा बढेको छ । राष्ट्र बैंकका अनुसार सेवा खाताअन्तर्गत भ्रमण आय २२४.४ प्रतिशतले वृद्धि भई १४ अर्ब ४९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय चार अर्ब ४७ करोड रहेको थियो ।

तर, सेवा आयमा नेपाललाई खुद ६७ अर्ब दुई करोड घाटा भएको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ४३ अर्ब ३६ करोडले घाटामा रहेको थियो । समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय १०६.२ प्रतिशतले वृद्धि भई ४६ अर्ब ८५ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको  व्यय ३० अर्ब ३८ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय २२ अर्ब ७१ करोड र  शिक्षातर्फको व्यय १८ अर्ब ४१ करोड रहेको थियो ।

 शोधनान्तर साढे दुई खर्बले घाटामा, सञ्चिति पौने १२ खर्ब 
समीक्षा अवधिमा चालू खाता चार खर्ब ६२ अर्ब ९३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता एक खर्ब ५१ अर्ब ४२ करोडले घाटामा रहेको थियो । शोधनान्तर स्थिति दुई खर्ब ५८ अर्ब ६४ करोडले घाटामा रहेको राष्ट्र बैंकको तथ्यांक छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६८ अर्ब एक करोडले बचतमा रहेको थियो । हाल नेपालमा विदेशी विनिमय सञ्चिति ११ खर्ब ७१ अर्ब रहेको छ । जुन गएको असार महिनाको तुलनामा १६.२ प्रतिशतले कमी हो । सञ्चिति विदेशी विनिमयले ६.७ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

मूल्यवृद्धि पाँच वर्षयताकै उच्च 
उपभोक्ता मूल्यवृद्धि पाँच वर्षयताकै उच्च देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार फागुन महिनामा उपभोक्ता मूल्यवृद्धि ७.१४ प्रतिशत देखिएको छ । जुन पाँच वर्षयताकै सबैभन्दा बढी हो । गएको वर्षको तुलनामा दोब्बरले बढी हो । उपभोक्ता मूल्यवृद्धिदर ०७४ फागुनमा ६ प्रतिशत, ०७५ फागुनमा ४.२ प्रतिशत, ०७६ फागुनमा ६.७० प्रतिशत र ०७७ फागुनमा ३.०३ प्रतिशत रहेको थियो । गएको माघ महिनामा उपभोक्ता मूल्यवृद्धि ५.९७ प्रतिशत रहेको थियो । फागुन महिनामा देखिएको उपभोक्ता मूल्यवृद्धि गएको आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.११ प्रतिशतले बढी हो । 

फागुन महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ७.५१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ६.८४ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ । अन्तर्राष्ट्रिय बजारमै पेट्रोलियम पदार्थ, घिउतेललगायत सामग्रीको मूल्यवृद्धि उच्च देखिएको र त्यसको प्रभाव नेपालमा समेत परेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए । ‘कच्चा तेलको भाउ बढेको छ, घिउतेलको मूल्य पनि बढेको छ, यी उत्पादनको मूल्यवृद्धिको प्रभाव अन्य वस्तुमा परिहाल्छ,’ उनले भने, ‘त्यस्तै, नेपालमै पनि दूधको मूल्य बढाइएको छ, यातायातको मूल्य पनि बढेको छ, त्यसैले उपभोक्ता मूल्यवृद्धि बढी देखिएको हो ।’

०७७ फागुन महिनाको तुलनामा ०७८ फागुन महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घिउ तथा तेलको मूल्यवृद्धि २६.३४ प्रतिशत, तरकारीको १३.९६ प्रतिशत, दूधजन्य उत्पादन तथा अन्डाको ११.३० प्रतिशत र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि १०.३० प्रतिशत रहेको छ । त्यस्तै, गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायातको १६.२७ प्रतिशत, विविध वस्तु तथा सेवाको ९.०१ प्रतिशत र शिक्षा उपसमूहको मूल्यवृद्धि ८.७९ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ ।