Skip This
नवलपुरमा ५० भौतिक संरचना र ४३ सवारीसाधनमा क्षति
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ३१ मंगलबार
  • Tuesday, 16 September, 2025
२o८२ भदौ ३१ मंगलबार १८:५५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नवलपुरमा ५० भौतिक संरचना र ४३ सवारीसाधनमा क्षति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ ३१ मंगलबार १८:५५:oo

भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनको क्रममा नवलपुरमा पनि तोडफोड र आगजनी भएको छ। क्षतिको पूर्ण विवरण आइनसके पनि दलका नेता तथा जनप्रतिनिधिहरूको निजी घरदेखि सरकारी कार्यालय, सरकारी सवारीसाधन, प्रहरी कार्यालय र पार्टी कार्यालयसम्ममा क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मधु नेपालले अहिलेसम्म पनि क्षतिको विवरण संकलन कार्य भइरहेको बताए। प्रारम्भिक विवरणअनुसार आन्दोलनका क्रममा जिल्लामा ५० वटा भौतिक संरचना र ४३ वटा सवारीसाधनमा क्षति भएको छ।

प्रमुख जिल्ला अधिकारी भवीश्वर पाण्डेका अनुसार २० वटा निजी आवास भवन, तीनवटा पालिका र ६ वटा वडासहित नौवटा स्थानीय तहका भवन, १६ वटा पार्टी कार्यालय, दुईवटा प्रहरी चौकी, मौलकालिका केवल कारसहित दुई व्यावसायिक भवन र सामाजिक विकास कार्यालयको एउटा गरी ५० वटा भवनमा आगजनी र तोडफोड भएको छ।

त्यसैगरी, ४३ वटा सवारीसाधनमा आगजनी र तोडफोड भएको छ। जसमध्ये चारपांग्रे र दुईपांग्रे गरी स्थानीय तहका २१ वटा, निजी सवारीसाधन १४ वटा र आठवटा सरकारी सवारीसाधन गरी ४३ वटामा तोडफोड र आगजनी भएको प्रजिअ पाण्डेले जानकारी दिए। प्रदर्शनकारीले ७ वटा साइकलमा पनि आगजनी गरेका छन्।

यो तोडफोड र आगजनीबाट कति क्षति भयो भन्ने यकिन भइसकेको छैन। प्रजिअ पाण्डेका अनुसार तोडफोडबाट भएको क्षतिको मूल्यांकन गर्नका लागि प्रदेश पूर्वाधार कार्यालयका इन्जिनियर कृष्ण आचार्यको नेतृत्वमा प्राविधिक समिति गठन गरिएको छ। पाँचसदस्यीय उक्त समितिलाई आगामी शुक्रबारसम्ममा प्रतिवेदन बुझाउन समय दिइएको छ।

कावासोती नगरपालिकामा ४८ लाखको क्षति
जेन-जी आन्दोलनका क्रममा जिल्लाको कावासोती नगरपालिकामा भएको तोडफोड र आगजनीबाट करिब ४८ लाख रुपैयाँबराबरको क्षति भएको छ। नगरपालिकामा ४७ लाख ५८ हजार ११० रुपैयाँको क्षति भएको हो।

आगजनीबाट नगरपालिकामा दुईवटा कोठाको कागजपत्र तथा फर्निचर जलेर नष्ट भएको छ। त्यसैगरी, दुईवटा स्कारपियो र कार एवं २ वटा बाइक र स्कुटरमा पनि क्षति भएको छ।