Skip This
रेबिजबाट टेकु अस्पतालमा मात्रै डेढ महिनामा १० को मृत्यु
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २९ मंगलबार
  • Tuesday, 13 May, 2025
२o७८ चैत २९ मंगलबार o६:५२:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

रेबिजबाट टेकु अस्पतालमा मात्रै डेढ महिनामा १० को मृत्यु

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७८ चैत २९ मंगलबार o६:५२:oo

कुकुरलगायतका जनावरले टोकेका करिब दुई सय बिरामी दैनिक टेकु अस्पतालमा

रेबिज भाइरसबाट संक्रमित कुकुर तथा अन्य जनावरको टोकाइबाट शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा मात्र डेढ महिनामा १० जनाको मृत्यु भएको छ । संक्रमित जनावरले टोकेपछि सुरुवाती चरणमै रेबिजविरुद्धको खोप लगाएर ज्यान जोगाउन सकिने भए पनि शरीरमा संक्रमण फैलिसकेपछि मृत्यु निश्चित छ । यसबारे धेरैलाई थाहा नहुँदा र अस्पताल लैजान ढिलाइ गर्दा ज्यानै गुमाउने गरेका छन् । 

‘६ फागुनदेखि २२ चैतसम्म हाम्रोमा रेबिजका १० बिरामीको मृत्यु भएको छ,’ टेकु अस्पतालका आकस्मिक कक्ष संयोजक लीलानाथ भण्डारीले भने । चिकित्सकका अनुसार रेबिज संक्रमित कुकुर, खरायो, मुसा, चमेरोलगायतले टोक्दा मान्छेमा सर्छ । त्यस्ता जनावरले टोकेपछि रेबिज होस्/नहोस् खोप लगाउनुपर्छ । टेकुका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार हाल टेकु अस्पतालको ओपिडीमा जनावरले टोकेका दैनिक दुई सयजति बिरामी आउँछन् । उनका अनुसार अधिकांश घरपालुवा कुकुरले टोकेका हुन्छन् । 

‘रेबिज संक्रमण भएर रेबिज देखिएको व्यक्तिलाई बचाउन सकिँदैन । त्यस्ता बिरामीलाई खोप लगाएर पनि कुनै अर्थ छैन । रेबिज नदेखिँदै खोप लगाएर रोकथाम गर्न सकिन्छ । त्यसैले, टोकेपछि जतिसक्दो छिटो खोप लगाउनुपर्छ । कसैलाई छिट्टै लक्षण देखिन्छ, कसैलाई वर्षौँ लाग्न पनि सक्छ,’ डा. पुनले भने, ‘रेबिजविरुद्धको खोप छालामुनि लगाएर तीनपटक र मासुभित्र लगाएर चारपटक दिइन्छ ।’ 

संक्रमित जनावरले टोकेपछि रेबिज भाइरस मांसपेशीबाट नसा हुँदै दिमागमा पुग्छ र फेरि शरीरका विभिन्न भागमा फैलिन्छ । दुर्गम क्षेत्रमा चेतनाको अभावमा बिरामीलाई धामीझाँक्रीकहाँ लगेर झारफुक गराउने र भाइरस संक्रमण भएपछि मात्रै अस्पताल ल्याउने घटना धेरै देखिएको डा. पुनले बताए । 

‘जनावरले टोकेपछि अधिकांश व्यक्ति झारफुकतिर लाग्छन् । संक्रमण फैलिएपछि मात्रै अस्पताल आएका हुन्छन् । त्यतिवेला मृत्यु निश्चित भइसकेको हुन्छ,’ पुनले भने, ‘त्यस्ता बिरामीका सामु हामी चिकित्सक हतियारविनाका सिपाहीजस्ता हौँ । रेबिज लाग्न नदिन हामीसँग उपाय छन्, तर लागिसकेकालाई जोगाउन सक्दैनौँ । बिरामीका गतिविधि टुलुटुलु हेरेर बस्नुको विकल्प हामीसँग हुँदैन ।’ विगतमा रेबिज लागेकाहरू छटपटाउने, आक्रामक हुने, चिच्याउने, तोडफोड गर्नेजस्ता व्यवहार देखाउने गरेकामा अहिले धेरै बिरामी शान्त देखिँदा भाइरसमा परिवर्तन आएको हुन सक्ने अनुमान उनको छ । हरेक वर्ष विश्वमा रेबिजका कारणले करिब ६० हजार मानिसको मृत्यु हुने गरेको छ । एसियामा मात्रै रेबिजका कारण बर्सेनि ३५ हजारभन्दा धेरैले ज्यान गुमाउने गरेका छन् । 

सरकारी तथ्यांक : सात वर्षमा अढाई लाख व्यक्तिलाई जनावरले टोक्यो, रेबिजबाट ८७ को मृत्यु
अस्पताल आइनपुग्ने दुर्गमका कैयौँ घटना केन्द्रीय तथ्यांकमा समेटिँदैनन्

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्ला सात वर्षमा दुई लाख ४५ हजार ४७ व्यक्तिलाई कुकुरलगायत जनावरले टोकेको छ । यीमध्ये ८७ जनाको रेबिज संक्रमणबाट मृत्यु भएको छ । यो देशभरका अस्पतालमा भर्ना भएका घटनाको तथ्यांक हो । 

तर, चिकित्सकहरू कैयौँ बिरामी अस्पतालसम्म नै नआएकाले संख्या अझै बढी हुने बताउँछन् । ‘धेरै बिरामी झारफुक गरेर गाउँमै बस्छन् र कतिपयले ज्यान गुमाउँछन्,’ सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले भने । महाशाखाले पनि अस्पताल नआउने बिरामी तथ्यांकमा छुट्ने गरेको जनाएको छ । 

रेबिज संक्रमण भइसकेपछि उपचार सम्भव छैन, यसबारे धेरैलाई थाहा छैन : डा. शेरबहादुर पुन, सरुवारोग विशेषज्ञ

रेबिज देखिएको व्यक्तिलाई बचाउन सकिँदैन । त्यस्ता बिरामीलाई खोप लगाएर पनि कुनै अर्थ छैन । रेबिज नदेखिँदै खोप लगाएर रोकथाम गर्न सकिन्छ । त्यसैले, टोकेपछि जतिसक्दो छिटो खोप लगाउनुपर्छ । कसैलाई छिट्टै लक्षण देखिन्छ, कसैलाई वर्षौँ लाग्न पनि सक्छ । जनावरले टोकेपछि अधिकांश व्यक्ति झारफुकतिर लाग्छन् । संक्रमण फैलिएपछि मात्रै अस्पताल आएका हुन्छन् । त्यतिवेला मृत्यु निश्चित भइसकेको हुन्छ । त्यस्ता बिरामीका सामु हामी चिकित्सक हतियारविनाका सिपाहीजस्ता हौँ । रेबिज लाग्न नदिन हामीसँग उपाय छन्, तर लागिसकेकालाई जोगाउन सक्दैनौँ । बिरामीका गतिविधि टुलुटुलु हेरेर बस्नुको विकल्प हामीसँग हुँदैन ।