१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ चैत २६ शनिबार १४:१४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जनताले राजनीतिक दललाई प्रश्न सोध्ने वेला आएको छ : अध्यक्ष तिमिल्सिना

Read Time : < 1 मिनेट
२०७८ चैत २६ शनिबार १४:१४:००

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्थानिय तहको निर्वाचन नजिकिएसँगै सबै मतदाताले राजनीतिक दललाई प्रश्न सोध्ने वेला आएको बताएका छन् । शनिबार बाग्लुङको ऐतिहासिक चैत्राष्टमी मेलाको उद्घाटन गर्दै तिमिल्सिनाले हिजो बाचा गरेका कुरालाई कति पूरा भए र अब के गर्ने हो त्यो सोधेर मात्रै आफ्नो मताधिकार प्रयोग गर्नुपर्ने बताए । उनले मतदाताले राजनीतिक दलका नेता तथा उम्मेदवारलाई  जितेर के गर्नुहुन्छ र  हिजो तपाईंको दलले जितेर के गर्‍यो भन्ने प्रश्न गर्न जरुरी रहेको बताए । 

‘सत्ताका लागि भागबन्डा गर्ने हो ? आलोपालो गरेर सरकारमा बस्ने, आलोपालो मन्त्री बन्ने हो ? मन्त्रालय फोर्ने अनि तपाईहंरूले मात्रै शासन गरेर देशलाई यही हालतमा राख्ने कि देशलाई परिवर्तन गर्ने हो ? देशलाई विकास र समृद्धिमा लाने राजनीतिक दललाई अठोट गराउनुपर्ने हुन्छ कि हुँदैन ? यस्ता प्रश्न जनताले अब राजनीतिक दललाई गर्नुपर्छ’, तिमिल्सिनाले भने ।  सरकार र कुनै राजनीतिक दलले प्रहरी प्रशासन प्रयोग गरेर निर्वाचनमा धाँधली गर्न नहुने उनको भनाइ छ । 

तिमिल्सिनाले मतदाताले स्वतन्त्र भएर आफूले चाहेको उम्मेदवारलाई भोट हाल्ने वातावरण बनाउन सरकार, राजनीतिक दलका कार्यकर्ता र उम्मेदवार लाग्नुपर्ने बताए । ‘लोकतन्त्रमा जनताले खुसीका साथ आफूले इच्छाएको पार्टी र आफूले इच्छाएको उम्मेदवारलाई मत हाल्न पाउनुपर्ने अधिकार छ’, तिमिल्सिनाले भने, ‘त्यसको ग्यारेन्टी सबै राजनीतिक दलले गर्नुपर्नेछ ।’