१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७८ चैत २३ बुधबार ०९:४२:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

गुल्मीका तीन सरकारी कार्यालय प्रमुखमा महिला 

Read Time : > 2 मिनेट
२०७८ चैत २३ बुधबार ०९:४२:००

अब्बल र सक्षम बन्दै महिला

कृषि जनगणनाको सन्दर्भमा गुल्मीको तम्घासमा आयोजित गोष्ठीमा एकै लहरमा बसेका निर्वाचन अधिकृत माया कुँवर, हुलाक अधिकृत प्रमिला भण्डारी र कर अधिकृत जमुना गिरी । तीनैजना महिला कार्यालय प्रमुख एउटै कार्यक्रममा उपस्थित हुँदा कैयौँ छक्क परे । 

कतिपयले महिलामा आएको परिवर्तन र ऊर्जाले उनीहरू अब्बल बन्दै गएको बताए ।  किनकि जिल्लाका अधिकांश कार्यालय प्रमुख पुरुष छन् । हरेक बैठक र गोष्ठीहरूमा प्रायः पुरुष कार्यालय प्रमुख उपस्थित हुन्छन् । 

नेकपा एमालेका नेता गणेश श्रेष्ठले कार्यक्रममा तीनजना कार्यालय प्रमुख महिला उपस्थितिले निकै खुसी लागेको बताए । ‘तीनैजना कार्यालय प्रमुख उमेरले कम भए पनि प्रतिस्पर्धाले कार्यालय प्रमुख हाँक्नुभएको छ,’ उनले भने, ‘यो देशमा व्यावस्था परिवर्तनको राम्रो उदाहरण हो ।’ 

निर्वाचन अधिकृत माया कुँवर र हुलाक अधिकृत प्रमिला भण्डारी गुल्मेली हुन् । कर अधिकृत जमुना गिरी छिमेकी जिल्ला बाग्लुङकी हुन् ।

प्रमिला भण्डारी : हुलाक अधिकृत

प्रमिला भण्डारी उमेरले ३२ वर्षकी भइन् । उनको घर छत्रकोट गाउँपालिका- १ हुँगा हो । उनी गत असोजदेखि जिल्ला हुलाक कार्यालय, गुल्मीमा कार्यालय प्रमुखको रूपमा कार्यरत छिन् । भण्डारी ०६९ सालमा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी हुन् । 

उनी यसअघि तत्कालीन भूमिसुधार तथा व्यवस्थापन मन्त्रालय, राष्ट्रिय योजना आयोग र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय हुँदै गुल्मी आएकी  हुन् । उनका श्रीमान् पनि उपसचिव छन् । परिवार पनि निजामतीमय छ । दुईजना जेठाजुहरू सहसचिव छन् । 

त्यसैगरी जेठानी दिदीहरू र नन्दहरू तथा उनीहरूका श्रीमानहरू पनि निजामती सेवामा सेवारत छन् । उनले आफू निजामती सेवाकै परिवेशमा हुर्केकाले सफलता हासिल गरेको प्रतिक्रिया दिइन् । 

बुबा नरहरि भण्डारी पनि उपसचिवबाट अनिवार्य अवकाश भइसकेका छन् । बुबाको प्रेरणाले गर्दा आफू आजको स्थानमा उभिएको भण्डारीकाे भनाइ छ । 

उनले आफ्नो जन्मभूमिमा रहेर सेवा गर्दा अझ बढी गर्वको अनुभूति भएको बताइन् । ‘निजामती सेवामा प्रवेश गरिसकेपछि सरकारले जुनसुकै स्थानमा खटाए पनि आफ्नो पेसागत आचरणमा रहेर काम गर्नु सेवाको धर्म हो,’ उनले भनिन, ‘जन्मभूमिको मायाले थप कर्तव्यबोध बनाएको छ ।’ 

माया कुँवर : निर्वाचन अधिकृत

माया कुँवर रेसुंगा नगरपालिका- २ की हुन् । निर्वाचन कार्यालय गुल्मीमा उनी ०७७ फागुन देखि कार्यालय प्रमुखको रूपमा कार्यरत छिन् । ३४ वर्षीया कुँवर ०७४ मा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरिन् । उनी यसअघि म्याग्दीमा सहायक प्रमुख जिल्ला अधिकारीको रूपमा कार्यरत थिइन् । 

कुँवरका श्रीमान् नेपाल प्रहरीको प्रहरी नायव उपरीक्षक (डिएसपी) पदमा कार्यरत छन् । उनी परिवार व्यवस्थापन र आफू हुर्केको जिल्लामा काम गर्ने चाहनाले गुल्मी आइन् । 

निर्वाचनको समय, महिला र जोखिमका हिसाबले कार्यसम्पादनमा कुँवरमाथि थुप्रै जिम्मेवारी छन् । तर, पहिलेको गृह प्रशासनको अनुभव र विशेष जिम्मेवारीका कारण चुनौतीहरूको व्यवस्थापन गरेर निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउने आत्मविश्वास तथा उत्साहका साथ अगाडि बढेको उनले प्रतिक्रिया दिइन् । 

‘पदीय दायित्व निर्वाह गर्न लिंगका आधारमा फरक क्षमता हुँदैन । त्यो देख्नु पूर्वाग्रही सोच हो,’ उनले भनिन्, ‘जिम्मेवारीलाई प्रभावकारी रूपमा निर्वाह गर्न सक्नेमा पूर्ण विश्वस्त छु ।’
 
जमुना गिरी : कर अधिकृत

करदाता सेवा कार्यालय गुल्मीको कार्यालय प्रमुख हुन् जमुना गिरी । उनी ५ फागुन ०७८ बाट गुल्मीमा कार्यरत छिन् । ०७७ असारमा नायव सुब्बा पदबाट गिरी निजामती सेवामा प्रवेश गरेकी हुन् । 

काठमाडाैं जिल्ला अदालतमा कार्यरत रहँदै गर्दा उनले  शाखा अधिकृतमा नाम निकालिन् । अधिकृतमा नाम निस्केपछि उनी आन्तरिक राजस्व विभागबाट गुल्मी आएकी हुन् । 

जुन स्थानमा भए पनि आफ्नो पदको आचरणमा रहेर कार्यसम्पादन गर्ने भएकाले बाहिरी जिल्लामा रहेर काम गर्दा पनि केही फरक अनुभूति नभएको उनले जानकारी दिइन्। उनले कार्यालय प्रमुखको रूपमा काम गर्न थालेका धेरै भएको छैन ।

उनले बैठक तथा गोष्ठीहरूमा पुरुष कार्यालय प्रमुखहरूबाट राम्रो साथ र सहयोग पाएको बताइन् । बरु कहिलेकाहीँ सेवाग्राहीले बहिनी र नानी भनेर बोलाउँछन् । ‘मलाई केही सेवाग्राहीले बहिनी र नानी भनेर बोलाउँछन् । यदि मेरो ठाउँमा पुरुष कार्यालय प्रमुख भएकाे भए सर भन्थे,’ उनले भनिन्, ‘त्यो पनि बिस्तारै सोच परिवर्तन हुँदै जान्छ ।’ 

कार्यालयको अन्य भूमिकाभन्दा प्रमुख भएपछि अन्तिम जवाफदेही बन्नुपर्ने, आन्तरिक र बाह्य कार्यालय समन्वय, आर्थिक, सामाजिक तथा वातावरणीय पक्षलाई ख्याल गर्नुपर्ने गिरीले बताइन् । उनले कर कार्यालय राज्यको अर्थ प्रशासनसँग प्रत्यक्ष जोडिएकाले चुनौतीकै बीच ऐन, कानुन र निर्देशिकाअनुसार काम गर्ने बताइन्।