१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत २३ बुधबार ०७:५८:००
Read Time : < 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

बेलायतमा ओमिक्रोनको  नयाँ प्रजाति ‘एक्स ई’ फैलियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत २३ बुधबार ०७:५८:००

बेलायतमा भेटिएको कोभिड भाइरस ओमिक्रोनको नयाँ प्रजातिको संक्रमण बढ्न थालेको छ । सोमबारसम्मको तथ्यांकअनुसार बेलायतमा ६ सयभन्दा बढीमा संक्रमण फेला परेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले उत्परिवर्तन भएर आएको नयाँ भेरियन्टलाई ‘एक्स ई’ नाम दिएको छ । ‘एक्स ई’ ओमिक्रोन भेरियन्टको बिए १ र बिए २ को मिश्रण भएको जनाइएको छ ।

उच्च संक्रामक मानिएको ‘एक्स ई’ भेरियन्टलाई तीव्र संक्रमण र अर्को लहरको कारण बन्न सक्ने भन्दै भाइरोलोजिस्टहरूको अन्तर्राष्ट्रिय कमिटीले चिन्ता व्यक्त गरेको छ । विश्व स्वास्थ्य संगठनले मार्चको अन्तिम एक सातामा विश्वभर संक्रमणदर १४ प्रतिशतले घटेको जनाएको थियो ।

तर, ओमिक्रोनभन्दा पनि उच्च संक्रामक मानिएको ‘एक्स ई’ भेरियन्ट देखापरेसँगै संक्रमण पुनः उकालो लाग्न सक्ने चेतावनी दिइएको छ । तेस्रो लहरमा सबैभन्दा उच्च संक्रामक मानिएका बिए १ र बिए २ को मिश्रण देखिएको ‘एक्स ई’ ओमिक्रोनभन्दा १० प्रतिशत बढी फैलिन सक्ने ब्रिटिस मेडिकल जर्नलमा प्रकाशित अध्ययनले देखाएको छ ।

‘एक्स ई’ भेरियन्ट बेलायतमा पहिलोपटक गत १९ जनवरीमै पत्ता लागेको थियो । पछिल्लो सातादेखि बेलायतमा देखिएका नयाँ संक्रमितको करिब ८६ प्रतिशत संक्रमण नयाँ भेरियन्टले ओगटेको चिकित्सकहरूले बताएका छन् । तीव्र फैलिन थालेपछि ‘एक्स ई’ भेरियन्टबारे अध्ययन थालिएको छ ।