१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २१ सोमबार
  • Sunday, 29 September, 2024
२o७८ चैत २१ सोमबार o७:३७:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

एमालेबाट निर्वाचित बेदकोटका मेयरसहित २९ जनप्रतिनिधि समाजवादीमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत २१ सोमबार o७:३७:oo

नेकपा एमालेबाट निर्वाचित कञ्चनपुरको बेदकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्दसहितका २९ जनप्रतिनिधि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । आइतबार बेदकोट नगरपालिका–३ दैजीमा आयोजित कार्यक्रममा नगरप्रमुख चन्दसहित पाँच वडाध्यक्ष, पाँच कार्यपालिका सदस्य र १९ वडासदस्यसहितका जनप्रतिनिधि एमाले परित्याग गरी समाजवादीमा प्रवेश गरेका हुन् । 

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नगरप्रमुख चन्दसहितका जनप्रतिनिधिलाई पार्टी प्रवेश गराए । एकीकृत समाजवादी प्रवेश गर्नेमा ३ नम्बर वडाध्यक्ष तिलक ठकुल्ला, ४ का भाष्करदत्त भट्ट, ७ का वीरबहादुर डगौरा, ८ का दुर्गासिंह भण्डारी, १० का केशव रावल, कार्यपालिका सदस्य चेतराम कामी, तारा रैकाल, दलवीर टमाटा, पिंकी दमाई, निर्मला विष्ट (चौधरी), माया बोहरा (महरा) छन् । 

वडा सदस्यहरू अम्बाबहादुर चन्द, तुलसी कामी, दिलबहादुर बोहरा, वसन्ती राना, जोगराम डगौरा, देउमा बाबली, गोमती कुँवर, पल्टु डगौरा (चौधरी), अर्जुन धानुक, धौलीदेवी महर (कामी), रेश्मी डगौरा, गणेशबहादुर विष्ट, डम्बरदत्त भट्ट छन् । 

०७४ मा भएको स्थानीय तहको पहिलो निर्वाचनमा बेदकोट नगरमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्यसहित ४२ जनप्रतिनिधि निर्वाचित भएका थिए । तीनजना यसअघि नै समाजवादीमा समाहित भएका थिए । 

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले टीका लगाएर पार्टीमा स्वागत गरेका छन् । ‘राम्रा र देशभक्त जनप्रतिनिधि, नेता कार्यकर्ता समाजवादीमा आइरहेका छन्,’ उनले भने, ‘ओलीजस्ता गलत काम गर्नेहरू उतै बसिरहेका छन् ।’ नगरप्रमुख चन्दले एमालेमा इमानदार कम्युनिस्ट नेताहरूलाई लखेट्न थालिएपछि समाजवादको यात्रा तय गरिएको बताए ।

‘मैले एमालेमा २२ वर्ष काम गरेको छु,’ चन्दले भने, ‘१८ वर्षको उमेरदेखि नै म जनप्रतिनिधिका रूपमा सक्रिय रहेँ । तर, अहिले इमानदार कम्युनिस्ट नेताहरूलाई लखेट्न थालियो । पार्टी अध्यक्ष ओलीले न्याय गर्नुको साटो खल्तीबाट नाम निकाल्ने काम गर्न थाल्नुभयो, पार्टीमा निरंकुशता लादियो । त्यसैले बाटो परिवर्तन गर्न बाध्य भएँ ।’ उनले अलग यात्रा रोजे पनि आफूले दुई दशकभन्दा बढी समय बिताएको घर र त्यहाँ रहेकाहरूलाई कुनै आरोप नलगाउने धारणा राखे । 

उनले एमालेको जिल्ला पार्टी नेतृत्वले वर्षौंदेखि काम गरेका नेता कार्यकर्तालाई उपेक्षा गर्दै नातागोता, छोराछोरी, आफन्तलाई दोहोरो जिम्मेवारी दिएको बताए । एमाले सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट, प्रदेश अध्यक्ष दामोदर भण्डारी र कञ्चनपुर इन्चार्ज निरुदेवी पालले आफूलाई पुनः नगरप्रमुख उम्मेदवार बन्न प्रस्ताव राखेको भन्दै उनले स्थानीय तहको निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरे ।