मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ चैत १२ शनिबार १३:०८:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

गाभरभ्याली होमस्टेमा मौलिक खाना मेला, लोप भएका वस्तु अवलोकन गर्न पाइने (तस्बिरसहित) 

Read Time : > 2 मिनेट
२०७८ चैत १२ शनिबार १३:०८:००

बाँकेको बैजनाथ गाउँपालिका–१ स्थित गाभरभ्याली होमस्टेमा शनिबारदेखि ‘मौलिक खाना मेला’ सुरु भएको छ । मेलास्थलमा खाना प्रदर्शनी र परम्परागत लुगा, गरगहना तथा मौलिक हस्तकलाका सामानको प्रदर्शनी स्थल छुट्टाछुट्टै ठाउँमा बनाइएको छ । मौलिक खाना मेला भनिए पनि त्यहाँ लुम्बिनी प्रदेशमा रहेका मौलिक हस्तकला तथा लोप भएका वस्तु प्रदर्शनीका लागि राखिएको आयोजक तथा गाभरभ्याली होमस्टेका अध्यक्ष कृष्ण चौधरीले बताए ।

उनले मेलास्थलमा ढिकीजाँतो, तेल पेल्ने कोल, लडिया, माछा मार्ने हेल्का, राउटे समुदायले निर्माण गर्ने कोसी, ठेकी, काठबाट निर्मित महाकालको मूर्ति, मुगु जिल्लामा प्रचलित जाल लौरी, खजुरी (थाकल)ले तयार पारिएको मयुर, अँट्वा लगायतका परम्परागत बस्तु अवलोकनका लागि राखिएको जानकारी दिए । 

मेलामा घोङीदेखि फापरको ढिँडो खान पाइने
खाना मेलामा थारू समुदायमा प्रचलित घोङ्घीको तरकारी, गंगटा, मुसा, सिध्रा माछाको चटनी, आलुको अचार, कचालु, ढिक्री, अनदी चामलको रोटी लगायत मौलिक खानाका परिकार प्रदर्शनीमा राखिएको छ । त्यसैगरि, हिमाली भेग अन्तरगत मुगेली समुदायमा लोकप्रिय मानिने कोदोको रोटी, फापरको ढिडो, सिस्नोको सागलगायतका परिकार खाने ब्यवस्था मिलाइएको चौधरीले बताए । उनले मगर जातिको खानाका परिकार र मधेसी समुदायको मौलिक खानाका परिकार पनि मेलामा राखिने बताए । ‘मौलिक तर, लोपोन्मुख खानालाई मेलामा प्राथमिकता दिइएको छ,’ उनले भने ।   

मौलिक खानासँगै रैथाने नाचको अवलोकन गर्न पाइने 
गाभर भ्याली होमस्टेमा १२ र १३ चैत गरी दुई दिनका लागि आयोजना गरिएको ‘मौलिक (रैथाने) खाना मेला’ मा लुम्बिनी प्रदेशका विभिन्न जातजातीमा प्रचलित नाच पनि अवलोकन गर्न सकिनेछ । मौलिक खानाको स्वादसँगै महोत्सव अवलोकन गर्न आएका पाहुनालाई विभिन्न जातजातीमा प्रचलित नाच हेर्ने व्यवस्था मिलाइएको गाभर भ्याली होमस्टे संचालक समितिका अध्यक्ष चौधरीले बताए । 

उनले थारु समुदायमा प्रचलित सख्या, झुम्रा, छोक्रा, पैँया, लट्ठा, मयूर नाच प्रदर्शन गरिने बताए । त्यसैगरि, हिमाली तथा पहाडी भेगमा प्रचलित कुर्कुटी, सल्यानी टप्पा, झ्याउरे लगायतका नाच महोत्सवमा हेर्ने ब्यवस्था मिलाइएको छ । ‘मौलिक परिकारको स्वादसँगै लोप हुँदै गएको परम्परागत नाचगान हेर्ने ब्यवस्था समेत महोत्सवमा गरिएको छ,’ उनले भने, ‘आधुनिकतासँगै लोप हुँदै गएका संस्कार र संस्कृति जगेर्ना गर्न लुम्बिनी र हिमाली भेगमा प्रचलित, तर, लोपुन्मुख नाचगानकोे प्रचारप्रसार गरि यसको प्रवर्द्धन गर्ने हाम्रो उद्देश्य छ ।’ 

चौधरीले महोत्सवमा थ समुदायको मौलिक पोशाकको अवलोकनसँगै किनमेल गर्ने ब्यवस्था मिलाइएको बताए । ‘परम्परागत पोशाकको बारेमा पछिल्लो पुस्तालाई जानकारी दिने र यसको बजारिकरण गर्न मौलिक पोशाक अवलोकन र किनेर लैजान चाहनेका लागि किनमेल गर्ने ब्यवस्था पनि आयोजकले गरेको छ,’ उनले भने । 

मेलामा प्लास्टिक पूर्ण रूपमा बन्देज
लुम्बिनी प्रदेशका आदिवासी जनजाति तथा हिमाली भेगमा खाइने रैथाने खानाको जानकारी गराउन आयोजना गरिएको ‘मौलिक खाना मेला’लाई प्लास्टिकरहित बनाइएको छ । अध्यक्ष चौधरीका अनुसार प्लाष्टिक र प्लाष्टिकजन्य वस्तुले पर्यावरणमा असर पार्ने भएकाले ‘मौलिक खाना महोत्सव’मा कुनै पनि प्लास्टिक र प्लास्टिकजन्य वस्तुलाई निषेध गरिएको छ । प्लास्टिकले वातावरणसँगै मानवीय स्वास्थ्यमा असर पार्ने भएकाले महोत्सवमा प्लास्टिक पूर्ण रूपमा बन्देज गरिएको उनको भनाइ छ । ‘गाभर भ्याली होमस्टेले रैथाने खानाको संरक्षण मात्र गरेको छैन, वातावरण संरक्षणमा पनि एक कदम अगाडि छ,’ उनले भने । 

महोत्सवमा साल र मालु पातको दुना–टपरी प्रयोग गरिने गाभर भ्याली होमस्टे सञ्चालक समितिका सचिव अनिलकुमार थापाले बताए । उनले महोत्सवमा आएका पाहुनालाई साल र मालुबाट तयार पारिएको दुना तथा टपरीमा मात्र खानाका परिकार खुवाउने बताए । आवश्यक पर्ने दुना तथा टपरीको जोहो भइसकेको बताउँदै उनले प्लास्टिकका झोलासमेत प्रयोग नहुने बताए । ‘महोत्सव अवधिभर झन्डै १० हजार दुना र टपरी खपत हुने अनुमान छ,’ उनले भने । उनले महोत्सवको खाना, हस्तकला र रैथाने अन्नपात प्रदर्शनीस्थलका लागि फुसको छाप्रो बनाउन लागिएको बताए । ‘प्रदर्शनीका लागि टेन्टको साटो खर र बाँसको छाप्रा तयार गरिँदै छ,’ थापाले भने ।    

तस्बिरहरु हेर्नुहाेस् :