१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ चैत ७ सोमबार ०७:००:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बिपी प्रतिष्ठानको सिनेट २० चैतमा

सिनेटले आर्थिक अनियमिततामा मुछिएका प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीका सम्बन्धमा निर्णय गर्न सक्ने

Read Time : > 1 मिनेट
२०७८ चैत ७ सोमबार ०७:००:००

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सञ्चालक परिषद् (सिनेट) चैत तेस्रो साता बस्ने भएको छ । प्रधानमन्त्री एवं कुलपति शेरबहादुर देउवाको निर्देशनमा स्वास्थ्यमन्त्री एवं सहकुलपति विरोध खतिवडाले २० चैतमा सिनेट बोलाएका हुन् । स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले प्रतिष्ठानको सिनेट बोलाएको जानकारी दिए । सिनेट बोलाउनुको उद्देश्य खुलाइएको छैन । विवादित छवि बनाएका प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई बर्खास्त गर्न सिनेट बोलाइएको स्रोतले बतायो । मन्त्रालयले सिनेटको पत्र प्रतिष्ठान पठाइसकेको छ । सचिव पोखरेलका अनुसार २० चैत ११ बजेका लागि प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रतिष्ठानको सिनेट बोलाइएको हो । यसअघि सिनेटमा गिरी पक्षका पदाधिकारीको बाहुल्य भएकाले सरकारले चाहेर पनि बैठक बोलाउन सकेको थिएन । 

उपकुलपति गिरीलाई पठाएको पत्रमा लेखिएको छ, ‘बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९ को दफा ११(घ) को उपदफा (१) बमोजिम प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्रीबाट प्रतिष्ठानको सहकुलपतिको अध्यक्षतामा गठित छानबिन समितिबाट छानबिन गरी प्रतिष्ठानका कुलपति एवं सम्माननीय प्रधानमन्त्रीलाई प्रतिवेदन कार्यान्वयनका सम्बन्धमा सोही ऐनको दफा ११(घ) को उपदफा ३ बमोजिम निर्णय गर्न सञ्चालक परिषद् (सिनेट)को बैठक बोलाइएको छ ।’ 

उपकुलपति गिरीलाई कामकाजमा रोक लगाए पनि उनी अदालतबाट आदेश लिएर काममा फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा नेतृत्वको छानबिन समितिले उपकुलपति गिरी मादक पदार्थ सेवन गरेर कार्यालय आउने गरेको र प्राध्यापकको उपाधि कीर्ते रहेको प्रतिवेदन कुलपतिसमक्ष बुझाएको थियो । उपकुलपति गिरीले १५ असार ०७८ मा कार्यालय समयमा आन्दोलनरत पक्षसँग वार्ता गर्ने क्रममा मादक पदार्थ सेवन गरेको र अन्य पदाधिकारीले वार्ताको वातावरण बिगारी थप उत्तेजित बनाएको, उपकुलपति र रजिस्ट्रार दुई पदाधिकारीबीच आपसी विवाद, आरोप–प्रत्यारोप र असमझदारी सञ्चारमाध्यममार्फत छताछुल्ल भएको र यसबाट आन्दोलनरत पक्षको मनोबल बढेको देखिएको छ । 

प्रतिष्ठानमा हाजिर गर्ने, तर काम बाहिर गर्ने, प्रतिष्ठानको जिन्सी सामग्री व्यक्तिगत प्रयोजनका लागि आफ्नो निजी निवासमा लैजाने गरेको स्थानीयको गुनासो छ । चिकित्सा विज्ञानका विभिन्न विधाका जनशक्ति उत्पादनका लागि पदाधिकारीसँग कुनै कार्ययोजना नभएकोसमेत खतिवडा समितिले निष्कर्ष निकालेको छ । 

के छ छानबिन समिति प्रतिवेदनमा ?
स्वास्थ्यमन्त्री विरोध खतिवडा नेतृत्वले पछिल्लो समय तयार पारेको छानबिन प्रतिवेदनमा बिपीका उपकुलपति ज्ञानेन्द्र गिरीले कार्यालय समयमा मादक पदार्थ सेवन (मापसे) गरेको प्रसंगसमेत उल्लेख गरिएको छ । उपकुलपतिले नेतृत्वदायी भूमिका प्रदान गर्न नसकेको, कार्यकारिणी समितिमार्फत गर्नुपर्ने निर्णयसमेत उपकुलपतिको एकल निर्णयबाट गर्ने गरेको प्रतिवेदनमा समेटिएको छ ।

छानबिन प्रतिवेदनद्वारा नियुक्तिका लागि न्यूनतम योग्यता र आधार नपुगेकालाई समेत एसोसिएट प्रोफेसरको पदमा नियुक्ति दिइएको उल्लेख छ । मेडिकल काउन्सिलमा सम्बन्धित विषयको विशेषज्ञका रूपमा दर्ता नभएका चिकित्सकलाई समेत प्रतिष्ठानको विभागीय प्रमुखको जिम्मेवारी दिइएको, प्रतिष्ठानका पदाधिकारीहरू खरिद र यसबाट हुने कमिसनतर्फ आकर्षित हुने गरेको, पदाधिकारी र सम्बन्धित कर्मचारीले बिचौलियाको मिलेमतोमा प्रतिष्ठानभित्रका मेसिन, उपकरण बिगार्ने, रिएजेन्टको कृत्रिम अभाव खडा गर्ने र बिरामीलाई बाहिर पठाउने गरेकोसमेत उजागर गरिएको छ ।