मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नरजन तामाङ
२०७८ चैत ६ आइतबार ०८:०९:००
Read Time : > 1 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

कर्णालीको समृद्धि करिडोर

कर्णाली करिडोरलाई प्रदेश सरकारले पनि पहिलो प्राथमिकतामा राख्ने हो भने कर्णाली प्रदेशको समृद्धि निश्चित छ

Read Time : > 1 मिनेट
नरजन तामाङ
२०७८ चैत ६ आइतबार ०८:०९:००

नेपालको एक मात्रै राष्ट्रिय सडक सञ्जालको पहुँच नपुगेको हिमाली जिल्ला हो, हुम्ला । सडक सञ्जालमा नजोडिएकै कारण यहाँका कैयौँ नागरिक अकालमै ज्यान गुमाउन बाध्य छन् । नेपाल सरकारले निर्माणाधीन कर्णाली करिडोरको कालिकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्ला खण्ड निर्माणको जिम्मा नेपाली सेनालाई ०७३ सालमै दिएको हो । खुलालुदेखि हुम्लाको हिल्सा नाकासम्म २६८ किलोमिटरको दूरी छ । जसमध्ये सेनाले कालिकोटको खुलालुदेखि हुम्लाको चंखेली गाउँपालिकाको सल्लीसल्लासम्मको १२३ किलोमिटर ट्र्याक खोलिसकेको छ । खुलालुदेखि सल्लीसल्लासम्मको ट्र्याक खुलेसँगै नेपालगन्ज–सुर्खेतदेखि मालबाहक, ट्रक, माइक्रोबस, बोलेरो जिप कच्ची सडकमा चल्न थालेका छन् । हुम्लाको दक्षिणका चार गाउँपालिकाका नागरिकले सहज महसुस गर्न थालेका छन् । खुलालुदेखि २६८ किलोमिटर लामो सडकको ट्र्याक खोल्न र सडक ग्राबेल गर्न सरकारले चार अर्ब २५ करोडको इस्टिमेट गरेको छ । हाल हिल्सा–सिमकोट सडक योजनाले एक अर्ब १० करोड खर्चिसकेको छ । 

चीन र नेपालको सीमा हिल्सादेखि सिमकोटसम्मको सडक निर्माण आर्थिक वर्ष ०५५÷५६ देखि नै सुरु भएको हो । यो सडकको ट्र्याकको काम कछुवा गतिमा भइरहेको छ । हरेक क्षेत्रको विकासका लागि सडक अपरिहार्य छ । सडक नभएकै कारण यहाँका नागरिकको जनजीवन फेरिन सकेको छैन । जिल्लाका प्रमुख दलका नेता चुनावी भाषणमा सोझासाझा हुम्ली जनतालाई सपना देखाउँदै सडक जोडिदिने भाषण गर्छन् । तर, त्यो भाषण कहिले पूरा हुने हो, टुंगो छैन । 

राजनीतिक दलमा आबद्ध ठेकेदारले समयमै काम नसक्ने, नेताहरूको आडमा म्याद थपिने तथा उपभोक्ता समिति र ठेकेदारचाहिँ ‘मोटाइरहनु’ हुम्ली जनताको दुर्भाग्य बनेको छ । हिल्सा–सिमकोट सडक योजना कार्यालय ०६८÷०६९ मा स्थापना भएको हो । स्थापनाकालदेखि नै सडक निर्माणले गति लिएको भने देखिन्न । कार्यालय प्रमुखमा जागिरे मानसिकता हुने, जिल्ला धेरै नबस्ने आदि कारणले विकास निर्माणले गति लिन सकेको छैन । गत वर्ष आएका हिल्सा–सिमकोट सडक योजनाका प्रमुख विष्णुदास लामाले जिल्लाका ठेकेदारलाई नियमित जिल्ला बस्न लगाए । आफूले नियमित अनुगमनलाई तीव्रता दिए । जसले गर्दा चार वर्षदेखि तीन किलोमिटर चट्टानमै अल्झिएको च्याछहरा र खार्पु खण्डको बोक्चे गौँडाको काम तीव्र रूपमा अघि बढ्यो । यसबाट नेतृत्वमा इच्छा भएपछि विकास हुने रहेछ भन्ने प्रस्ट हुन्छ । 

राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको ९५ किमिमध्ये चीनको सीमा नाम्खा गाउँपालिकाको हिल्साबाट ओखरथलासम्म ७१ किमि र सिमिकोटदेखि हेप्का खोलासम्म १५ किमि सडकको ट्र्याक मात्र हाल खुला छ । यता सिमकोटबाट दक्षिणमा खार्पुनाथ मन्दिरसम्म ११ किमिमा दैनिक चारवटा जिप र ट्र्याक्टरको आवतजावत हुने गरेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको दुईदिने नेपाल भ्रमणका वेला कर्णालीको जीवनमार्गको रूपमा लिइने कर्णाली करिडोर सुर्खेत–हिल्सा फास्ट ट्र्याकलाई समेटेकोमा कर्णाली प्रदेश सरकारले खुसी व्यक्त गरेको थियो । कोसी, गण्डकीसँगै कर्णाली करिडोरलाई पनि नेपाल–चीनबीच भएको संयुक्त वक्तव्यको पाँच नम्बर बुँदामा समेटेपछि कर्णाली करिडोर समयमै बन्नेमा प्रदेश सरकार आशावादी छ । कर्णाली करिडोरलाई हुम्लाको मात्र नभई समग्र कर्णाली प्रदेशको प्रवेशद्वारका रूपमा लिन सकिन्छ । प्रदेश सरकारले पनि जमुनाह–हिल्सा सडकलाई पहिलो प्रथमिकतामा राख्ने हो भने कर्णाली प्रदेशको समृद्धि निश्चित छ ।