मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मञ्जु टेलर काठमाडौं
२०७८ चैत १ मंगलबार ०८:३०:००
Read Time : > 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

नेपालमा कोभिड संक्रमणदर १ प्रतिशतभन्दा कम

Read Time : > 1 मिनेट
मञ्जु टेलर, काठमाडौं
२०७८ चैत १ मंगलबार ०८:३०:००

अमेरिका, बेलायत, दक्षिण अफ्रिकालगायत अधिकांश देशमा संक्रमणदर ‘जोखिमबाहिर’

नेपालमा दैनिक नमुना परीक्षणको आधारमा कोभिड संक्रमणदर १ प्रतिशतभन्दा तल झरेको छ । आइतबार सात हजार नौ सय ४७ नमुना परीक्षण गर्दा जम्मा ६५ जनामा संक्रमण देखिएको थियो । जुन परीक्षणको आधारमा ०.८४ प्रतिशत हुन्छ । सोमबारसमेत परीक्षण गरिएका नमुनाको आधारमा १.०७ प्रतिशतमा संक्रमण देखिएको छ । कोभिड संक्रमणका कारण हुने मृत्यु शून्यमा झरेको छ । 

हाल देशभर सक्रिय संक्रमितको संख्या चार हजार आठ सय १९ पुगेको छ । जसमध्ये अस्पतालमा ६८ जना मात्र उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अर्थात् सक्रिय संक्रमितको १.४१ प्रतिशत संख्या मात्रै उपचारका लागि अस्पताल भर्ना भएका छन् । नेपालमा मात्रै नभई विश्वका अन्य अधिकांश देशमा दैनिक संक्रमणदर, अस्पताल भर्नादर र मृत्युदर १ देखि २ प्रतिशतमा झर्न थालेको छ । विश्वभर खोपको उच्चतम प्रयोगका कारण अर्को भेरियन्टको जोखिमसमेत घट्दै गएका कारण महामारीको अन्त्य घोषणा गर्न सकिने भाइरोलोजिस्टरूले बताउन थालेका छन् । 

वरिष्ठ भाइरोलोजिस्ट डा. शेरबहादुर पुन भन्छन्, ‘विश्वभरि नै संक्रमणको जोखिम न्यून हुँदै गएको छ । अधिकांश देशले भ्याक्सिन प्रयोगमा ल्याइसकेको र अमेरिका, बेलायतजस्ता उच्च प्रभावित देशले मास्क प्रयोगमा समेत मापदण्ड खुकुलो बनाइसकेका छन् । तत्काल अर्कोै भेरियन्ट नदेखिएकामा विश्व स्वास्थ्य संगठनले महामारीको घोषणा फिर्ता लिन सक्ने सम्भावना देखिएको छ ।’ 

विश्व स्वास्थ्य संगठनको कोभिड मापदण्डअनुसार दैनिक संक्रमणदर ५ प्रतिशतभन्दा न्यून भएमा महामारीको जोखिम हटेको संकेत मानिन्छ । पछिल्लो केही सातायता कोभिड संक्रमणबाट अतिप्रभावित देशहरूमा समेत दैनिक संक्रमणदर २ देखि ३ प्रतिशतमा सीमित हुन थालेको छ । हालसम्मकै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा दैनिक संक्रमितको संख्या ६ हजारको हाराहारीमा आएको छ । तेस्रो लहरको उत्कर्षमा दैनिक ११ लाखभन्दा बढी संक्रमण देखिएको अमेरिकामा संक्रमणदर ह्वत्तै घटेको हो । आइतबार अमेरिकामा ६ हजार तीन सय ८२ जनामा मात्र संक्रमण देखिएको जोन्स हप्किन्स विश्वविद्यालयको कोभिड तथ्यांकले देखाएको छ । 

भारतमा पनि संक्रमणदर सामान्य अवस्थामा फर्केको छ । आइतबार भारतमा दुई हजार पाँच सय दुईजनामा मात्र संक्रमण देखिएको छ । जुन दोस्रो लहरभन्दा पछिको सबैभन्दा कम हो । अधिकांशमा खोपको प्रयोग र संक्रमण भइसकेका कारण बिस्तारै कोभिडविरुद्धको मापदण्डसमेत खुकुलो पारिएको छ । यसबाहेक बेलायत, फ्रान्स, ब्राजिल र अफ्रिकामा संक्रमणदर न्यून हुँदै गएको जोन हप्किन्स विश्वविद्यालयको कोभिड तंथ्याकले देखाएको छ । 

‘शून्य कोभिड नीति’ अपनाएको चीनमा फेरि संक्रमण उकालो
विश्वभर संक्रमणदर घटिरहे पनि चीनमा भने पुनः संक्रमणदर उकालो लागेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार देशभर सोमबार तीन हजार एक सय नयाँ संक्रमित थपिएका छन्, जुन दुई वर्षयताकै उच्च संख्या हो । एक करोड ७० लाखभन्दा बढी जनसंख्या भएको उच्च प्रविधियुक्त सेन्जेन सहरलाई सरकारले भाइरसको थप फैलावट रोक्न बन्द गरेको जनाएको छ । संक्रमण न्यून रहे पनि चीनले महामारी सुरु भएयता नै ‘शून्य कोभिड नीति’ अपनाउँदै आएको थियो ।

चीनमा आइतबार दुई हजार एक सय ४२, शनिबार चार सय ७४ र शुक्रबार सात सय ९० जनामा संक्रमण देखिएको थियो । यसअघि चीनमा दैनिक संक्रमणदर एक सयभन्दा कम थियो । २०२० को मार्चदेखि हालसम्म चीनमा लकडाउन कायम नै छ । जसलाई ‘गतिशील शून्य रणनीति’ अर्थात् कडा तालाबन्दी र तत्काल सामूहिक परीक्षण रूपमा लिइएको चीन सरकारले बताउँदै आएको थियो ।