
बाहिरका हेरालुसँग हुर्केका बालबालिकाहरूको व्यवहारमा उनीहरूकै प्रभाव पर्ने गरेको एक अध्ययनले देखाएको छ। स्विजरल्यान्डमा गरिएको अध्ययनका क्रममा जुरिचको विद्यालयका एक हजार ३०० बालबालिकालाई सहभागी गराइएको थियो।
बाहिरका हेरालुको साथमा धेरै समय छोड्दा उनीहरूकै स्वभाव बालबालिकामा विकास हुने भएकाले बालबालिकालाई आफैँ स्याहारसुसार गर्न पनि अध्ययनकर्ताहरूले सुझाब दिएका छन्। ‘बच्चासँग सकेसम्म घरकै परिवारले समय बिताउनु राम्रो हुन्छ, बाहिरका हेरालुसँग राखियो भने उनीहरुकै बानीअनुसारको व्यवहार बच्चाहरूमा पनि विकास हुने गरेको देखिएको छ,’ अध्ययन प्रतिवेदनमा लेखिएको छ।
यस्तो प्रभाव सामान्यतया प्राथमिक कक्षाको अध्ययन सकिएपछि धेरै प्रकट हुने गरेको अध्ययनले देखाएको छ। अध्ययनमा सहभागी बालबालिकामध्ये ६७ प्रतिशत बालबालिकालाई शिशु कक्षाभन्दा अगाडि पारिवारिक सदस्यभन्दा बाहिरकाले हेरचाह गर्ने गरेको पाइएको थियो। तीमध्ये ३२ प्रतिशतलाई दिवा हेरचाह केन्द्रमा राख्ने गरेको पाइएको छ।
त्यसैगरी, अरू २२ प्रतिशतलाई शिशु स्याहार केन्द्र र अर्को २२ प्रतिशतलाई पारिवारिक सदस्यभन्दा बाहिरका कुनै व्यक्तिले हेरचाह गर्ने गरेका थिए। अध्ययनका अनुसार तीन प्रतिशतलाई भने छिमेकीले हेरचाह गरिदिने गरेका छन् भने १२ प्रतिशतलाई धाइआमाले हेरचाह गर्ने गरेको पाइएको छ। रासस/एएनआई