१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार २१:५९:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

विद्यार्थी मृत्यु प्रकरण :  लमजुङको निषेधाज्ञा १५ घन्टापछि हट्यो 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार २१:५९:oo

जिल्ला प्रशासन कार्यालय लमजुङले सीमा क्षेत्र लमजुङ प्रवेश पाउदीदेखि सिउँडीबारसम्म बुधबार बिहान ६ बजेदेखि लगाएको निषेधाज्ञा १५ घन्टापछि हटाएको  छ । विद्यार्थीको मृत्यु भएको घटनालाई लिएर लमजुङको सिउँडीबार क्षेत्रमा बुधबार बिहान ६ बजेदेखि लगाइएको  निषेधाज्ञा राति ९ बजेदेखि हटाइएको हो । बुधबार  दिनभर यातयात ठप्प भएकाले लामो तथा छोटो दुरीमा हिँडेका यात्रुलाई मध्यनजर गरी सवारी सञ्चालन गर्न आदेश दिएको प्रमुख जिल्ला अधिकारी सुशील बैधले बताए । 

गन्तव्यमा हिँडेका यात्रुहरू  मुग्लिन, डुम्रे, बाइसजाँगरलगायत क्षेत्रमा अलपत्र परेपछि प्रशासनले निषेधाज्ञा हटाएर सडक खुलाएको हो । बुधबार विद्यालय क्षेत्रमा ठूलो संख्यामा स्थानीय बासिन्दा आउने सूचनापछि स्थिति नियन्त्रणमा लिन निषेधाज्ञा जारी गरिएको प्रशासन जनाएको छ।  

सडक खुलाउने विषयमा पीडित पक्ष सहमतिमा आएपछि तनहुँको बाइसजाँगरमा पनि अवरोध हटेको प्रशासनले जनाएको छ । सिउँडीबारस्थित फ्युचरस्टार आवासीय माविमा १० कक्षामा अध्ययनरत तनहुँको भानु नगरपालिका ९, बाइसजाँगरका १८ वर्षीय सनिज श्रेष्ठको मंगलबार दिउँसो मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा डुबेर  मृत्यु भएको थियो । 

होस्टेलमा बसेका विद्यार्थीलाई वार्डेनले बोलाएर पौडी खेल्न गएको र मृत्यु भएको भन्दै पीडित परिवार आक्रोशित छन् । उनीहरूले विद्यालयका सञ्चालक बाबुराम पौडेल र वार्डेन सरोज ओलियालाई कारबाहीको माग गरेका छन् । पीडितपक्ष कानुनी प्रक्रियाबाट अघि बढ्न सहमत भएपछि निषेधाज्ञा खुलेको हो । 

जिल्ला प्रशासनमा भएको पीडित र पीडकपक्षबीचको वार्ता सकारात्मक भएको प्रमुख जिल्ला अधिकारी बैद्यले बताए । वार्ताले घटनाको गम्भीर अनुसन्धान गर्ने, शवको पोस्टमार्टम गर्ने, प्रहरीमा लिखित जाहेरी दिने सहमति भएको छ । यसअघि नियन्त्रणमा लिएका फ्युचर स्टार आवासीय माविका वार्डेन सरोज ओलिया र एकजना विद्यार्थीलाई प्रहरी नियन्त्रणमै राख्ने र सञ्चालक बाबुराम पौडेललाई निगरानीमा राखिने प्रहरीले जनाएको छ । 

विद्यार्थीको मृत्यु प्रकरणलाई लिएर बुधबार दिनभर तनहुँको भानु नगरपालिका ९, बाइसजाँगरका स्थानीय वासिन्दाले सडकमा टायर बालेर डुम्रे बेँसीसहर सडक अवरुद्ध गरेका थिए ।  घटनाको विषयलाई लिएर स्थानीयले संघर्ष समिति बनाएका छन् । घटनाको विरोधमा प्रदर्शनमा उत्रिएका पीडितपक्षले मंगलबार विद्यालयको २ वटा बस,  एउटा भ्यान र स्कुलको गेटसमेत तोडफोड गरेको प्रहरीले जनाएको छ । प्रदर्शनले उग्र रूप लिँदै गएपछि प्रहरीले मंगलबार साँझ अश्रुग्यास प्रहार गर्नुका साथै हवाई फायर र लाठीचार्ज गरेको थियो ।

ad
ad