मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २३ सोमबार
  • Thursday, 19 December, 2024
प्रभात पटनायक
२o७८ फाल्गुण २३ सोमबार o७:३१:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

युक्रेन संकटमा अन्तर्राष्ट्रिय मुद्रा कोषको भूमिका

आइएमएफ अन्तर्राष्ट्रिय वित्तीय पुँजीवादको हिमायती मात्र नभई अन्तर्राष्ट्रिय वित्तीय पुँजीवादका संरक्षक रहेका पश्चिमा पुँजीपति केन्द्रका शक्ति स्वार्थ जोगाउने औजारसमेत बनेको छ

Read Time : > 2 मिनेट
प्रभात पटनायक
नयाँ पत्रिका
२o७८ फाल्गुण २३ सोमबार o७:३१:oo

युक्रेन नेटोमा जोडिन खोज्दा रुसका सुरक्षा चासोबारे सञ्चारमाध्यममा अत्यधिक बहस भएका छन् । तर, समानान्तर मुद्दा रहेको युक्रेनसँगको अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को सम्बन्धलाई सञ्चारमाध्यमले खासै वास्ता गरेको देखिँदैन । आइएमएफले पुँजीपति केन्द्रको प्रवेशका लागि विश्वभरि अर्थतन्त्रलाई ‘खुला’ बनाउने काम गर्छ । जहाँ आइएमएफ ‘लगानीमैत्री’ वातावरण बनाउन श्रमिक एवं जनविरोधी नीति अर्थात् ‘मितव्ययिता’ लागू गर्नुपर्ने सर्त तेस्र्याउँछ । ‘खुला’ बनाइएको अर्थतन्त्रले पुँजीपति केन्द्रले प्राकृतिक स्रोतसाधन र भूमिमा कब्जा गर्ने वातावरण उपलब्ध गराउँछ । यो साविकको कामबाहेक आइएमएफले केही परिस्थितिमा विशेष काम पनि गर्छ । अर्थात् आइएमएफले अमेरिकी सरकारको शीतयुद्धका स्वार्थलाई सघाउने काम पनि गर्छ । र, उसले पहिल्यैदेखि युक्रेनमा पुँजीपति केन्द्रलाई प्रवेश गराउन त्यहाँको अर्थतन्त्र ‘खुलाउन’ ठूलो भूमिका खेलेको छ । 

२०१४ भन्दा अगाडि जब भिक्टर यानुकोभिच युक्रेनका राष्ट्रपति थिए, त्यसबखत युक्रेनले युरोपियन युनियनमा व्यापार अनुकूलनका लागि आइएमएफसँग सौदाबाजी गर्दै थियो । आइएमएफले ज्याला घटाउने, स्वास्थ्य एवं शिक्षालगायत रोजगार प्रदायक क्षेत्रमा ‘सुधार’ एवं ‘खर्च कटौती’ र ग्यासमा दिएको जनअनुदानलाई कम गर्ने सर्त तेस्र्याएको थियो । जनतामा ठूलो आर्थिक बोझ पर्ने भएकाले राष्ट्रपति यानुकोभिच यी ‘सुधार’ मान्न तयार थिएनन् । र, उनले आइएमएफसँगको सौदाबाजी रोके र रुससँग सौदाबाजी थाले । यो अक्षम्य ‘अपराध’ हुन पुग्यो । यही ‘अपराध’ले नवउदारवादी सत्ताको प्रभुत्वलाई अवज्ञा मात्रै नभई पश्चिमा साम्राज्यवादी शक्ति अर्थात् अमेरिका र नेटोलाई नटेर्ने धृष्टता पनि गरेको थियो । यानुकोभिचको कदमसँग क्रुद्ध अमेरिकाले थप ‘क्षति’ नियन्त्रण गर्न युक्रेनका नाजी तत्वको सहयोगमा ‘कु’ मञ्चन गर्न सघायो । अमेरिकाले प्रोत्साहन गरेका नाजी तत्व (एजोभ बटालियन) अहिले औपचारिक रूपमा युक्रेनी सेनामा समाहित छन् । सन् २०१४ मा कुपछि बनेको सरकारले युरोपियन युनियनसँग पुनः सम्झौता अगाडि बढायो । र, ग्यास अनुदान आधा घटाएर देखिएको ‘असल नियत’का कारण आइएमएफबाट २७ अर्ब डलर ऋणको प्रतिबद्धता पायो । 

यो ऋणका केही उल्लेखनीय विशेषता छन् । पहिलो, यो ऋण अनुदान साबिकको भन्दा ६ गुणाले बढी हो । दोस्रो, ऋण पाएको युक्रेन गृहयुद्धको चपेटामा परेको छ र सामान्यतया आइएमएफले युद्धग्रस्त मुलुकमा ऋण प्रवाह गर्दैन । र, अन्तिम विशेषता भनेको पुँजीपति केन्द्रलाई युक्रेनमा प्रवेश गराएर त्यहाँको जमिन र प्राकृतिक स्रोत विशेषतः प्राकृतिक ग्यासमा कब्जा जमाएर ऋण असुली गराउनु हो किनभने युक्रेनसँग ऋण फिर्ता गर्ने सामथ्र्य नभएको प्रस्टै छ । युक्रेनमा सन् २०१४ को आइएमएफको क्रियाकलाप आइएमएफले पहिल्यैदेखि गर्दै आएको काम अर्थात् अर्थतन्त्र ‘खुला बनाएर’ पुँजीपति केन्द्रलाई पोस्ने मात्रै नभई शीतयुद्धका अमेरिकी स्वार्थबाट प्रेरित देखिन्छ । पुँजीपति केन्द्रलाई पोस्न २७ अर्ब डलरभन्दा निकै कम ऋणले काम गथ्र्यो । तर, २७ अर्ब डलरको विशाल ऋणले युक्रेनलाई आफ्नो अधीनमा राख्न खोज्ने अमेरिका, युक्रेनी सम्भ्रान्त, ‘कु’पश्चातको सरकार र आइएमएफको गठजोडलाई प्रस्ट्याउँछ ।   

अहिले रुसी अतिक्रमण चलिरहँदा युक्रेनले आइएमएफसँग सहयोगका लागि पुनः आग्रह गरेको छ र हालका आइएमएफका प्रबन्ध निर्देशक क्रिस्टलिना जोर्जिभाले आइएमएफको निर्देशक मण्डललाई सहयोग प्रदान गर्न सिफारिस गरेकी छिन् । ऋण सहयोगको रकम र प्रयोजन अहिलेसम्म खुलस्त छैन । युद्धपछि जेसुकै नतिजा आओस् युक्रेनले ग्रिसको नियति व्यहोर्नुपर्ने देखिन्छ । ग्रिसका सन्दर्भमा पनि आइएमएफको ऋण साबिकको भन्दा धेरै रहेको थियो । र, अहिले ग्रिस चिरस्थायी ऋणको दुश्चक्रमा फसेको छ । 

स्थापनाकालपछि आइएमएफमा ठूला परिवर्तन देख्न सकिन्छ । सन् १९४४ मा ब्रेटन वुड्समा आइएमएफको स्थापना भएको थियो र यसको उद्देश्य राज्य नियन्त्रित अर्थतन्त्र हासिल गर्नु थियो । बेलायती अर्थशास्त्री जोन मेनार्ड केइनेस र अमेरिकी प्रतिनिधि ह्यारी डेक्स्टर ह्वाइट दाइराजिस्त हस्तक्षेपका पैरवीकर्ता हुन् । व्यापार र पुँजी नियन्त्रण लागू गरिरहँदा यदि कुनै मुलुकमा भुक्तानी सन्तुलनको समस्या उत्पन्न हुन्छ, सो मुलुकले अर्थतन्त्रलाई ‘स्थिर’ बनाउन ऋण लिन सक्थ्यो ।

कालान्तरमा आइएमएफ ‘संरचनात्मक समायोजन’को हिमायती भयो । आइएमएफले भुक्तानी सन्तुलनमा गडबडी हुँदा ऋण दिने काम मात्रै नगरी नवउदारवादी सत्ताका नीतिलाई पोस्ने काम पनि गर्‍यो । दाइराजिस्त व्यवस्थाको हिमायती बनेको आइएमएफ सारमा आफैँ दाइराजिस्त व्यवस्थाको संहारकर्ता बन्यो र नवउदारवादी सत्ताको संयन्त्र बन्न पुग्यो । अहिले आइएमएफ अन्तर्राष्ट्रिय वित्तीय पुँजीवादको औजार बनेको छ, जसले हस्तक्षेप गर्न विश्वका कुनै कुना बाँकी राखेको छैन । यति मात्रै नभई अन्तर्राष्ट्रिय वित्तीय पुँजीवादका संरक्षक रहेका पश्चिमा पुँजीपति केन्द्रका शक्ति स्वार्थ जोगाउने औजार पनि बनेको छ । 
भ्लादिमिर पुटिनका कदम कुनै पनि कोणबाट अन्तर्राष्ट्रिय वित्तीय पुँजीको प्रभुत्वविरुद्धको संघर्ष होइन ।

पुटिन अन्तर्राष्ट्रिय वित्तीय पुँजीको हिमायती संस्थाले छिमेकी मुलुकमा लादेको वर्चस्वविरुद्ध वैचारिक लडाइँ लड्ने समाजवादी होइनन् । उनको चासो रुसी सुरक्षासँग मात्रै जोडिएको छ, अर्थात् रुसलाई नेटोले नाघेरोस् भन्नेमा सीमित छ । र, आइएमएफको ‘ऋण सहयोग’ साटो यानुकोभिचलाई रुसी सहयोग दिने प्रस्तावका पछाडि पनि रुसी सुरक्षा चासो मात्रै देखिन्छ । अर्को शब्दमा भन्नुपर्दा पुटिन अमेरिकी भूरणनीतिक स्वार्थको प्रवद्र्धकका रूपमा आइएमएफले वहन गरिरहेको भूमिकालाई लिएर मात्रै चासो राख्छन्, न कि नवउदारवादको प्रवद्र्धकका रूपमा आइएमएफको वहन गरिरहेको भूमिकासँग । वास्तवमा अत्यधिक असमानता र नवउदारवादी शासनले जन्माएको चरम नैराश्य पनि पुटिनको तथाकथित ‘प्राप्ति’भन्दा कम छैन । न्युज क्लिक इनबाट