मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ फाल्गुण २२ आइतबार ०९:३८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नोबेल मेडिकल कलेजको ठगीविरुद्ध आन्दोलन गर्ने १० विद्यार्थी असुरक्षित

Read Time : < 1 मिनेट
२०७८ फाल्गुण २२ आइतबार ०९:३८:००

नोबेल मेडिकल कलेजले बढी शुल्क असुलेर गरेको ठगीविरुद्ध आन्दोलनमा उत्रिएका १० विद्यार्थीले असुरक्षित भएको भन्दै अन्य कलेजमा सारिदिन माग गरेका छन् । आफूहरूको याचना प्रदेश सरकारबाट सुनुवाइ नभएपछि उनीहरू संघमा आएका हुन् । 

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले अब नोबेलमा पढ्न नसकिने बताएका छन् । ‘कलेजले अतिरिक्त शुल्क लिन खोजेपछि नमानेका हौँ,’ पीडित विद्यार्थी दमना कार्कीले भनिन्, ‘अब हामीलाई कलेजमा असुरक्षा छ । अन्यत्र सारिदिन हाम्रो माग छ ।’ 

नोबेल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज र मणिपाल मेडिकल कलेजमा पहिलो वर्षमा भर्ना भएका विद्यार्थीसँग कलेज सञ्चालकले अतिरिक्त रकम असुलेपछि विद्यार्थीहरू आन्दोलनमा थिए । तर, अहिले अन्य मेडिकल कलेजमा सहमति भएको छ । नोबेल मेडिकल कलेजमा भने आन्दोलनको ८२ दिनसमम्म पनि न्याय नपाएको १० विद्यार्थीको गुनासो छ । सय विद्यार्थी कोटा पाएको नोबेलमा ९० विद्यार्थी भने अहिले पठनपाठनमा छन् ।

सरकारले उपत्यकाबाहिर एमबिबिएसमा अध्ययन गर्न ४४ लाख ३७ हजार शुल्क तोकेको छ । उपत्यकाभित्र भने ४० लाख तोकेको छ । पहिलो किस्ताबापत १४ लाख ८५ हजार बुझाएर एमबिबिएस प्रथम वर्षमा भर्ना भएका विद्यार्थीसँग नोबेलले विभिन्न शीर्षकमा चार लाखभन्दा बढी रकम असुल्न खोजेपछि आफूहरू आन्दोलनमा आउन बाध्य भएको पीडित विद्यार्थीको गुनासो छ । 

‘विगतमा अतिरिक्त शुल्क रोक्न हाम्रो माग थियो । अहिले सबैले सम्झौता गरेका कारण हामीलाई थ्रेट भएको छ । हामीलाई सबैको साथ–सहयोग नभएकाले थप संकटमा परेका हौँ,’ अर्की पीडित विद्यार्थी सदीक्षा आचार्यले भनिन् । 

नेपाल विद्यार्थी संघका महासचिव बलदेव तिमिल्सिनाले पीडित विद्यार्थीलाई साथ दिने वचन दिए । राजधानीकेन्द्रित आन्दोलन हुँदा हिजो अरूलाई पनि साथ–सहयोग गरेको भन्दै उनले नोबेलका १० विद्यार्थीको पक्षमा नेविसंघ उभिने बताए । महासचिव तिमिल्सिनाले पीडित विद्यार्थीको सुरक्षाको प्रत्याभूति राज्यले गर्नुपर्ने बताए ।