जनकपुर साहित्य महोत्सवमा राजा जनकको दरबारको झल्को

आइतबार, २२ फागुन, २०७८
डिजिटल संस्करण
जनकपुर साहित्य महोत्सवमा राजा जनकको दरबारको झल्को

जनकपुर साहित्य महोत्सवको अन्तिम दिन ‘मधेसको आर्थिक अवस्था’ सेसनमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल र मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसँग अन्तक्र्रिया गर्दै कान्तिपुर दैनिकका सम्पादक उमेश चौहान ।

प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा राजा जनकको दरबारमा ऋषि–महर्षि तथा विद्वान्हरूबीच शास्त्रार्थ, मन्थन, छलफल गर्ने परम्परा थियो । राजा जनकले यज्ञवल्क्य, अष्टवक्र, शुकदेवजस्ता दार्शनिकलाई दरबारमा निम्त्याई दर्शन, तŒवज्ञानबारे महिनौँसम्म शास्त्रार्थ चलाउने गरेको धर्मशास्त्रहरूमा उल्लेख छ । शास्त्रार्थका विजयीलाई उनी पुरस्कृत गरी पठाउँथे । त्यसकै झल्को दिने गरी नव मिथिला फाउन्डेसनले पछिल्लो तीन वर्षदेखि जनकपुरधाममा जनकपुर साहित्य महोत्सवको आयोजना गर्दै आएको छ । 

महोत्सवको अन्तिम दिन शनिबार राजनीतिमा महिला, मधेसको आर्थिक अवस्था, राजनीतिमा परिवर्तन, मिथिला साहित्यलगायतका विषयमा चर्चा भएको छ । मधेसको आर्थिक विषयमाथिको सेसनमा मधेसका मुख्यमन्त्री लालबाबु राउतले सुविधासम्पन्न स्थानमा बसेर गरिब विपन्न मानसिकताले बनाएको योजना कार्यान्वयनमा ल्याउन समस्या भइरहेको बताए । 

जनता आवास कार्यक्रममाथि टिप्पणी गर्दै मुख्यमन्त्री राउतले भने, ‘जनता आवास कार्यक्रम’अन्तर्गत दलित विपन्नको घर बनाउने त भनियो, तर त्यसको बजेट एकदमै न्यून छ । त्यसले कसरी घर बनाउन सकिन्छ ? पाँच–सात वर्षअघि बनाएको बजेटलाई परिमार्जन गरिएको छैन, जबकि वर्षैपिच्छे हरेक वस्तुको मूल्य बढ्दै गएको छ ।’

संघीय सरकारले कर्मचारी व्यवस्थापन नगर्दासमेत काममा समस्या हुने गरेको मुख्यमन्त्री राउतले बताए । कान्तिपुर दैनिकका सम्पादक उमेश चौहानले त्यही सेसनमा सहभागी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेललाई आयोगले बनाएका योजना कार्यान्वयनमा भइरहेको समस्या तथा ढिलाइबारे प्रश्न गरेका थिए । जवाफमा उपाध्यक्ष पौडेलले भने, ‘योजनाहरू बनाउँदा बजेटको अभाव, कर्मचारीको थिचोमिचो, अस्थिर राजनीतिलगायतले योजना कार्यान्वयनमा ढिलाइ हुने गरेको छ ।’ 

‘राजनीतिमा परिवर्तन’ विषयक सेसनमा कांग्रेस महामन्त्री गगन थापाले संघीय व्यवस्थामा पनि राजनीतिक पार्टीहरू पुरानै शैलीमा चलिरहेकाले परिवर्तन आवश्यक रहेको बताए । ‘कांग्रेसका मात्र होइन, नेपालका सबै पार्टीमा नेताहरूले आफैँ क्रियाशील सदस्यता वितरण गर्ने र फेरि त्यही सदस्यहरूलाई मत दिन लगाउने परम्परा छ,’ महामन्त्री थापाले भने, ‘त्यसकारण यस्ता परम्परालाई फेर्नुपर्छ र खुला सदस्यताको प्रावधान राख्नुपर्छ ।’ 

निर्वाचनमा उम्मेदवारले सीमित रकम खर्च गर्न पाउनुपर्छ भनेर निर्वाचन आयोगले आचारसंहिता बनाए पनि ती आचारसंहिता पालन नभएको महामन्त्री थापाले बताए । उनले भने, ‘यो कुरा निर्वाचन आयोग, राजनीतिक दल र नेताहरू सबैलाई थाहा छ, तर पनि त्यही आचारसंहिता अझै छ । यस्ता व्यावहारिक विषय परिमार्जन गर्दै जाने हो भन्ने मात्रै राजनीतिमा परिवर्तन देखिन्छ ।’

१९ फागुनदेखि सुरु भएको महोत्सव शनिबार सम्पन्न भएको छ । महोत्सवअन्तर्गतका २० सेसनमा ६५ जना वक्ता सहभागी भएको आयोजक संस्था नव मिथिला फाउन्डेसनका अध्यक्ष मनीष झाले बताए । 

सुझावित समाचार