१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ फाल्गुण २० शुक्रबार २०:५२:००
Read Time : > 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

हेटौँडामा बृहत् साहित्य महोत्सव

Read Time : > 1 मिनेट
२०७८ फाल्गुण २० शुक्रबार २०:५२:००

हेटौँडामा बृहत् साहित्य महोत्सव आयोजना गरिएको छ । शुक्रबार र शनिबार दुई दिन सञ्चालन हुने साहित्य महोत्सव मकवानपुरे महिला साहित्यकारहरूको संस्था आँचल साहित्य कला पुञ्जले आयोजना गरेको हो । हेटौँडा उपमहानगरपालिकाको सहयोगमा आँचलले मकवानपुरमा पहिलोपटक देशभरका साहित्यकार समेटेर महोत्सवको आयोजना गरेको दाबी गरेको छ । दुई दिन सञ्चालन हुने महोत्सवमा देशका विभिन्न स्थानबाट ६० जनाभन्दा बढी साहित्यकार भेला भएका छन् । करिब दुई सयजना सहभागी हुने महोत्सवमा साहित्यका विभिन्न क्षेत्रमा बहस हुने आयोजक संस्था आँचलकी सचिव भावना सापकोटाले जानकारी दिइन् । 

उनका अनुसार शुक्रबार उद्घाटनपछि  महोत्सवमा ‘साहित्यमा राजनीति’ विषयमाथि बहस सुरु गरिएको थियो । त्यस्तै, महोत्सवमा कविता, गीत, गजल, मुक्तक वाचन कार्यक्रम रहेको छ । महोत्सवमा ‘समकालीन कविताको मार्ग चित्र’, ‘मकवानपुरको साहित्यिक महक’ विषयमाथि बहसको कार्यक्रम रहेको सचिव सापकोटाले बताइन् । महोत्सवमा ‘भाषिक दृष्टिले साहित्यमा नारी’ विषयमा कार्यपत्र प्रस्तुत हुनेछ र त्यसमाथि बहस हुनेछ । महोत्सवमा सांगीतिक कार्यक्रम, पुस्तक प्रर्दशनी, कला प्रर्दशनीसमेत हुनेछ । 

‘साहित्यमा राजनीति’ विषयको बहसका लागि भुपाल राई, धनकुमारी सुनार र घनश्याम घिमिरे वक्ता रहेका छन् । यसको सहजकर्ता ठाकुर बेलबासेले गरेका थिए । ‘मकवानपुरको साहित्यिक महक’ विषयको बहसमा तारालाल श्रेष्ठ, विना थिङ र सञ्जय साह बहसकर्ता र सुवास खनाल सहजकर्ता थिए । ‘समकालीन कविताको मार्ग चित्र’ विषयमा भूषिता वशिष्ठ, नेत्र एटम र चन्द्र गुरुङ वक्ता रहेका छन् । यसको सहजकर्ता निमेष निखिल छन् । यसैगरी, ‘भाषिक दृष्टिले साहित्यमा नारी’ विषयमा कार्यपत्र ज्ञानु अधिकारीले प्रस्तुत गरेकी छिन् । कार्यपत्रमाथि प्रणेता र राम अविकाशले टिप्पणी गरेका थिए । 

साहित्यका विभिन्न विषय, साहित्य र समाजसँग जोडिएका विषयवस्तुमाथि बहस, अन्तर्क्रियासहित नेपाली भाषा साहित्यको उत्थान र विकासका लागि महोत्सवको आयोजना गरिएको आँचल अध्यक्ष अनिता न्यौपानेले बताइन् । महोत्सवले मकवानपुरको भाषा, साहित्य, कला, संस्कृति, प्रकृति, पर्यटन, इतिहास, सम्पदा,  दर्शन, उद्योग व्यापार र समग्र सामाजिक विकासमा टेवा पुग्ने उनको दाबी छ । महोत्सवले भाषा साहित्यको विकास र संरक्षण गर्दै फरकफरक परिवेश, समूह, भाषा, संस्कृति तथा रहनसहनमा रहेका साहित्यकारबीच साहित्य आदान–प्रदान हुने अध्यक्ष न्यौपानेले उल्लेख गरिन् । सााहित्य, भाषा, तथा कलाको अहिलेको अवस्थाका बारेमा बहस हुने भएकाले साहित्यलाई अझ परिष्कृत र बलियो बनाउँदै लैजाने अपेक्षा महोत्सवबाट लिइएको उनको भनाइ छ ।