मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
पत्रकार उमाकान्त पाण्डे
नयाँ पत्रिका काठमाडौं
२०७८ फाल्गुण १९ बिहीबार ०८:०७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

दूतावासविरुद्ध स्टाटस लेखेकै अभियोगमा पत्रकार पाण्डेलाई तीन महिना कैद सजाय

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ फाल्गुण १९ बिहीबार ०८:०७:००

दूतावासकै योजनामा फसाइएको दाबी

सामाजिक सञ्जाल फेसबुकमार्फत युएईस्थित नेपाली दूतावासको आलोचना गरेकै आरोपमा पत्रकार उमाकान्त पाण्डेले तीन महिना जेल सजाय र झन्डै आठ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ । उनलाई दुबई अदालतले मंगलबार तीन महिना जेल सजाय हुने फैसला गरेको हो । दुबई बसेर नेपाली पत्रकारिता गर्दै आएका पाण्डेलाई सजाय भुक्तानपछि युएई सरकारले देश निष्कासन (डिपोट) गर्नेछ । उनका सबै सामग्री जफत हुने र सामाजिक सञ्जाल फेसबुक बन्द गरिनेछ । पाण्डेले जरिवानाबापत २० हजार दिराम (सात लाख ९९ हजार चार सय रुपैयाँ) जरिना तिर्नुपर्नेछ । 

गत जनवरीमा नेपालमै हुँदा उनले युएईस्थित नेपाली दूतावासको क्रियाकलापका सम्बन्धमा फेसबुकमा स्टाटस लेखेका थिए । त्यसलगत्तै रुष्ट दूतावासका कर्मचारीले दुबई प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा उनलाई प्रहरीले गत ३ फागुनमा पाण्डेलाई पक्राउ गरेको थियो । लगत्तै अबुधावीस्थित अल वाथ्बा जेलमा राखिएको थियो । सामाजिक सञ्जालमा स्टाटस लेखेकै विषयलाई कसुर ठहर्‍याएर दुबई अदालतले यस्तो फैसला गरेको हो । 

नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले दूतावासका सम्बन्धमा स्टाटस लेखेकै कारण उजुरी गर्नु र सजाय हुनु अभिव्यक्ति स्वतन्त्रताविपरीत भएको बताए । ‘पाण्डेजीले युएईस्थित नेपाली दूतावासको क्रियाकलापका सम्बन्धमा स्टाटस लेख्नुभएको रहेछ । सोही विषयमा दूतावासले दुबई प्रहरीमा जाहेरी दिएपछि उनलाई पक्राउ गरी जेल हालिएको थियो । दुबई अदालतले गरेको सजाय नेपालको कानुनविपरीत छ । नेपाली दूतावासको कदमले अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गरेको छ । नेपाल पत्रकार महासंघले दूतावासको यो कदमको विरोध गर्छ,’ उनले भने ।

महासंघका अनुसार स्टाटसविरुद्ध दूतावासका कर्मचारी इरफान खानले प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीपछि पाण्डेलाई प्रहरीले पक्राउ गरेको थियो । सामाजिक सञ्जाल दुरुपयोग गरी नियोगको मानहानि गरेको आरोपमा उनलाई पक्राउ गरिएको थियो । दुबई अदालतले उनलाई सोही अभियोग प्रमाणित गरेर सजाय सुनुवाइ गरेको हो । पाण्डे केही वर्षदेखि स–परिवार दुबई बस्दै आएका छन् । उनलाई पक्राउ गरेलगत्तै महासंघले युएईस्थित नेपालका लागि राजदूत कृष्ण ढकालसँग समन्वय गरेको थियो । पाण्डेविरुद्ध दूतावासले जाहेरी नदिएको उनले महासंघलाई बताएका थिए । अदालतको फैसलापछि राजदूत ढकाल बिदामा बसेको महासंघले जनाएको छ ।

युएई दूतावासले पाण्डेलाई नियोजित ढंगले पक्राउ गर्न लगाएको भन्दै पत्रकार महासंघले यो विषय इन्टरनेसनल फेडेरेसन अफ जर्नानिस्ट (आइएफजे)मा लैजाने जनाएको छ । महासंघले पाण्डेको रिहाइका लागि परराष्ट्रमन्त्री डा.नारायण खड्कालाई बिहीबार भेट्नेछ । त्यसबाहेक युएईस्थित दूतावाससँग पनि समन्वय गर्नेछ । ‘दूतावासले नियोजित ढंगले पाण्डेलाई पक्राउ गर्न लगाएको हाम्रो ठहर छ । यो विषय अब हामी आइएफजेमा उठाउँछौँ । किनकि यो नागरिकको अभिव्यक्ति स्वतन्त्रताको खिलाप छ । पाण्डे रिहाइका लागि हामी भोलि नै परराष्ट्रमन्त्रीलाई भेट्नेछौँ,’ उनले भने ।

दुबईको कानुनअनुसार अदालतको फैसला चित्त नबुझे फैसला भएको १४ दिनसम्म अदालतविरुद्ध अपिल गर्न सकिन्छ । पत्रकार महासंघले यो कदम पनि अघि बढाउनेछ । यसका लागि महासंघले केन्द्रीय सदस्य सुनील खड्कालाई यसअघि नै दुबई पठाइसकेको छ ।