१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o६:३४:oo
Read Time : > 2 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

युक्रेनमा गरिहिँदै मानवीय संकट 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:३४:oo

रेडक्रस, संयुक्त राष्ट्रसंघ र ओएससिईलाई मानवीय करिडोरको व्यवस्था मिलाउन युक्रेन सरकारको गुहार
महाशक्ति रुसले पहिलो खेपको आक्रमणमा युक्रेनलाई कब्जा गर्न नसकेपछि राजधानी किभलगायत महत्वपूर्ण सहर घेर्दै शक्तिशाली हतियारसहित ठूलो संख्यामा सैनिक तैनाथी बढाएको छ । आक्रमणको सातौँ दिन रुस थप आक्रामक रूपमा प्रस्तुत भएपछि युक्रेन सरकारले युद्धग्रस्त क्षेत्रबाट नागरिकलाई सुरक्षित बाहिर निकाल्न मानवीय करिडोरको व्यवस्था गरिदिन रेडक्रस, संयुक्त राष्ट्रसंघ तथा सुरक्षा र सहयोगका लागि युरोपेली संगठन (ओएससिई)लाई गुहारेको छ । 

रुसी सेनालाई युक्रेन, युक्रेनको इतिहास र हामी सबैलाई नामेट गर्न आदेश छ : भोलोदिमिर जेलेन्स्की राष्ट्रपति, युक्रेन 

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जारी रुसी आक्रमणलाई दोस्रो विश्वयुद्धको समयको जर्मन नाजी सेनाले यहुदीहरूको नरसंहारसँग तुलना गरेका छन् । ‘यो आक्रमणले अधिकांश रुसीका लागि किभ पूरै पराइ भएको प्रमाणित गरेको छ । रुसी सेनालाई युक्रेन, युक्रेनको इतिहास र हामी सबैलाई नामेट गर्ने आदेश आएको छ,’ उनले विज्ञप्तिमा भनेका छन् ।

युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा बुधबार रुसले प्याराट्रुपरहरू उतारेर युद्ध चर्काएको छ । दक्षिणी सहर खार्सनलाई रुसी सेनाले घेरा हालेर युक्रेनी सुरक्षा बललाई आत्मसमर्पण गर्न चेतावनी दिएको र समयसीमामा आत्मसमर्पण नगरे सबैलाई मारिदिने धम्की दिएको त्यहाँका मेयरको विज्ञप्तिमा उल्लेख छ । किभतर्फ अघि बढिरहेको रुसी सेनाको ६५ किलोमिटर लामो लस्कर सहरको पन्ध्र किलोमिटरनजिक पुगेको समाचार आएका छन् । राजधानी कब्जामा लिन रुसले विध्वंसक आक्रमण गर्न सक्ने सन्त्रास व्याप्त छ । युक्रेनी सेनाले छापामार शैलीमा प्रतिरोध जारी राखे ठूलो संख्यामा गैरसैनिक नागरिक मारिन सक्ने खतरा देखिएको छ । युक्रेनी उपप्रधानमन्त्री इर्ना भरेसचुकले युक्रेनका सहरहरू ‘विध्वंसको आगोमा’ झिल्सिरहेको बताएका छन् । 

युक्रेनी सैन्यबल र नागरिकबीचको सम्पर्क सञ्जाल तोड्न रुसले किभका महत्वपूर्ण सञ्चार, विद्युत् पूर्वाधारका साथै गैरसैन्य सरकारी कार्यालयहरूमाथि क्षेप्यास्त्र प्रहार गर्न थालेको छ । यसअघि युक्रेनी सेनाको प्रोपोगान्डा र भ्रामक प्रचार रोक्न भन्दै रुसले युक्रेनका सञ्चार पूर्वाधारका ठेगानाहरूलाई प्रिसिजन हतियारद्वारा ध्वस्त पार्न लागेकाले त्यस्ता संरचना वरपरका नागरिकहरूलाई अन्यत्र जान भनेको थियो । अहिले नै किभलगायत सहरहरूले विद्युत्, खानेपानी र औषधिसमेतको अभाव सामना गर्न थालेका छन् । बढ्दो चिसोबाट बच्न नागरिकहरूले सरसामानहरू बाल्न थालेको समाचारहरू आएका छन् । 

सयुक्त राष्ट्रसंघीय शरणार्थी उच्च आयुक्त कार्यालय (युएनएचसिआर)का अनुसार आक्रमण सुरु भएयता युक्रेन छाड्ने शरणार्थीको संख्या आठ लाख ३५ हजार नाघेको छ । यसमध्ये आधाभन्दा धेरै पोल्यान्ड पुगेको युएनएचसिआरले उल्लेख गरेको छ । युरोपले शरणार्थीको बाढीको सामना गर्नुपर्ने देखिएको छ । 

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमाथि आक्रमण सुरु गरेयता ६ हजार रुसी सेना मारिएको दाबी गरेका छन् । युक्रेनको आपत्कालीन सेवाले रुसी आक्रमणबाट अहिलेसम्म दुई हजार युक्रेनी नागरिक मारिएको भनेको छ । तर, संयुक्त राष्ट्रसंघले भने अहिलेसम्म एक सय ३६ सर्वसाधारण मारिएको पुष्टि गरेको छ । ‘हरेक घन्टा बालबालिका, महिला र सुरक्षा बलले आफ्नो जीवन गुमाइरहेका छन्,’ उसले विज्ञप्तिमा भनेको छ । रुसले भने अहिलेसम्म हताहतीको संख्याबारे प्रतिक्रिया दिएको छैन । 

युक्रेन युद्धले रुसी अर्थतन्त्र दबाबमा, युरोपमा ग्यासको मूल्य एकै दिन ६० प्रतिशतले वृद्धि 
युक्रेनमाथि आक्रमण गरेपछि रुसमाथि आर्थिक प्रतिबन्ध बढिरहेको छ । यसले रुसी अर्थतन्त्र ठूलो दबाबमा परेको छ । रुसी मुद्रा एवं सम्पत्तिको तीव्र अवमूल्यन हुन थालेपछि ठूलो मात्रामा पुँजी पलायनको सम्भावना बढेको छ । रुसमा नगदको अभाव हुन नदिन र पुँजी पलायन रोक्न भन्दै केन्द्रीय बैंकले विदेशमा पैसा स्थानान्तरण बन्द गरेको छ । 

‘रुसी वित्तीय बजारबाट नगद निर्यात रोक्न र वित्तीय स्थिरता कायम राख्न बैंक अफ रसियाले केही समयका लागि गैरआवासीय कर्पाेरेट एवं व्यक्तिगत खाताबाट विदेशी बैंक खातामा रकमान्तर सेवा बन्द गरेको छ,’ रुसको केन्द्रीय बैंकलाई उद्धृत गर्दै रुसी समाचार एजेन्सी तासले जनाएको छ । रुबलको मूल्यमा तीव्र गिरावट भएर मस्को स्टक एक्सचेन्ज लगातार तेस्रो दिनसमेत बन्द भएपछि केन्द्रीय बैंकले यस्तो कदम चालेको हो । यो बन्देज रुसी नागरिक एवं कमनवेल्थ अफ इन्डिपेन्डेन्ट स्टेट (सिआइएस)का विदेशी नागरिकमा भने लागू नहुने जनाइएको छ । बढ्दो विश्वव्यापी दबाब एवं अन्तर्राष्ट्रिय प्रतिबन्धको लहरका बाबजुद रुस भने युद्ध चर्काउन दृढ देखिएको छ ।

यसैबीच युरोपमा ग्यासको मूल्यले प्रतिदिन नयाँ कीर्तिमान बनाइरहेको छ । युद्धका कारण ग्यासको आपूर्तिमा अवरोध आउन सक्ने चिन्ता आपूर्तिकर्ताहरूले व्यक्त गरेपछि प्रतिमेगावाट आवर ग्यासको मूल्य दुई सय १५ डलर पुगेको छ । बुधबार एकै दिन ६० प्रतिशतले मूल्यवृद्धि भएको छ । यद्यपि, अहिलेसम्म रुसले युरोपमा पाइपलाइनमार्फत पठाइरहेको ग्यास तथा इन्धनको परिमाण भने घटाएको छैन । तर, पानीजहाजबाट हुने आपूर्तिमा भने समस्या देखिएको छ । युरोपको झन्डै तीन प्रतिशत ग्यास पानीजहाजबाट आपूर्ति हुनेगर्छ । युरापेली संघले रुसबाट ४० प्रतिशत ग्यास आयात गर्छ । 

ad
ad