१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ फाल्गुण १८ बुधबार १०:२८:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भुक्तानी ढिलाइले बिपी प्रतिष्ठानमा बिमा सेवा बन्द हुने अवस्थामा    

Read Time : > 2 मिनेट
२०७८ फाल्गुण १८ बुधबार १०:२८:००

स्वास्थ्य बिमा बोर्डले २६ करोड भुक्तानी गर्न ढिलाइ गर्दा बिपी प्रतिष्ठानमा आर्थिक संकट

लामो समयदेखि स्वास्थ्य बिमा बोर्डले सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बिमाबापतको करोडौँ रकम शोधभर्ना गरेको छैन । शोधभर्ना समयमा नदिँदा प्रतिष्ठान आर्थिक संकटमा छ ।  

एक महिनाभित्र बिमाबापतको रकम शोधभर्ना नदिए प्रतिष्ठानले दिँदै आएको बिमा सुविधा बन्द गर्नुपर्ने अवस्था आएको भन्दै स्वास्थ्य बिमा बोर्डलाई प्रतिष्ष्ठान प्रशासनले पत्र लेखेको छ । स्वास्थ्य बिमा बोर्डको सहकार्यमा प्रतिष्ठानले स्वास्थ्य बिमितलाई नि:शुल्क सेवा दिँदै आएको थियो । बिमा सेवाबापत बिमा बोर्डले प्रतिष्ठानले पेस गरेको कागजातका आधारमा मूल्यांकन गरी भुक्तानी गर्ने प्रावधान छ । गत कात्तिकदेखि प्रतिष्ठानले दाबी गरेको रकम बोर्डले भुक्तानी नगर्दा प्रतिष्ठान सञ्चालनमा समस्या आउने देखिएको अस्पतालका प्रशासकीय अधिकृत अशोक साहले जानकारी दिए ।

बिमितको कागजपत्रसहित साप्ताहिक रूपमा प्रतिष्ठानले भुक्तानी दाबी गर्ने गरेको छ । प्रतिष्ठानले दाबी गरेको मूल्य बोर्डले रुजु गरेर भुक्तानी पाउने गरेको थियो । महिनामा तीन करोडभन्दा बढीको दाबी हुने गरेको छ । बिमाका कर्मचारीले प्रतिष्ठानले दाबी गरेको शोधभर्ना रकमको मूल्यांकन नै नगरिदिँदा प्रतिष्ठानलाई दैनिक कार्य सञ्चालनका लागि समस्या भएको अस्पतालका निर्देशक प्रा.डा. गौरीशंकर साहले बताए ।

०७४ देखि बिमा सुविधा दिँदै आएको प्रतिष्ठानलाई बोर्डले भुक्तानी गर्न २६ करोड देखिएको छ । गत कात्तिक २८ यता कुनै दाबी स्वीकृत नगरेको साहले बताए । प्रतिष्ठान स्वशासित संस्था भएकाले यहाँका कर्मचारी, चिकित्सक तथा पदाधिकारीका लागि प्रतिष्ठान आफैँले तलबभत्तालगायतका सेवा–सुविधा उपलब्ध गराउँदै आएको छ । आन्तरिक आम्दानीले नै प्रतिष्ष्ठान चलाउनुपर्ने बाध्यता भएको प्रतिष्ठानको मुख्य आम्दानी भनेकै बिरामीको सेवाबाट हो । दैनिक प्रतिष्ठानमा आउने बिरामीमध्ये ६० देखि ७० प्रतिशत बिमाबाट आउने गरेका छन् । बिमा सुविधा हुनेलाई प्रतिष्ठानले ‘जिरोमा बिलिङ’ गर्दै आएको छ । प्रतिष्ठानको आम्दानीको स्रोत नै बिमामा जोडिएपछि आर्थिक संकट उत्पन्न भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेल बताउँछन् ।  

कात्तिकयताको करिब १५ करोड र ०७४ सालदेखि नै बोर्डले पेन्डिङ गरेको रकम गरी  २६ करोड भुक्तानी लिन बाँकी देखिएको उनले बताए । पटक–पटक ताकेता गर्दा पनि बोर्डका कर्मचारीले जनशक्ति अभावको कारण देखाउँदै मूल्यांकन नगर्दा अस्पतालले भुक्तानी पाएको छैन । अस्पताल निर्देशक आफैँ काठमाडौं पुगेर भन्दासमेत सुनुवाइ नभएपछि आइतबार प्रतिष्ठानले बिमा बोर्डले भुक्तानी रोकेका कारण एक महिनापछि बिमा सुविधाको सेवा दिन नसक्ने अल्टिमेटसहितको पत्र बोर्डलाई पठाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य मन्त्रालय, प्रदेश सरकार, स्थानीय सरकारलाई समेत बोधार्थ दिएर बोर्डलाई पत्र पठाइएको छ ।  

उधारोमा काम गरेर प्रतिष्ठान चलाउन गाह्रो भएको कुलपति डा. ज्ञानेन्द्र गिरीले बताए । हाल ५० प्रतिशत आम्दानीले मात्र प्रतिष्ठान चलाइरहेको बाँकी बिमा बोर्डमा पेन्डिङ भएको उनले बताए । ‘प्रदेश १ र मधेस प्रदेशका बिमित जनतालाई सेवा दिइरहेका छौँ । तर, बोर्डबाट आउने शोधभर्ना रोकिएपछि आर्थिक संकट सुरु भयो,’ गिरीले भने, ‘आफैँ कमाएर चलाउने संस्थाको समस्याबारे बिमा बोर्डको ध्यानाकर्षण होस् भन्ने हाम्रो मनासाय हो । बिमितलाई राम्रो सेवा दिन हामी प्रतिबद्ध छौँ र दिइरहेका छौँ ।’   

स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले बोर्डले कुनै पनि अस्पतालको भुक्तानी नरोकेको बताए । उनले कर्मचारी अभाव र धेरै अस्पताल बिमामा जोडिएकाले समस्या भई केही ढिला भएको तर भुक्तानी भने कसैको नरोकिएको बताए । 

‘समयमा शोधभर्नाको कागजपत्र नपठाउने अस्पतालको भुक्तानी ढिलाइ भएको हुन सक्छ । हामीले रोक्ने भन्नेचाहिँ होइन,’ उनले भने, ‘कात्तिकअगाडिको हिसाब मिलाउन धेरैको बाँकी छ । मिलाउँदै गएका छौँ ।’ प्रतिष्ठानको हकमा मंसिरमा  पाँच करोड भुक्तानी दिएको र बाँकी अब प्रक्रिया पुर्‍याएर तत्काल दिने उनको भनाइ छ ।  

नेपालका सरकारी तथा निजी गरेर चार सय ३७ अस्पतालले बिमा सुविधा दिँदै आएका छन् । ७७ जिल्लाका ५० लाख व्यक्तिले बिमा सुविधा लिँदै आएको उनले बताए। प्रतिष्ठानमा दैनिक एक हजारदेखि एक हजार पाँच सय बिरामी बिमाबाट सेवा लिन आउने गरेको प्रतिष्ष्ठानले जनाएको छ । यो संख्या प्रतिष्ठानका सेवाग्राहीको कुल संख्याको ६० प्रतिशत हो । साउनदेखि गत माघ मसान्तसम्म ६ हजार पाँच सय २८ जनाले बिमा सुविधा लिएको बिमा सम्पर्क कार्यालयको तथ्यांकमा उल्लेख छ । हालसम्म  ७३ करोडको सेवा बिमामार्फत दिएको प्रशासकीय अधिकृत साहले जानकारी दिए ।

प्रतिष्ठानको आम्दानीको मुख्य स्रोत बिरामी र यहाँ अध्ययन गर्न आउने विद्यार्थी नै हुन् । कोरोना, लामो समयदेखि प्रतिष्ठानमा भएको आन्दोलनको प्रभावले ५० प्रतिशत आम्दानी घटिरहेको वेला बिमाबापतको भुक्तानी पनि समयमा नआउँदा झन् संकट परेको प्रतिष्ठानले जनाएको छ । अस्पताल निर्देशक साहका अनुसार विगतमा विद्यार्थीबाट  एक अर्ब आम्दानी हुने गरेको थियो । विदेशी विद्यार्थीबाट सबैभन्दा धेरै आम्दानी हुने गरेको थियो । विदेशी विद्यार्थी कोटासमेत कटौती भएका कारण आम्दानी समेत घटेको उनको भनाइ छ ।