मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रुसले युक्रेनमाथि आक्रमण गरेपछि राजधानी किभबाट बहिरिँदै त्यहाँका नागरिक
२०७८ फाल्गुण १३ शुक्रबार ०६:०५:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

युक्रेनमा रुसको आक्रमण : नेपालको विरोध, सुरक्षित तर त्रासमा छन् नेपाली

Read Time : > 3 मिनेट
२०७८ फाल्गुण १३ शुक्रबार ०६:०५:००

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार बिहान युक्रेनविरुद्ध अपरेसन गर्न आदेश दिएसँगै रुसी सेनाले युक्रेनका मुख्य सैन्य बेसमा क्षेप्यास्त्र प्रहार गरेको छ । राजधानी किभसहित मुख्य सहरमा बम बिस्फोटका घटना भएका छन् । स्थल, हवाई र सामुद्रिक सबै स्थानबाट युक्रेनविरुद्ध भएको रुसी आक्रमणमा बिहीबार साँझसम्म ४० जना युक्रेनी सैनिक र केही सर्वसाधारणको मृत्यु भएको छ ।

रुसी बाहुल्य पूर्वी युक्रेनका डोनेत्स्क र लुहान्स्क क्षेत्रलाई रुसले अलग देशको मान्यता दिँदै त्यस क्षेत्रमा सेना परिचालन गर्न आदेश दिएपछि त्यस क्षेत्रमा रुस र युक्रेनबीच तनाव बढ्दै आएकोमा बिहीबार रुसले आक्रमण गरेको हो । रुसको युद्ध घोषणासँगै युक्रेनले एक महिना मार्सल (सैनिक) कानुन लागू गरेको छ र सबै नागरिक उड्डयन बन्द गरेको छ । सार्वभौम मुलुक युक्रेनविरुद्ध भएको रुसी आक्रमणप्रति अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेको छ । 

नेपालले पनि रुसी आक्रमणको विरोध गरेको छ । नेपालले सार्वभौमसत्तासम्पन्न देशविरुद्ध कुनै पनि शक्तिको प्रयोग गलत भएको भन्दै युक्रेनमाथि रुसी आक्रमणको विरोध गरेको हो । संयुक्त राष्ट्रसंघीय बडापत्रका आधारमा रुसले युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गर्नुपर्ने नेपालको स्पष्ट धारणा छ । पूर्वी युक्रेनको डोनेत्स्क र लुहान्स्क क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिने रुसी कदम राष्ट्रसंघीय बडापत्रको विपरीत रहेको पनि नेपालले स्पष्ट पारेको छ ।

‘नेपाल कुनै पनि परिस्थितिमा सार्वभौमसत्तासम्पन्न देशविरुद्ध कुनै पनि शक्तिको प्रयोगको विरोध गर्दछ र कूटनीति र संवादबाट विवादको शान्तिपूर्ण समाधानमा विश्वास गर्दछ,’ परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । नेपाल सरकारले युक्रेनको घटनाक्रमलाई नजिकबाट नियालिरहेको पनि परराष्ट्रले उल्लेख गरेको छ । ‘नेपाल सबै पक्षलाई तनाव नबढाउन र अधिकतम संयम अपनाउन आग्रह गर्दछ,’ परराष्ट्रको विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त राष्ट्रसंघको बडापत्रमा उल्लेखित सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका सिद्धान्तहरू पवित्र छन् र सबै सदस्य राष्ट्रहरूले यसलाई पूर्ण रूपमा सम्मान गर्नुपर्छ भन्ने धारणा नेपाल सरकारको छ ।’ 

युक्रेनमा दुई सय नेपाली: संयम अपनाउन दूतावासको आग्रह 
युक्रेनका सबै भूभागमा करिब दुई सय नेपाली नागरिक बसोवास गरिरहेका छन् भने सातजना नेपाली पूर्वी युक्रेनमा छन् । युक्रेनका लागि नेपाली राजदूत रामकाजी खड्काका अनुसार बिहीबारसम्म नेपालीहरू सुरक्षित छन् । दूतावासले बिहीबारै सूचना जारी गरी नेपालीलाई संयम अपनाउन, सुरक्षित भएर बस्न र युक्रेन सरकारले जारी गरेका नियम पालना गर्न आग्रह गरेको छ । ‘युक्रेनमा सैनिक कानुन लागू भएको र हवाई उडान बन्द गरिएको अवस्था छ, नेपालीलाई तत्कालै उद्धार गर्ने अवस्था छैन,’ खड्काले जर्मनीबाट टेलिफोनमा नयाँ पत्रिकासँग भने, ‘नेपालीलाई युक्रेनका छिमेकी मुलुकसम्म जानका लागि समन्वय कसरी गर्ने भनेर हामीले कूटनीतिक प्रयास थालेका छौँ ।’ 

राजदूत खड्काका अनुसार युक्रेनका १५० जना नेपाली सम्पर्कमा आएका छन् । उनका अनुसार पूर्वी युक्रेनको मारियोपोलमा सातजना नेपाली छन् । त्यहाँ नजिकैको लकातर मिलिटरी बेसमा बिहीबार आक्रमण भएपछि उनीहरू त्रासमा छन् । ‘अहिले जसरी हुन्छ सुरक्षित भएर बस्नुस् र आपत्कालीन अवस्थाका बाबजुद त्यहाँबाट बाहिरिने परिस्थिति बन्यो भने त्यहीअनुसार गर्नुस् भनेका छौँ,’ खड्काले भने, ‘स्लोभाकियाको सीमा खुला भएको जानकारी आएको छ, हामीले नेपालीलाई युक्रेनबाट त्यहाँ प्रवेश दिलाउन र त्यहाँबाट स्वदेश फर्किने अवस्था सिर्जना गर्न कूटनीतिक प्रयास गर्छौं ।’ परराष्ट्रसचिव भरतराज पौड्यालले गैरआवासीय नेपालीहरूसँगको समन्वयमा नेपालीसँग सम्पर्क गर्न, त्यहाँका नेपालप्रेमी युक्रेनी नागरिकलाई साथमा लिएर सहयोग गर्न राजदूत खड्कालाई निर्देशन दिएका छन् । ‘युक्रेनको छिमेकी मुलुकहरूसँग सद्भाव लिन र पश्चिम युरोपमा नेपालीलाई जाने परिस्थितिका लागि समन्वय गर्न परराष्ट्रसचिवज्यूबाट निर्देशन आएको छ, त्यहीअनुसार हामी समन्वय गरिरहेका छौँ,’ खड्काले भने । 

गैरआवासीय नेपाली संघ युक्रेनका अध्यक्ष हरिबहादुर मल्लका अनुसार युक्रेनी सेनाका ब्यारेक र राडार राखेका ठाउँमा रुसी सैनिकले एक–दुई हजार किलोमिटर टाढाबाट मिसाइल आक्रमण गरेको छ । तर, गैरसैनिक र सार्वजनिक क्षेत्रमा आक्रमण भएको छैन । ‘आपत्कालको अवस्था छ, तर यही बीचमा चार–पाँच दिनका लागि खाद्यान्न, तरकारी र आवश्यक सामान लिन लागेको छु, परिस्थिति के होला थाहा छैन,’ मल्लले टेलिफोनमा भने । 

युक्रेनमा रहेका नेपाली भन्छन्– त्रासमा छौँ, के हुने हो थाहा छैन 

युक्रेनमा परिस्थिति नराम्रो भएपछि बुधबार साँझ किभबाट आपत्कालीन ट्याक्सीमा चढेर लिभिव आएका छौँ । अब के हुन्छ, थाहा छैन : गोकुल शर्मा

दोलखाका गान्वा थामी युक्रेनको राजधानी किभबाट दुई किलोमिटर पश्चिमको बेलासरगुवामा छन् । उनी रहेको स्थानमा २५ जना नेपाली विद्यार्थी भिसामा ६ महिनादेखि छन् । तर, उनीहरू कामका लागि लगिएका हुन् । नयाँ पत्रिकासँग टेलिफोन कुराकानीमा उनले अहिलेसम्म सुरक्षित रहेको, तर कुनै पनि वेला रुसी आक्रमण हुने त्रासदी फैलिएको बताए । 

‘६ महिनादेखि हामी बेरोजगार अवस्थामा बसेका छौँ । एजेन्टलाई साढे आठ लाख तिरेर आइपुग्यौँ । विद्यार्थी भिसामा काम गर्न आएका हौँ, तर काम नपाएर आफ्नै खर्चमा बस्दै आएका छौँ,’ थामीले भने, ‘हामी जतिसक्दो यहाँबाट निस्कने उपायको खोजीमा छौँ । भारतीय, पाकिस्तानीसहित अरू पनि छन् । उनीहरूसँगै लिबिब (स्लोभाकिया र पोल्यान्ड, हंगेरीनजिकको ठाउँ) जाने उपायमा छौँ ।’ 

पर्वतका गोकुल शर्मालगायतको ६ जनाको टोली बिहीबार लिभिब पुगेको छ । उनीहरू राजधानी किभबाट बुधबार राति आपत्कालीन गाडी बुक गरेर त्यहाँ पुगेका छन् । उनीसँगै हेटौँडाका सुनील पाण्डे र मिलन ठकुरी र मोरङका जंगबहादुर लिम्बु पनि सीमावर्ती सहर पुगेका छन् । यो राजधानी किभबाट करिब पाँच सय किलोमिटर टाढा हो । ‘हामी आएको भर्खरै दुई महिना मात्रै भयो,’ शर्माले भने, ‘युक्रेनमा परिस्थिति नराम्रो भएपछि बुधबार साँझ किभबाट आपत्कालीन ट्याक्सीमा चढेर यहाँसम्म आएका छौँ । अब के हुन्छ, थाहा छैन ।’

स्लोभाकियाले युक्रेनको सीमा खोल्ने जानकारी बर्लिनस्थित नेपाली दूतावासबाट पाएको उनले बताए । ‘सीमा खुल्यो भने हामी स्लोभाकिया जान कोसिस गर्छौं,’ शर्माले भने, ‘युक्रेनबाट किभसम्म करिब सयजना नेपाली शुक्रबार बिहानसम्म लिभिब आउँदै गरेको जानकारी पाएका छौँ ।’ उनीहरू होस्टलमा बसेका छन् । ‘हामी सुरक्षित छौँ । घरपरिवारमा पनि सम्पर्क भइरहेको छ,’ किभस्थित इन्टरनेसनल कलेज अफ इकोलोजी एन्ड बायोलोजी साइन्स अध्ययनका लागि पुगेका शर्माले भने, ‘राजधानी किभमा बम खसेको खबरले त्रासमा थियौँ । अब हामी यहाँबाट जतिसक्दो चाँडो बाहिरिन चाहन्छौँ । नेपाली दूतावाससँग पनि सम्पर्कमा छौँ ।’ 

पूर्वी युक्रेनको खार्किभ सहरमा रहेका एकजना विद्यार्थीले परिचय सार्वजनिक नगर्न आग्रह गर्दै ८० हजार विद्यार्थी रहेको ठाउँमा सुरक्षित रूपमा बसेको बताए । तर, त्यहाँ बिहीबार सैन्य बेसमा रुसी बम खसेको थियो । ‘बिहान बमको आवाजले हामी ब्युँझिएका हौँ,’ ती नेपालीले भयमिश्रित आवाजमा भने, ‘अहिले पनि डाङडुङ आवाज चलिरहेको छ । भगवान्सँग प्रार्थना छ कि हामीलाई केही हुनेवाला छैन ।’ 

राजधानी किभबाट ६ सय किलोमिटर टाढा खार्किभमा रहेका आधा दर्जनजति नेपालीलाई किभस्थित भारतीय दूतावासले भारतीय नागरिकलाई उद्धार गर्ने क्रममा दिल्लीसम्म लगिदिने आश्वासन दिएको छ । ‘हामी भारत हुँदै आएका हौँ, भारतीय एजेन्टमार्फत आएका हौँ,’ अर्का विद्यार्थीले भने, ‘भारत सरकारले नै उद्धार गरिदिन्छ भनिएको छ ।’