
पोखरा र आसपासका क्षेत्रमा आइतबार भारी मात्रामा असिनासहितको वर्षा भएको छ । पोखराको चिप्लेढुंगा, महेन्द्रपुल, सभागृह, मालेपाटन, गैह्रपाटनलगायत क्षेत्रका सडकमा असिनाको खात परेपछि त्यसलाई हटाउन डोजरकै प्रयोग गर्नुपरेको थियो । दिउँसो साढे १ बजेदेखि एक घन्टाभन्दा धेरै समय भीषण असिनासहितको वर्षा भएको हो । यी क्षेत्रमा दिउँसो २ बजेदेखि साँझसम्मै असिनाका कारण सवारी आवागमनमा समस्या भएको थियो ।
पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अशोक पालिखेले आफ्नो ६० वर्षे जीवनकालमा पोखरामा यसरी असिना परेको यस अगाडि कहिल्यै नदेखेको बताए । ‘मेरो जीवनकालमा यस अगाडि कहिल्यै पोखरामा यति धेरै असिना परेको देखिन । तर, आज अत्यधिक असिना पर्यो,’ उनले भने । पोखरा–५ मालेपाटनमा तरकारी खेती गर्दै आएकी सरस्वती ढकालले आफूले लगाएको तरकारी बाली सबै असिनाले सखाप पारेको गुनासो गरिन् । ‘बजारमा लैजाने वेला भएको सबै तरकारी असिनाले सखाप पार्यो,’ उनले भनिन् । भाडामा जग्गा लिएर तरकारी खेती गर्दै आएकी उनले बारीमा लगाएको धनियाँ, रायो र पालुंगो साग, भिन्डी, काउलीलगायतका सबै तरकारी असिनाले नष्ट गरेको जानकारी दिइन् ।
पोखराआसपासका धेरै किसानले लगाएको बालीनाली नष्ट भएको कृषि ज्ञानकेन्द्र कास्कीका प्रमुख शालिग्राम अधिकारीले जानकारी दिए । उनका अनुसार कास्कीको मालेपाटन, महतगौडा, माछापुच्छ्रेको लुम्रे, अन्नपूर्णको नयाँपुलका साथै पोखराकै दोविल्ला र भलाममा किसानले लगाएका बेमौसमी तरकारीका साथै तोरी र फसल लिन ठिक्क पारिएको आलुमा समेत असिनाले नोक्सान पुर्याएको उनको भनाइ छ । उनका अनुसार क्षतिको मूल्यांकन फिल्डमै पुगेर गर्नुपर्ने भए पनि ठूलो मात्रामा किसानले नोक्सानी भोगेका छन् ।
पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बेमौसमी तरकारी खेतीमा असिनापानीले ठूलो क्षति पुर्याएको जानकारी दिए । ‘पोखराको हेम्जा र मालेपाटनलगायत तरकारी खेती हुने विभिन्न क्षेत्रमा असिनाले व्यापक क्षति पुर्याएको छ । फिल्डमा पुगेर नहेरी यति नै क्षति भयो भन्न सकिन्न,’ कडरियाले भने ।
तापक्रम माइनसमा झरेसँगै मनाङको जनजीवन प्रभावित
आइतबार बिहानदेखिको हिमपातपछि मनाङको जनजीवन प्रभावित भएको छ । मनाङको तापक्रम घटेर माइनस ९ डिग्री सेल्सियस पुगेको छ । हिमपातले मनाङको बस्ती, डाँडाँकाँडा हिउँले सेताम्य भएका छन् । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले आइतबार भारी हिमपात भएको बताए । उनका अनुसार मनाङको माथिल्लो भेग टंकी मनाङ, खाङसार, मनाङ, हुम्डे, पिसाङ, ढिकुरपोखरी, चामे, दानक्युलगायतका ठाउँमा भारी हिमपात भएको छ ।
हिमपातले चिसो अत्यधिक बढेको छ । हिमपातबाट हुने जोखिम न्यूनीकरणका लागि सुरक्षा निकायहरू तयारी अवस्थामा रहेको सशस्त्र प्रहरी बल नेपाल मनाङका प्रमुख डिएसपी अर्जुन पौडेलले बताए । जिल्ला प्रशासन कार्यालयले उच्च पहाडी र हिमाली भूभागमा हिमपातका कारण तापक्रममा गिरावट आई चिसो बढेकाले सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेको छ ।
बाक्लो हिमपातपछि किसान खुसी भएका छन् । स्थानीय अनिता लामाले हिमपातले आलु, फापर, गहुँ, जौ र उवालगायतका बालीलाई राम्रो गर्ने बताइन् । चामे गाउँपालिका–२ थान्चोकका स्याउ किसान कुलबहादुर घलेले हिमपात हुनु स्याउखेतीका लागि राम्रो भएको बताए । एकैपटक नपग्लिने र बिस्तारै पग्लिँदै जाने भएकाले माटोमा चिस्यान हुने र अन्नबालीको उत्पादन राम्रो हुने उनले बताए । हिमपात हुँदा केही समस्या भए पनि खेतीका लागि भने निकै राम्रो हुने किसानहरू बताउँछन् ।