१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार o७:o३:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

प्रयोग नै नगरी भत्काइयो दुई करोड ५० लाखको सभागृह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o७:o३:oo

१६ वर्षअघि दुई करोड ५० लाख लागतमा निर्माण गरिएको संरचना प्रयोग नै नगरी भत्काइएको छ । ०६२ मा तत्कालीन हेटौँडा उपमहानगरपालिकाले निर्माण गरेको हेटौँडा– ४ हुप्रचौरस्थित वासुदेव सभागृह भत्काइएको हो । एकपटक पनि प्रयोग नगरी बेवारिसे अवस्थामा छाडिएको संरचना भत्काएर उपमहानगरपालिकाले नै बहुउद्देश्यीय भवन निर्माण गर्न लागेको छ ।

भवन निर्माणमा त्रुटि देखिएको र थप दुई करोड लगानी गरे मात्रै प्रयोगमा ल्याउन सकिने भएपछि भत्काएर व्यावसायिक कम्प्लेक्स सञ्चालन गर्ने उद्देश्यले बहुउद्देश्यीय भवन निर्माण अघि बढाइएको उपमहानगरपालिका प्रमुख हरिबहादुर महतले बताए । ‘भवन निर्माण गर्दा सुरुमा नै प्राविधिक त्रुटि रहेको र थप लगानी गरेर पनि प्रयोगमा आउन सक्ने सम्भावना नरहेकाले भत्काएर बहुउद्देश्यीय भवन निर्माण गर्न लागिएको हो,’ महतले भने, ‘अहिले त्यो सभाहलमा लगानी गर्नुभन्दा नयाँ भवन निर्माण गर्दा नै राम्रो हुने देखियो, त्यहाँ सुविधासम्पन्न व्यावसायिक भवन बन्छ ।’ 

कमल थापा गृहमन्त्री र मधु अधिकारी नगर प्रमुख हुँदा ०६२ मा सभागृह भवन निर्माण थालिएको थियो । पहिलो चरणमा आर्थिक वर्ष ०६२/६३ मा ४३ लाख खर्चेर पिलर उठाएको, दोस्रो चरणमा आर्थिक वर्ष ०६३/६४ मा ३९ लाख खर्चेर कम्पाउन्ड निर्माण र भवनमा छाना राखिएको थियो ।तेस्रो चरणमा आर्थिक वर्ष ०६६/६७ मा भवनको पर्खाल लगाएपछि नगरपालिकाले लगानी गर्नै बन्द गरेको थियो । भवन भत्काउन थालेपछि तत्कालीन नगर प्रमुख मधु अधिकारीले सार्वजनिक सम्पत्तिमा कुनै पार्टीको विचार र आस्थासँग जोडेर हेर्न नहुने बताए । उनले भने, ‘हामीले निर्माण गरेको भएकाले पछि नेतृत्वमा आएकाहरूले यसलाई प्रयोग गर्न चासो दिएनन् ।’ राज्यको करोडौँ लगानी परेको संरचना प्रयोग नगरी भत्काउनु अख्तियारको दुरुपयोग भएको अधिकारीको दाबी छ । 

सभागृह रहेको हुप्रचौर संरक्षण समितिका अध्यक्ष दीपक पाण्डेले उपमहानगरपालिकाले वर्षौँसम्म प्रयोग नगरी सभागृह भत्काउनु गलत हुने बताए । ‘सहरको बीचमा प्रयोग नै नगरी सभाहल दुव्र्यसनीको अखडा बनाएर राख्नु गलत हो भनेर हामीले विरोध गर्दै आएका छौँ,’ उनले भने, ‘अब त्यसलाई प्रयोग गर्नुको सट्टा भत्काएर नयाँ भवन बनाउँदा राज्यले गरेको करोडौँ लगानी खेर जानेछ ।’

एक बिघा नौ कट्ठा क्षेत्रफल रहेको सभागृहको क्षमता चार सय ९२ जना रहेको थियो । निर्माण सुरु गर्दा वीरेन्द्र सभागृह नाम राखिए पनि ०६२÷६३ को जनआन्दोलनमा सहिद घोषणा गरिएको वासुदेव घिमिरेको नाम जोडेर ‘वासुदेव सभागृह’ नामकरण गरिएको हो ।

४८ करोडमा व्यावसायिक भवन बनाइँदै
भवन भत्काएर ४७ करोड ९३ लाख ७२ हजार रुपैयाँ लागतमा १३ तले बहुउद्देश्यीय कम्प्लेक्स निर्माण गर्न उपमहानगरपालिकाले लामा–रसुवा–बानियाँ जेभीसँग ठेक्का सम्झौता गरिसकेको छ । ७७ करोड ९३ लाख ७२ हजार लागत अनुमान गरिएकोमा निर्माण कम्पनीले ४७ करोड ९३ लाख ७२ हजारमा ठेक्का सम्झौता गरेको हो । कुल लागतमा ३८ दशमलव २८ प्रतिशत घटेर निर्माण कम्पनीले ठेक्का पारेको हो । १३ तले भवनमा दुई तलाको अन्डरग्राउन्ड, चारतिरबाट लिफ्ट, दुईवटा भर्‍याङ, सबैभन्दा माथि भ्यु टावर निर्माण गरिने उपमहानगरपालिकाका प्रमुख महतले बताए । तीन वर्षमा निर्माण सकिने गरी सम्झौता भएको उपमहानगरपालिकाले जनाएको छ ।

ad
ad