१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २ सोमबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण २ सोमबार o७:४३:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

पाँच वर्षपछि राप्रपा नेपालमा थापा, ७ फागुनमा पार्टी घोषणा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण २ सोमबार o७:४३:oo

राप्रपाका निवर्तमान अधयक्ष कमल थापाले राप्रपा नेपालको नेतृत्व सम्हालेका छन् । ‘राष्ट्रिय एकता पार्टी’ गठनको पूर्वतयारी गरिरहेका थापाले धनकुटाका पूर्वकार्यकर्ता ल्हाक्पा तामाङले ०७३ पछि दर्ता गरेको राप्रपा नेपालमा फर्केर आइतबारदेखि नेतृत्व सम्हालेका हुन् । उनले आइतबार ५१ सदस्यीय केन्द्रीय समितिको नाम निर्वाचन आयोगमा बुझाएको र ७ फागुनमा पार्टी घोषणा गर्ने जानकारी दिएका छन् । 

०६२/६३ पछि थापाकै अगुवाइमा राप्रपा नेपाल गठन भएको थियो । ०७३ भदौमा पशुपतिशमशेर राणा नेतृत्वको राप्रपासँग एकीकरण गरेपछि थापा नेतृत्वको समूहले ‘राप्रपा नेपाल’ छाडेको थियो । तर, धनकुटाका पार्टी कार्यकर्ता ल्हाक्पाले राप्रपा नेपाललाई निरन्तरता दिएका थिए । ल्हाक्पा अध्यक्ष रहेको राप्रपा नेपालको नेतृत्व पाँच वर्षपछि थापाले सम्हालेका छन् । 

अध्यक्ष थापाले आफू घर फर्केको बताएका छन् । ‘म राप्रपाको विरासतभन्दा बेग्लै पार्टी गठनको तयारीमा थिएँ, तर मैले पार्टी त्यागेपछि राप्रपा नेपाल दर्ता गरेर राख्नुभएका ल्हाक्पाजीले तपाईंको नासो लिनुस् भन्ने भावनात्मक ढंगबाट आग्रह गर्नुभयो,’ थापाले नयाँ पत्रिकासँग भने, ‘देशभरिबाट साथीहरूले पनि राप्रपा नेपाललाई पुनर्गठन गरौँ भन्ने सुझाव आयो । पाँच वर्षपछि हामी घर फर्केका छौँ ।’ उनले १५ जेठ ०४७ मा स्थापना भएको राप्रपाकै विरासतलाई आफूले फरक रूपमा निरन्तरता दिएको दाबी पनि गरे । उनले पार्टी विभाजन गरेको आरोपबाट आफू मुक्त भएको पनि टिप्पणी गरे । 

थापाका अनुसार प्रजातन्त्र दिवसका अवसरमा ७ फागुनमा पार्टी घोषणा हुनेछ । ‘पार्टी घोषणापछि ७ र ८ फागुनमा केन्द्रीय समितिको बैठक बसेर हामी पार्टीको सांगठनिक संरचनाबारे निर्णय लिन्छौँ,’ उनले भने, ‘त्यसपछि देशैभरि संगठन विस्तार र स्थानीय निर्वाचनको तयारीमा अघि बढ्छौँ ।’ 

अध्यक्ष थापासहित राप्रपाका पूर्वनेताहरू राजीव पराजुली, उद्धव पौडेल, वसन्तमानसिंह अधिकारी, दीपकबहादुर सिंह, सुशील श्रेष्ठ, तेज कुरुङमाङ, इन्द्र चित्रकार, सुनीता कुरुङमाङ, सुशीला गिरी, जयकुमार खड्का, डा. विष्णु भण्डारी, राजेन्द्र अधिकारीसहित ५१ जना केन्द्रीय सदस्यको नाम पार्टीले आइतबार निर्वाचन आयोगमा बुझाएको छ ।

हिन्दु राष्ट्र, सुशासन र समृद्धिको एजेन्डा 

राप्रपा नेपालले हिन्दू राष्ट्र, सुशासन र समृद्धिको एजेन्डा अघि बढाउने भएको छ । राजसंस्था पुनस्र्थापना अब कार्यनीति नहुने उनले बताए । ‘यो मुलुकको एकीकरणदेखि यहाँसम्म राजसंस्थाले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ । यो यथार्थलाई सम्मान गर्छौं । तर, राजसंस्थाको पुनस्र्थापनाचाहिँ हाम्रो कार्यनीति हुँदैन,’ थापाले भने, ‘राजसंस्थाका सन्दर्भमा हामी राजनीतिक दस्ताबेजमा कहीँ न कहीँ सम्बोधन गर्छौं । कुन ढंगबाट कसरी गर्ने भन्ने विषय अहिले छलफलकै क्रममा छ ।’

पाँच वर्षअघि राप्रपा नेपाल र राप्रपा फरक वैचारिक धरातलमा थिए । थापा नेतृत्वको राप्रपा नेपाल राजसंस्थाका पक्षमा उभिएको थियो भने राणा नेतृत्वको राप्रपाले ०६३ पछिको एक दशक गणतन्त्रको समर्थन गरेको थियो । तर, ०७३ माघमा दुई दल राजसंस्थाको पुनस्र्थापनाका पक्षमा उभिएर पार्टी एकता गरेका थिए । राजा पक्षधर थापाले गणतन्त्र पक्षधर राणा र उनको समूहलाई वैचारिक रूपमा आफ्नो कित्तामा उभ्याएका थिए ।

अहिले राणासहित नेता राजेन्द्र लिङ्देनले नेतृत्व गरेको राप्रपाले राजसंस्थाको पुनस्र्थापना र हिन्दू राष्ट्रलाई मुख्य राजनीतिक एजेन्डा बनाएको छ । तर, गणतन्त्रवादी राप्रपाको समूह अहिले राजसंस्थाको पक्षमा छ भने गणतन्त्रवादी समूहलाई राजसंस्थावादी बनाएका थापा गणतन्त्रको कित्तामा उभिएका छन् । ‘त्यसवेला गणतन्त्रका पक्षमा काम गरेका साथीभाइलाई राजसंस्थाका पक्षमा ल्याइयो, अहिले उहाँहरूबाटै मलाई पाखा लगाउने काम भयो,’ थापाले भने, ‘हामी चुनाव नलड्ने र राजनीतिभन्दा माथि रहेको राष्ट्र प्रमुखको पक्षमा छौँ ।’