Skip This
बालबालिकालाई कोरोना भाइरसबाट कसरी जोगाउने ?
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २८ शुक्रबार
  • Wednesday, 14 May, 2025
नयाँ पत्रिका काठमाडौँ
२o७८ माघ २८ शुक्रबार १o:o८:oo
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

बालबालिकालाई कोरोना भाइरसबाट कसरी जोगाउने ?

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७८ माघ २८ शुक्रबार १o:o८:oo

कोरोना भाइरस स्वरूप परिवर्तन हुँदै विभिन्न लहरमा फैलिरहेका छन् । पहिलो र दोस्रो लहरमा भन्दा तेस्रो लहरमा बालबालिका बढी मात्रामा प्रभावित भएका छन् । संयुक्त राज्य अमेरिकामा अहिलेसम्म एक करोड २० लाख बच्चाहरू संक्रमित भएका छन् । तेस्रो लहरमा मात्रै ७० लाख बच्चा संक्रमित भएको तथ्यांक छ । विश्व स्वास्थ्य संगठनका अनुसार पाँच वर्षभन्दामुनिका बालबालिकाले मास्क लगाउन आवश्यक छैन । किनभने उनीहरूले आफैँ मास्क मिलाएर लगाउन सक्दैनन्, तर अहिले देखिएको ओमिक्रोन एकदम संक्रामक छ र त्यही भएर यो लहरमा बालबालिका धेरै संक्रमित भइरहेका छन् ।

कोरोना भाइरस कसरी सर्छ ?

कोरोना भाइरस दुई माध्यमबाट सर्छ, प्रत्यक्ष सम्पर्क र अप्रत्यक्ष सम्पर्क । 

प्रत्यक्ष सम्पर्क : संक्रमितले हाच्छिउँ गर्दा वा खोक्दा मुख वा नाकबाट निस्कने स्वाँबाट । 
अप्रत्यक्ष सम्पर्क : प्रायःगरी दैनिक जीवनमा प्रयोगमा आउने चिजवस्तुहरू जस्तैः ढोका, शौचालय, बेसिन वा साझा वस्तुहरूबाट । 
माथि उल्लेखित कुनै पनि माध्यमबाट कोरोना भाइरस श्वासनलीमा छिर्छ र केही दिनमै लक्षणहरू देखापर्न थाल्दछ ।

संक्रमित बच्चाहरूमा देखिने लक्षणहरू

ज्वरो आउने, खोकी लाग्ने, थकित महसुस हुने, जिउ तथा मांसपेसीहरू दुख्ने, टाउको दुख्ने, खान मन नलाग्ने, पखाला लाग्ने, गन्ध र स्वाद हराउने, शरीरमा डाबर वा फोका आउने, छाती दुख्ने ।

ओमिक्रन भाइरस पहिलो र दोस्रो लहरमा देखिएको जस्तो कडा छैन । यो लहरमा प्रायः बच्चामा सामान्य ज्वरो आउने, ज्वरो २ देखि ३ दिनसम्ममा ठीक हुने, रुघाखोकी लाग्नेजस्ता लक्षण देखिएका छन् । दीर्घकालीन रोगहरू भएका बालबालिकाहरू जस्तै मुटुको रोग, फोक्सोको रोग, मिर्गाैलाको रोग, दमरोग वा रोग प्रतिरोध क्षमता कम भएका बच्चाहरू जस्तै मोटोपन, क्यान्सरलगायत भएका बच्चामा कडा खालको संक्रमण हुने सम्भावना हुन्छ ।

डाक्टरको परामर्श कुन वेला लिने ?

सास फेर्न गाह्रो भएमा, कोखा हान्ने वा सास फेर्दा आवाज आएमा, बच्चा निलो भएमा, बच्चाले खान छोडेर पिसाब कम गर्न थालेमा, छाती दुखेमा, शरीरमा अक्सिजनको मात्रा ९४ भन्दा कम भएमा, बच्चा सुस्त भयो भने तुरुन्त चिकित्सकसँग परामर्श लिने वा बच्चालाई उपचारका लागि नजिकैको अस्पताल लैजानुपर्छ ।

कुन–कुन अवस्थामा परीक्षण गर्ने ?

बालबालिकाहरूमा लक्षण देखा परेपछि चिकित्सकहरूलाई पनि विनापरीक्षण कोरोना भाइरस हो वा सामान्य फ्लु हो भनी छुट्याउन गाह्रो हुन्छ । सामान्य रुघाखोकी र कोरोना भाइरसको लक्षण उस्तै उस्तै हुने हुँदा परीक्षण गराउन जरुरी छ । निम्न अवस्थामा परीक्षण गराउनु पर्दछ ।

  • घरका कुनै सदस्यमा कोरोना संक्रमण भएमा ।
  • अपरेसन वा अस्पतालमा भर्ना गर्नुपरेमा ।
  • चिकित्सकको सल्लाहअनुसार परीक्षण गर्नुपर्छ भनेमा ।

परीक्षण गर्दा पजिटिभ आए के गर्ने ?

परीक्षण गर्दा कोरोना पजिटिभ आएमा १० दिनसम्म आइसोलेसनमा राख्नुपर्छ । बच्चाले पर्याप्त मात्रामा आराम गर्नुपर्छ । सम्भव भएसम्म समयमा सुत्ने, समयमा उठ्ने गराउनु पर्दछ । पर्याप्त मात्रामा पोषिलो खानेकुरा खुवाउनुपर्छ । आमाको दूध खुवाउने तथा झोल पदार्थ पर्याप्त मात्रामा पिउने गर्नुपर्छ । भिटामिन सी भएका फलफूलहरू (अमिलो फलफूलहरू जस्तैः सुन्तला, स्ट्रबेरी) खाने र घरेलु उपायहरू जस्तै बेसार, अदुवा, मह आदि खानाले रोगसँग लड्ने क्षमतामा वृद्धि हुन्छ । 

बालबालिकामा कोरोनविरुद्धको खोप कति सुरक्षित ?

खोपले बच्चाहरूको रोगसँग लड्ने क्षमतामा वृद्धि गर्छ । रोग लागेपछि सिकिस्त हुन दिँदैन र खोप नलगाएको समूह जस्तै बुढाबुढी दीर्घरोगीहरूमा यो रोग फैलनबाट रोक्न मद्दत गर्छ । नेपालमा उपलब्ध १२ वर्षदेखि माथिका बच्चाहरूलाई लगाइएको खोप एकदम राम्रो छ र यो खोपहरू प्रभावकारी र सुरक्षित पनि छ । 

कोभिड पजिटिभ आमाबाट बच्चा जन्मिएमा कसरी हेरचाह गर्ने ?

कोभिड पजिटिभ आमाबाट बच्चा जन्मियो भने बच्चालाई आमाकै कोठामा दुई मिटरको दूरीमा राख्नुपर्छ र आमाले माक्स लगाएर बस्नुपर्छ । बच्चालाई दूध खुवाउँदा वा छुँदा हात राम्ररी साबुनपानीले धुने गर्नुपर्छ वा स्यानिटाइजरको प्रयोग गर्नुपर्छ र बच्चा जन्मेको ४८ घन्टापछि बच्चाको पनि पिसिआर परीक्षण गर्नुपर्छ ।

बच्चालाई कोरोना भाइरसबाट कसरी बचाउने ?

सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार दुई वर्षभन्दामाथिका बच्चाहरूलाई माक्स लगाउन मिल्छ । त्यसैले बाहिर निस्कँदा अनिवार्य रूपमा बच्चालाई माक्स लगाउनुपर्छ । बच्चाहरूलाई पौष्टिक आहार खुवाउने र शारीरिक गतिविधिहरू गराउनुपर्दछ । मापदण्ड पुगेका बच्चाहरूलाई कोरानाविरुद्धको खोप अनिवार्य रूपमा लगाउने र अरू आवश्यक खोपहरूलाई पनि निरन्तरता दिने गर्नुपर्छ । घरपरिवारका सबै सदस्यले कोभिडको खोप पूरा मात्रामा लगाउनुपर्छ । अति आवश्यक कामबाहेक घरबाट बाहिर निस्कनु हँुदैन । भोजभतेर तथा जमघट गर्नुहुँदैन । सरकारबाट जारी भएका स्वास्थ्यसम्बन्धी निर्देशनहरू कडाइका साथ पालना गर्नुपर्छ ।