राप्रपाका पूर्वअध्यक्ष कमल थापाले ‘राष्ट्रिय एकता पार्टी नेपाल’ नाममा नयाँ पार्टी गठन गर्ने भएका छन् । थापाले १ फागुनमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा आवेदन दिने तय गरेका छन् ।
‘नयाँ पार्टी गठनका लागि फागुन १ गते निर्वाचन आयोगमा आवेदन दिने करिब–करिब तय भएको छ,’ थापाका निकट सहयोगी रहेका राप्रपा केन्द्रप्य सदस्य राजाराम बर्तौलाले भने । थापा नेतृत्वको पार्टीमा पूर्वकोषाध्यक्षद्वय चन्द्रबहादुर गुरुङ, उद्धव पौडेल, पूर्वप्रवक्ता सुशील श्रेष्ठसहितका नेता रहनेछन् ।
थापाले हिन्दू राष्ट्रको एजेन्डा बोकेर नयाँ पार्टी गठन गर्न राप्रपा परित्याग गरिसकेका छन् । स्थानीय चुनाव घोषणा भइसकेकोमा फास्ट ट्र्याकबाट पार्टी दर्ताका लागि थापा समूहले आग्रह गर्ने तयारी गरेको छ । थापाले यसबारेमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग पनि कुराकानी गरिसकेको निकटस्थहरूले जानकारी दिएका छन् ।
मंसिरमा सम्पन्न राप्रपा महाधिवेशनमा आफूलाई हराउन पार्टीभित्र हस्तक्षेप गरेको भन्दै थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको चर्काे आलोचना गर्दै आएका छन् । उनले महाधिवेशनमा निर्मलनिवासको हस्तक्षेप छानबिनका लागि दुईपटक राप्रपा अध्यक्ष लिङ्देनलाई चिठी पठाए पनि लिङ्देनले पार्टीमा निर्मलनिवासको नकारात्मक छवि निर्माण हुने गरी छलफल नहुने अडान राख्दै आएका छन् ।
राजसंस्थाको मुद्दामा सम्झौता हुँदैन : राप्रपा
राप्रपा केन्द्रीय पदाधिकारीको बैठकले राजसंस्था, हिन्दू राष्ट्रको पुनस्र्थापना, संघीयताको खारेजी र सुदृढ स्थानीय तहको सैद्धान्तिक अवधारणामा कसैसँग सम्झौता नगर्ने अडान दोहो¥याएको छ । निवर्तमान अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्रको हस्तक्षेपको छानबिन नभएको आरोपसहित पार्टी त्यागेपछि आयोजित पदाधिकारी बैठकले थापाले उठाएको एजेन्डाको पार्टीभित्र कुनै स्थान नहुने स्पष्ट पारेको हो ।
‘यस सम्बन्धमा भ्रममा नपर्न राप्रपा सबैमा अनुरोध गर्दछ,’ बैठकपछि पार्टी प्रवक्ता मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ । बैठकमा राप्रपाका निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी, पदाधिकारी र प्रदेश कार्यसमितिका अध्यक्ष सहभागी थिए ।
पार्टीले राजसंस्थाका विषयमा पार्टीभित्र उठ्ने प्रश्नलाई पार्टी हितविपरीत भन्दै निरुत्साहित गर्नेसमेत निर्णय गरेको छ । त्यसका लागि वरिष्ठ नेता नवराज सुवेदीको संयोजकत्वमा केन्द्रीय अनुशासन समिति गठन गरेको छ । समितिमा पार्टी प्रवक्ता भक्तिप्रसाद सिटौला र वरिष्ठ अधिवक्ता राजु बस्नेत सदस्य छन् ।
बैठकले सबै स्थानीय तहमा राप्रपाले उम्मेदवार खडा गर्ने पनि निर्णय गरेको छ । जिल्ला कार्यसमिति र स्थानीय तहअन्तर्गतका समितिको सिफारिसमा फागुन मसान्तभित्र उम्मेदवार छनोट गर्ने निर्णय भएको श्रेष्ठले जानकारी दिए । यसैगरी, देशव्यापी घरदैलो कार्यक्रम सञ्चालन गर्ने, फागुनभरि केन्द्रीय, प्रदेश र जिल्ला तहमा प्रशिक्षण सञ्चालन गर्ने पनि निर्णय गरेको छ । । ‘पार्टीको सम्पूर्ण शक्ति स्थानीय तहको निर्वाचनमा परिचालन गर्ने निर्णय गरेका छौँ,’ श्रेष्ठले भने ।