सामाजिक सञ्जालमार्फत ब्ल्याकमेल गरी स्कुले बालिकालाई बलात्कार गरेको अभियोगमा काभ्रेको पनौती नगरपालिका–१ का २१ वर्षीय सुजन श्रेष्ठ पुर्पक्षका लागि जेल चलान भएका छन् । महानगरीय प्रहरी वृत महाराजगन्जबाट खटिएको प्रहरी टोलीले उनलाई ३० पुसमा पक्राउ गरेको थियो ।
घटनाको अनुसन्धानपछि उनलाई वृतले १८ माघमा जिल्ला सरकारी वकिल कार्यालय पेस गरेको थियो । मुद्दामा बहसपछि जिल्ला अदालत काठमाडौंले उनलाई आइतबार पुर्पक्षका लागि जेल चलानको आदेश गरेको हो ।
प्रहरीका अनुसार उनले फेक फेसबुक एकाउन्ट सौगात महर्जनमार्फत बालिकासँग सम्पर्क बढाएका थिए । अनेक प्रलोभनपछि उनले बालिकाको नग्न भिडियो बनाएका थिए । सोही भिडियोमार्फत उनले बालिकालाई ‘भिडियो भाइरल बनाइदिने’ भन्दै निरन्तर धम्काउँदै आएका थिए ।
यही क्रममा उनले बालिकलाई २७ पुसको राति बुढानीलकण्ठस्थित निर्माणाधीन घरनजिकै बोलाएका थिए । एक्लै आएकी बालिकालाई निर्माणाधीन सोही घरमा बलात्कार गरेको अभियोग छ।