![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/village-gulmi2022-02-01-09-58-31.jpeg)
रुरु क्षेत्र गाउँपालिकामा मात्रै ५० प्रतिशतमा संक्रमण
गाउँ–गाउँमा कोभिड–१९ को संक्रमणको जोखिम बढ्दै गएको पाइएको छ । स्वास्थ्य कार्यालय गुल्मीले कोभिड–१९ को संक्रमण भएका पालिकाका गाउँहरूमा र्यानडम्ली एन्टिजिन परीक्षण थालेका छ । सोमबार रुरु क्षेत्र गाउँपालिकाका तीन ठाउँमा एक सय ३२ जनाको कोभिड–१९ परीक्षण गर्दा ६६ जनामा संक्रमण पुष्टि भएको छ ।
रुरुको टक्सार, बम्घा र थानपति गाउँमा भेटिएका सवैलाई एन्टिजिन परीक्षण गरिएको थियो । परीक्षण गरिएका ५० प्रतिशतमा संक्रमण पाइएको स्वास्थ्य कार्यालय गुल्मीका निमित्त प्रमुख पशुपति आचार्यले जानकारी दिए ।
उनका अनुसार संक्रमितमध्ये १५ प्रतिशत बालबालिका रहेका छन् । उनले छोटो समयमै गाउँ–गाउँमा संक्रमण भएकाले स्वास्थ्य सुरक्षा र रुरुको टोल शिक्षा रोक्न सुझाव भिदए । ‘तीन गाउँमा भेटिएका नागरिकलाई र्यानडम्ली एन्टिजिन परिक्षण गर्दा ५० प्रतिशतमा संक्रमण सामान्य कुरा होइन,’उनले भने,‘अझै केही समय सरकारी कार्यालय र विद्यालयले ख्याल गर्नुपर्छ ।’ उनले मंगलबार छत्रकोट त्यसपछि कालीगण्डकी र मालिकालगायतका पालिकाहरूका गाउँमा परीक्षण गरिने बताए ।
जिल्लामा अहिले पाँच सय ४३ सक्रिय संक्रमित रहेका छन् । जिल्लामा अहिलेसम्म एक लाख ३५ हजार छ सय ४६ ले पहिलो र एक लाख दुई हजार दुई सय ९० जनाले कोभिड–१९ विरुद्धको दोस्रो खोप लगाएका छन् ।
प्रशासनले आंशिक सेवा प्रवाह गर्ने
जिल्ला प्रशासन कार्यालय गुल्मीले माघ ११ गतेबाट बन्द गरेको सेवा प्रवाह आंशिक रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ । सार्वजनिक सूचना प्रकाशन गरेर माघ १९ गतेबाट राहदानी वितरण, दलित, आदिवासी जनजाति र पेन्सन प्रमाणितसम्बन्धी काम गर्ने जनाएको छ ।
माघ २३ गतेबाट स्थानीय तहको पालो बाँडेर नागरिकतासम्बन्धी सेवा सुचारु गर्ने प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए । आइतबार र सोमबार रुरु क्षेत्र गाउँपालिका, सत्यवति गाउँपालिका, कालीगण्डकी गाउँपालिका र चन्द्रकोट पाउँपालिकाका नागरिकले नागरिकतासम्बन्धी सेवा पाउनेछन् ।
त्यस्तै, मंगलबार र बुधबार मुसिकोट नगरपालिका, मालिका गाउँपालिका, मदाने र इस्मा गाउँपालिकाका नागरिकको पालो निर्धारण भएको छ । भने बिहीबार र शुक्रबार रेसुंगा नगरपालिका, गुल्मी दरबार गाउँपालिका, छत्रकोट र धुर्कोट गाउँपालिकाका नागरिकलाई नागरिकतासम्बन्धी सेवा प्रवाह हुने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । सरकारी कार्यलयमा आउँदा सेवाग्राहीले खोप लगाएको कार्ड अनिवार्य देखाउनुपर्नेछ ।