दैलेखमा कोरोना संक्रमण बढ्दै जान थालेपछि सरकारी कार्यालयका सेवा प्रवाह प्रभावित भएका छन् । जिल्ला प्रशासन कार्यालय दैलेखले सोमबारदेखि सेवा बन्द गरेको छ ।
कार्यालयका ४ जना कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय दैलेखले नियमित सेवा बन्द गरेको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए । दैनिक नागरिकतालगायतका विभिन्न सेवा लिन आउने सेवाग्राहीहरूको चाप बढेसँगै सेवाग्राहीहरूको स्वास्थ्य सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै १७ माघदेखि २१ माघसम्म सेवा बन्द गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय दैलेखले मुद्दा, विपद् व्यवस्थापन र शान्ति सुरक्षाका सेवा प्रवाह भने नियमित रूपमा सञ्चालन हुने बताएको छ ।
अधिकांश कर्मचारीहरूलाई कोरोना संक्रमण देखिएपछि दैलेखस्थित राष्ट्रिय वाणिज्य बैंकले गत शुक्रबारदेखि सेवा बन्द गरेको छ । आउँदो शुक्रबारसम्मका लागि सेवा बन्द गरिएको र सबै कर्मचारीहरूलाई होम आइसोलेसनमा बस्न भनिएको दैलेख शाखा प्रमुख चेतन बिसीले जानकारी दिए ।
जिल्लामा निकै भिडभाड हुने नारायण नगरपालिकाले पनि संक्रमण दर बढ्न थालेपछि जनप्रतिनिधि र काममा खटिएका सबै कर्मचारीहरूको ऐन्टिजेन विधिबाट कोरोना परीक्षण गर्ने तयारी गरेको छ ।
लामो समय कोरोनाका सक्रिय संक्रमितको संख्या शून्य रहेको दैलेखमा पछिल्लो समय संक्रमणको दर बढ्न थालेको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखमा बिरामी भएर आएका व्यक्तिहरूलाई जाँच गर्दा ९० जनामा संक्रमण पुष्टि भइसकेको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थिरप्रसाद रेग्मीले बताए ।
प्रहरीको अभियान
जिल्ला प्रहरी कार्यालय दैलेखले मातहतमा रहेका प्रहरीलाई परिचालन गरेर जिल्लाभर अनिवार्य मास्क अभियान थालेको छ । दैलेखका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाह आफँै अभियानमा हिँडेका छन् ।
दैलेख सदरमुकाम दैलेख बजारमा मानिसहरूको चहलपहल बढेसँगै मास्क नलगाई आएकाहरूलाई मास्क दिँदै सुरक्षा सतर्कताबारे जानकारी दिइएको छ ।