१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
मञ्जु टेलर काठमाडाैं
२o८१ जेठ १ मंगलबार o६:२o:oo
Read Time : > 1 मिनेट
ad
ad
पालिका अपडेट प्रिन्ट संस्करण

ओरालो लाग्यो कोभिड संक्रमण

जीवाणुविज्ञ डा. सन्तोष दुलाल भन्छन्, ‘संक्रमण उच्च बिन्दुमा पुगेर बिस्तारै ओरालो लागेको छ । भारतमा पनि अहिले संक्रमणदर यही ट्रेन्डमा छ । तर, संक्रमण शान्त हुन अझै दुईदेखि तीन साता लाग्न सक्छ ।’

Read Time : > 1 मिनेट
मञ्जु टेलर, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o६:२o:oo

एक सातादेखि कोभिड संक्रमण निरन्तर ओरालो लागेको छ । गत सोमबारदेखि नमुना परीक्षणको आधारमा संक्रमणदर घट्दै गएको हो । ८ माघमा ५० प्रतिशतभन्दा माथि पुगेको संक्रमणदर बिस्तारै ओरालो लाग्दै गएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार आइतबार परीक्षण गरिएका नमुनाका आधारमा २६.९ प्रतिशतमा मात्रै संक्रमण देखिएको छ । गत सोमबार ४८.७ प्रतिशत, मंगलबार ४६.३ प्रतिशत, बुधबार ४१.५ प्रतिशत, बिहीबार ३६.८ प्रतिशत, शुक्रबार ३४.४ प्रतिशत र शनिबार ३३.७ प्रतिशतमा संक्रमण देखिएको थियो । 

संख्यात्मक रूपमा सबैभन्दा धेरै ६ माघमा एकैदिन १२ हजार तीन सय ३८ जनामा संक्रमण देखिएको थियो । सो दिन २७ हजार चार सय ९७ जनाको परीक्षण भएको थियो । संक्रमित र कोरोना परीक्षणको यो संख्या नेपालमा कोरोना संक्रमण पुष्टि भएयताकै सबैभन्दा उच्च हो । २० पुससम्म दुई सयको हाराहारीमा रहेको दैनिक संक्रमण २१ पुसबाट दैनिक दोब्बरको संख्याले बढ्दै गएको थियो । 

आइतबार १३ हजार एक सय ४५ जनामा परीक्षण गर्दा तीन हजार पाँच सय ४० जनामा संक्रमण देखिएको हो । हाल देशभर ८३ हजार नौ सय ९९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू हुनु, विद्यालय बन्द गरिनु र सार्वजनिक स्थानमा भिडभाड घटाइएका कारण संक्रमण घटेको चिकित्सकहरूले बताएका छन् । 

संक्रमण शान्त हुन अझै दुईदेखि तीन साता लाग्न सक्छ : चिकित्सक 
संक्रमण भए पनि गम्भीर स्वास्थ्य समस्या नदेखिएका कारण परीक्षण नगरी घरमै बस्नेको संख्या धेरै रहेकाले संक्रमणदर कम देखिएको चिकित्सकहरूको भनाइ छ । ७० देखि ७५ प्रतिशतमा संक्रमण भइसकेका कारणसमेत बिस्तारै संक्रमण घट्दै जाने जीवाणुविज्ञ डा. सन्तोष दुलाल बताउँछन् । ‘संक्रमण उच्च बिन्दुमा पुगेर बिस्तारै ओरालो लागेको हो । भारतमा पनि अहिले संक्रमणदर यही ट्रेन्डमा छ । तर, संक्रमण शान्त हुन अझै दुई देखि तीन सातासम्म लाग्न सक्छ,’ उनले भने ।

अन्यन्त्र पनि घट्न थाल्यो कोभिड संक्रमण 
विश्वभरि नै कोरोना संक्रमणदर घट्न थालेको छ । हाल उच्च संक्रमण देखिइरहेको भारतमा पनि केही दिनयता दैनिक संक्रमितको संख्यामा कमी आएको छ । भारतमा गत साताको औसत संक्रमणदर तीन लाखभन्दा बढी रहेकोमा २२ जनवरीदेखि घट्न थालेको हो । यो साता भारतमा औसत संक्रमणदर साढे दुई लाखको हाराहारीमा छ । भारतको स्वास्थ्य मन्त्रालयको विवरणअनुसार हाल १८ लाख ८४ हजार नौ सय ३७ सक्रिय संक्रमित छन् । योसँगै भारतमा ७५ प्रतिशत वयस्कले कोभिडविरुद्धको खोप लगाइसकेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

ओमिक्रोनबाट अतिप्रभावित भइरहेको अमेरिकामा पनि संक्रमण घट्दै गइरहेको छ । जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार पछिल्लो साता औसत संक्रमण सात लाखभन्दा माथि पुगेको थियो । शनिबार दुई लाख ४९ हजार आठ सय ६४ जनामा मात्र संक्रमण देखिएको हो । अमेरिकामा कुल जनसंख्याको ७५ प्रतिशतले कोभिडविरुद्धको खोप लगाइसकेका छन् । 

युरोपका केही देशमा पनि संक्रमण घट्न थालेको छ । बेलायतमा तीन सातायता दैनिक संक्रमण निरन्तर कम हुँदै गएको छ । बेलायतमा यो साताको औसत संक्रमणदर ८८ हजार रहेको छ । शनिबार ७२ हजार एक सय ४३ जनामा संक्रमण देखिएको थियो । यद्यपि, ओमिक्रोन भेरियन्टबाट बढी प्रभावित भइरहेका फ्रान्स, जर्मनी, इटालीजस्ता देशहरूमा भने संक्रमण अझै बढ्दो क्रममा छ । 

अफ्रिकामा पनि कोरोना संक्रमण ओरालो लागेको छ । ओमिक्रोन भेरियन्ट पहिलोपटक पुष्टि भएको दक्षिण अफ्रिकामा संक्रमण जनवरीको सुरुवातदेखि नै घट्दै गएको छ । हाल दक्षिण अफ्रिकामा दैनिक संक्रमण तीन हजारको हाराहारीमा सीमित भएको छ । शनिबार तीन हजार तीन सय ४२ जनामा संक्रमण देखिएको छ । 

 

ad
ad