नेपालले दक्षिण अफ्रिकी देश मोरिससविरुद्ध आज पहिलोपटक खेल्दै
नेपाली राष्ट्रिय फुटबल टोलीले आधिकारिक रूपमा दक्षिण अफ्रिकी देश मोरिससविरुद्ध शनिबार दशरथ रंगशालामा मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेल्दै छ । चार महिनापछि अन्तर्राष्ट्रिय फुटबल खेलमा सहभागी हुन लागेको नेपाली टोली मोरिससविरुद्ध प्रतिस्पर्धा तयारी अवस्थामा छ । नेपालले मैत्रीपूर्ण खेलका लागि सबै तयारी पूरा गरेको छ । खेलअघि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपालका कप्तान किरण चेम्जोङले मोरिससविरुद्धको खेल फरक अनुभव हुने बताएका छन् ।
‘हामी पहिलोपटक अफ्रिकी देशविरुद्ध खेल्दै छौँ, सबै खेलाडीका लागि यो निकै फरक अनुभव हुनेछ,’ कप्तान किरणले भने, ‘मैत्रीपूर्ण खेल हो, यस अर्थमा यस्तै किसिमको खेल हुनुपर्छ भन्ने छैन, नेपाल मैदानमा सधैँ जितकै खेल्छ र सोही लक्ष्य पूरा गर्ने हुनेछ ।’ पत्रकार सम्मेलनमा नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी उपस्थित भएनन् । स्वास्थ्य समस्याका कारण उपस्थित हुन नसकेको टोलीका सहायक प्रशिक्षक किरण श्रेष्ठले जानकारी दिए । ‘मुख्य प्रशिक्षक अलमुताइरी स्वास्थ्यका कारण आउन नसक्नु भएको हो, यसबाहेक अन्य कुनै कारण छैन,’ श्रेष्ठले भने ।
मोरिससविरुद्ध दुई टोली
अलमुताइरीले पहिलोपटक क्लोज क्याम्पमा रहेका ३४ जना खेलाडीलाई नै समावेश गरी दुई फरक राष्ट्रिय टोलीको घोषणा गरेका छन् । जसमा नौ खेलाडीले मौका पाएका छन् । कप्तान चेम्जोङले प्रशिक्षकको योजनाबारेमा आफूलाई केही जानकारी नभएको बताएका छन् । ‘उहाँले घोषणा गर्नुभएको दुई टोली र योजनाबारेमा केही जानकारी छैन,’ चेम्जोङ भन्छन्, ‘मेरो काम केवल मैदानमा खेल्ने मात्र हो, सम्भवतः लिगको प्रदर्शनको आधारमा छनोट परेका खेलाडीको हौसला बढाउन यस किसिमको छनोट गरिएको हुनुपर्छ ।’ नेपालका कप्तान चेम्जोङले हार्नका लागि नखेल्ने बताएका छन् । ‘हार्नका लागि त कोही पनि खेल्दैन, हामी जित्नकै लागि खेल्ने हो,’ हामी मानसिक र शारीरिक रूपमा तयार छौँ र हारमा खेलाडीले पनि जिम्मेवारी लिनुपर्छ ।’
चेम्जोङले मैत्रीपूर्ण खेल भए पनि आफूले यो खेललाई हलुका ढंगले नलिने बताएका छन् । ‘इतिहासमै पहिलोपटक अफ्रिकी देशविरुद्ध खेल्न लागेको छौँ,’ उनले भने, ‘दुई दिनको प्रशिक्षण हेर्दा सबै खेलाडी फिट देखेको छु ।’ अखिल नेपाल फुटबल संघ (एन्फा)ले रंगशालाको सिट क्षमताको एकतिहाइ दर्शकलाई राखेर खेल सञ्चालन गर्ने जनाएको छ । रंगशालाको दर्शक क्षमता १६ हजार ५ सय रहेको छ । शनिबारको खेलमा पाँच हजार दर्शकले मैत्रीपूर्ण खेल रंगशाला पुगेर हेर्ने पाउनेछन् ।
अफ्रिकी कपको तयारी
मोरिससका प्रशिक्षक टोनी फ्रान्कोइसले दुई बर्षको अन्तरालमा राष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय फुटबल खेल्न लागेको बताए । ‘लामो समयपछि हामी मैदानमा फर्कंदै छौँ,’ प्रशिक्षक टोनीले भने, ‘सबै खेलाडी प्रतिस्पर्धाका लागि फिट नै छन् ।’ मोरिससका प्रशिक्षक टोनीले नेपाली टोली बलियो भएको जनाएका छन् । ‘हामी पहिलोपटक नेपाल आएका छौँ, थाहा पाएअनुसार नेपाल निकै बलियो छ ।’
मोरिससको मुख्य लक्ष्य नै अफ्रिकी कप अफ नेसन्सको छनोट हुनु नै हो । नेपालविरुद्धको मैत्रीपूर्ण खेललाई मोरिससले अभ्यासका रूपमा लिएको प्रशिक्षक टोनीले बताए । ‘हामीले डिसेम्बरबाट प्रशिक्षण सुरु गरेका हौँ, ४५ दिन मात्र अभ्यास गरेका छौँ,’ उनले भने, ‘नेपाल धेरै राम्रो टोली हो, नेपालविरुद्ध राम्रो प्रतिस्पर्धा गर्नेछौँ ।’ उनले नेपालको खेल माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा हेरेको बताए । ‘हामीले नेपालको खेल माल्दिभ्समा भएको खेल पनि हेरेका छौँ, नेपालको शारीरिक बनावट र खेल्ने शैली मेल खाएको छ,’ उनले भने । प्रशिक्षक टोनीले नेपालविरुद्ध दुवै खेल नयाँ खेलाडीले अनुभव बटुल्ने अवसर पाउने जनाए ।
‘हामी दुई खेल खेल्छौँ, टोलीमा केही युवा खेलाडीलाई पनि समावेश गरेका छौँ, जसमा पहिलोपटक छनोटमा खेलाडी पनि छन्,’ टोनीले भने, ‘उनीहरूलाई नेपालविरुद्ध खेल राम्रो अनुभव हुनेछ, हाम्रो मुख्य लक्ष्य मार्चमा हुने अफ्रिकी कप अफ नेसन्सको तयारी गर्नु हो ।’