मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ १३ बिहीबार १९:३९:००
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

भारत र मध्य एसियाली मुलुकबीच पहिलो शिखर सम्मेलन, दीर्घकालीन सहकार्यमा जोड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ १३ बिहीबार १९:३९:००

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार भारत र मध्य एसियाली देशहरूको शिखर सम्मेलन आयोजना गरेका छन् । भर्चुअल सम्मेलनलाई सम्बोधन गर्दै मोदीले मध्य एसियाली मुलुकसँग भारतको ३० वर्ष फलदायी सम्बन्ध रहेको चर्चा गर्दै आगामी वर्षहरूका लागि महत्वाकांक्षी दृष्टि राखेर सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् । 

सोभियत संघको पतनसँगै अलग भएका केही मुलुकहरूसँग मोदीले पहिलो शिखर सम्मेलन आयोजना गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ । सम्मेलनमा उज्वेकिस्तान काजाकिस्तान, किर्गिज गणतन्त्र, ताजिकिस्तान, तुर्कमेनिस्तानसहितका राष्ट्रपति सहभागी थिए । 

मोदीले भने, ‘हाम्रो सहकार्यले विगत तीन दशकहरूमा धेरै सफलता हासिल भएको छ । आगामी वर्षहरूका लागि पनि हामी महत्वाकांक्षी दृष्टिकोण राखेर सहकार्य गरौँ ।’ मोदीले शिखर सम्मेलनका लागि तीनवटा लक्ष्यहरू परिभाषित गर्नुपर्ने बताए । पहिलो लक्ष्यका बारेमा प्रस्ट पार्दै मादीले क्षेत्रीय सुरक्षा र समृद्धिका लागि भारत र मध्य एसियाबीच आपसी सहकार्य आवश्यक रहेको बताए । मोदीले भने, ‘म यो स्पष्ट गर्न चाहन्छु कि एकीकृत र स्थिर विस्तारित छिमेकीका रूपमा भारत मध्य एसियामा केन्द्रित छ ।’ 

दोस्रो लक्ष्यको रूपरेखा प्रस्तुत गर्दै मोदीले भने, ‘आजको सम्मेलनले हाम्रो सहकार्यलाई प्रभावकारी संरचना दिनेछ र यसले  सबै सरोकारवालाहरूबीच नियमित अन्तरक्रियाको लागि मञ्च स्थापना गर्न मार्ग प्रशस्त गर्नेछ।’

तेस्रो लक्ष्यका लागि मोदीले भारत र मध्य एसियाली देशहरूबीच सहकार्यका लागि महत्वाकांक्षी रोडम्याप तयार गर्न सम्मेलन महत्वपूर्ण रहेको बताए । यी राष्ट्रहरूबीच क्षेत्रीय कनेक्टिभिटी तथा सहकार्यका लागि एकीकृत दृष्टिकोण बनाउनुपर्नेमा पनि उनको जोड थियो । शिखर सम्मेलनमा सबै सहभागी शीर्ष नेताले व्यापक र स्थायी रूपमा भारत–मध्य एसिया साझेदारीलाई अघि बढाउनुपर्नेमा जोड दिएका थिए । मोदीले २०१५ मा मध्य एसियाका सबै देशको भ्रमण गरेका थिए। त्यसपछि द्विपक्षीय र बहुपक्षीय मञ्चहरूमा उच्चस्तरमा आदानप्रदान भएका छन् भने शिखर सम्मेलन भएको यो पहिलोपटक हो ।