मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ माघ १३ बिहीबार ०६:२५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

राष्ट्रिय सभा : ३१ बाट १७ सिटमा खुम्चियो एमाले

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ माघ १३ बिहीबार ०६:२५:००

१५ सदस्यसहित माओवादी दोस्रो र १० सदस्यसहित कांग्रेस तेस्रो शक्ति

भदौयता एमालेले राष्ट्रिय सभामा १४ सिट गुमाएको छ । लगातार सदस्य गुमाए पनि एमाले राष्ट्रिय सभामा १७ सदस्यसहित अझै पहिलो शक्तिमा कायमै रहनेछ । गत ८ भदौसम्म राष्ट्रिय सभामा एमालेका ३१ सांसद थिए । तर, ९ भदौमा एमाले विभाजन हुँदा सात सांसद माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा समाहित भए । 

अहिले राष्ट्रिय सभामा अध्यक्षसहित एमालेका २४ जना सांसद छन् । तर, आगामी २० फागुनबाट एमालेका सात सांसद घट्नेछन् । बुधबार १९ सिटका लागि भएको निर्वाचनमा एमालेले सात सिट गुमाएको छ । निर्वाचनमा एमालेले एक सिट मात्र जितेको छ, जब कि उसका आठ सांसद चारवर्षे कार्यकाल सकिएर २० फागुनबाट बिदा हुँदै छन् । ०७४ मा भएको निर्वाचनपछि राष्ट्रिय सभामा एमालेका सांसद २७ थिए । ५९ सदस्यीय राष्ट्रिय सभामा त्यसवेला एमाले सबैभन्दा ठूलो शक्ति बनेको थियो । 

३ जेठ ०७५ मा १२ सिट भएको माओवादी र २७ सिट भएको एमालेबीच एकता भएपछि राष्ट्रिय सभामा नेकपाका ३९ सांसद बनेका थिए । ०७६ मा दुईवर्षे कार्यकाल सकिएर १९ जना सांसद बिदा भए । 

दुईवर्षे कार्यकाल सकिनेमध्ये एकजना मनोनीत थिए, बाँकी १८ सिटका लागि ०७६ माघमा निर्वाचन हुँदा नेकपालाई फाइदा र कांग्रेसलाई धक्का भयो । निर्वाचनमा नेकपाले १६ सिट जित्यो । अर्कातिर, एमालेका आठ सांसद दुईवर्षे कार्यकाल पूरा गरी बिदा भए । त्यसपछि पनि राष्ट्रिय सभामा नेकपाका ४७ सांसद थिए । 

२३ फागुन ०७७ मा सर्वोच्च अदालतको आदेशले एमाले र माओवादीबीचको एकता भंग भयो । एमाले र माओवादी पार्टी एकतापूर्वकै अवस्थामा फर्किए । त्यसवेला राष्ट्रिय सभामा अध्यक्षसहित एमालेका ३१ र उपाध्यक्षसहित माओवादीका १६ सांसद थिए । 

२० फागुनपछि राष्ट्रिय सभामा १५ सांसदसहित माओवादी दोस्रो शक्ति हुनेछ । यसबाहेक १० सांसदसहित कांग्रेस तेस्रो र आठ सांसदसहित एकीकृत समाजवादी राष्ट्रिय सभाको चौथो शक्ति रहनेछ । यसबाहेक राष्ट्रिय सभामा जसपाका तीन, लोसपाका एक, राष्ट्रिय जनमोर्चाका एक, स्वतन्त्र एक र मनोनीत तीनजना रहनेछन् ।

मनोनीतमध्ये एक रामनारायण बिडारीको कार्यकाल २० फागुनबाट सकिँदै छ । उनी माओवादीनिकट छन् । उनको ठाउँमा कसलाई पठाउने भन्नेबारे गठबन्धनले केही बताएको छैन ।