सशस्त्र प्रहरी बलले सातै प्रदेशमा अस्पताल र विद्यालय विस्तार गर्ने भएको छ । आफ्ना कर्मचारीलाई लक्षित गरी सबै प्रदेशमा अस्पताल र विद्यालय विस्तार प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
सातमध्ये चार प्रदेशमा सशस्त्रले अस्पताल विस्तार गरिसकेको छ । प्रदेश १ मा पूर्वक्षेत्रीय अस्पताल, मधेस प्रदेशमा छिन्नमस्ता फिल्ड अस्पताल, बागमती प्रदेशमा ट्रमा सेन्टर कुरिनटार र लुम्बिनी प्रदेशमा मध्य–पश्चिम क्षेत्रीय अस्पताल कोहलपुरमा विस्तार गरेको हो । यो वर्ष गण्डकी प्रदेशमा आगामी वर्ष कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक–एकवटा फिल्ड अस्पताल विस्तार गरिने सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले जानकारी दिएका छन् ।
सशस्त्र प्रहरी बलको २१औँ स्थापना दिवसको अवसरमा कर्मचारीका लागि थप कल्याणकारी कार्यक्रम पनि घोषणा गरिएको छ, जसअनुसार सातै प्रदेशमा विद्यालय स्थापना गर्ने भएको छ । यो वर्ष सुदूरपश्चिम प्रदेशमा विद्यालय स्थापना गर्न लागिएको छ, जसका लागि जग्गाको खोजी भइरहेको सशस्त्र प्रहरी बलले जनाएको छ । मधेस प्रदेशमा सशस्त्र प्रहरीले विद्यालय स्थापना गरिसकेको छ ।
चारपांग्रे सवारीसाधन खरिद गर्दा सशस्त्र प्रहरी निरीक्षकदेखि सशस्त्र प्रहरी उपरीक्षकका लागि कायम रहेको सेवा अवधिको सीमा हटाई सशस्त्र प्रहरी निरीक्षकदेखि माथिका सबै दर्जाका अधिकृतहरूलाई समान रूपमा सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराइने निर्णय पनि सशस्त्र प्रहरीले गरेको छ । कर्तव्यपालनाको सिलसिलामा वीरगति प्राप्त गर्ने अमर सहिदका श्रीमतीमध्येबाट संगठनले निर्धारण गरेको मापदण्डभित्र पर्ने अमर सहिदका श्रीमती (एकल महिला) एकजनालाई वार्षिक रूपमा सशस्त्र प्रहरी दिवसको अवसरमा ‘सहिद समर्पण सम्मान’ स्वरूप २५ हजार नगद रुपैयाँ र सम्मान–पत्र प्रदान गर्ने भएको छ ।
सशस्त्रको क्षमता अभिवृद्धि गरिनेछ : प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले विपद् व्यवस्थापन र सीमा सुरक्षामा सशस्त्र प्रहरीको कामको प्रशंसा गर्दै सशस्त्र प्रहरीको क्षमता अभिवृद्धि गर्ने सोचमा सरकार रहेको बताएका छन् । २१औँ सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राकृतिक प्रकोप, विपद्का घटना, कोभिड महामारीको नियन्त्रण, सम्पूर्ण प्रतिकार्य र संकटमा नागरिकको सुरक्षा र देशको सुरक्षाको सम्बन्धमा सशस्त्र प्रहरी बलको भूमिका प्रशंसनीय भएको बताए ।
राज्यको आवश्यकताअनुसार जटिल अवस्थामा पनि कार्य गर्न सक्ने अवस्थाको परिकल्पनाअनुसार सशस्त्र प्रहरी संगठन स्थापना भएको कुरा देउवाले स्मरण गरे । देउवाकै कार्यकालमा सशस्त्र प्रहरी बल स्थापना भएको थियो । कार्यक्रममा उनले छिन्नमस्ता बाहिनीका बाहिनीपति डिआइजी गणेश ठाडामगरलाई उत्कृष्ट बाहिनी पुरस्कार प्रदान गरेका थिए ।
स्थापना दिवसको अवसरमा उत्कृष्ट प्रहरी अधिकारीलाई पुरस्कृत गरिएको थियो । सशस्त्र प्रहरीको लाइफ टाइम अचिभमेन्ट अवार्ड सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका एसपी धनबहादुर बस्नेतलाई दिइएको छ । उनका परिवारलाई गृहमन्त्री बालकृष्ण खाँणले सो पुरस्कार प्रदान गरे । त्यस्तै, डिएसपी सुमनजंग थापा, सुमन बोगटी, इन्स्पेक्टरहरू शैलेन्द्र थापा, सुवर्ण पोखरेल, गान्धरकुमार चौलागाईंलाई उत्कृष्ट कर्मचारीको रूपमा पुरस्कृत गरिएको छ ।