मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
तस्बिर : कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगरस्थित भृकुटी माविमा खोप लगाउँदै
मोहन विष्ट कञ्चनपुर
२०७८ माघ ७ शुक्रबार १३:०७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

व्यवस्थित छैनन् कञ्चनपुरमा खोप केन्द्र

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७८ माघ ७ शुक्रबार १३:०७:००

कञ्चनपुरमा कोरोना भाइरसविरुद्धको खोप दिइने केन्द्रहरू अव्यवस्थित देखिएका छन्। अधिकांश खोप केन्द्रहरूमा भिडभाड व्यवस्थापन गरिएको छैन। उच्च भिडभाडका कारण खोप लगाउने स्थानहरूमा ठेलमठेल छ। कम्तीमा दुई मिटर भौतिक दूरी कायम गर्नुपर्ने मापदण्ड भए पनि त्यसको पालना भएको छैन।

खोप लगाउन गएका मानिसहरू भिडका कारण आफैँ संक्रमित हुने जोखिम बढेर गएको छ। घन्टौँ लाइन लागेपछि मात्रै खोप लगाउन पाइन्छ। फ्रन्टलाइनरलाई कोभिडविरुद्धको खोप अन्य नियमित खोप लगाउने कार्य एकैपटक सञ्चालन गरेकाले भिडभाड बढेको हो।

भीमदत्त नगरपालिका–४ महेन्द्रनगरको भृकुटी मावि खोप केन्द्रमा घन्टौँ लाइन लागेर खोप लगाएको स्थानीयले बताए। करिब डेढ  घन्टा लाइन लागेपछि मात्रै खोप लगाउन पाएको स्थानीय पदम सुनारले बताए। ‘यसरी घन्टौँ लाइन लागेर खोप लगाउन पर्दा बुढापाकालाई चिसोको समयमा निकै समस्या छ,’ उनले भने। महेन्द्रनगरकी अर्की स्थानीय पूजा भट्टले खोप केन्द्रमा भिडभाडको उचित व्यवस्थापन नभएकाले झन् समस्या भएको बताइन् । ‘खोप केन्द्रमा महिला, पुरुष, अपांगता भएका व्याक्तिका लागि छुट्टै लाइन व्यवस्थापन गर्नुपर्छ’, उनले भनिन्, ‘यस्तो व्यवस्थापन कुनै निकायबाट गरिएको छैन।’ संक्रमण रोक्नका लागि खोप लगाउन जाँदा उल्टै संक्रमित हुने खतरा रहेको उनले बताइन्।

भीमदत्त नगरपालिका स्वास्थ्य शाखाका उपप्रमुख भीम महराले भिड व्यवस्थापन स्थानीय प्रहरीबाट गरिनुपर्ने भए पनि त्यस्तो नभएको बताए। ‘हामी स्वास्थ्यकर्मी खोप लिएर केन्द्र केन्द्रमा जाने गरेका छौँ,’ उनले भने, ‘प्रहरीले भिड व्यवस्थापनमा सहयोग गर्नुपर्ने हो, तर यहाँ देखिएन।’

स्वास्थ्य कार्यालय कञ्चनपुरका खोप प्रमुख जनक कुँवरका अनुसार ३५ हजार खोप स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसहितका फ्रन्ट लाइनमा काम गर्ने स्वास्थ्यकर्मीलाई लगाइनेछ। ‘फ्रन्ट लाइनमा काम गर्ने सबै पक्षसहित एकपटक पनि खोप नपाएका नागरिकलाई समेत लगाउने काम अघि बढेको छ’, उनले भने, ‘खोप केन्द्रमा भिड व्यवस्थापनका लागि सबै पक्ष जिम्मेवार हुनुपर्छ।’ कञ्चनपुरमा हालसम्म दुई लाख ४० हजार ८६२ जनाले पूर्ण खोप लगाइसकेका स्वास्थ्य कार्यालयले जनाएको छ।